काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य चुनावको निर्वाचन प्रक्रिया सुरु भएको छ । आउँदो माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा १२ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दर्ता भएका दललाई २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा प्राप्त मत परिणामअनुसार आइतबार चुनाव चिहृन प्रदान गरेको छ । राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी दर्ता भएका छन् । उनीहरूले गएको चुनावमा प्राप्त मत परिणामअनुसार क्रमशः चुनाव चिहृन प्राप्त गरेका हुन् ।
चुनावी प्रक्रिया सुरु भएसँगै राजनीतिक दलहरूमा आकांक्षीहरूको दौडधुप तीव्र बन्न थालेको छ । सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेसमा आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आकांक्षीहरूको दौडधुप अन्य दलमा भन्दा तीव्र बनेको छ । आकांक्षीहरू दिनरात नभनी पार्टी सभापति, शीर्ष नेता र प्रभावशाली नेताहरूको घरदैलो चहार्न थालेका छन् ।
फागुन २० गतेबाट राष्ट्रियसभामा २० सिट खाली हुँदै छ । यीमध्ये १९ सिटका लागि झण्डै डेढ महिनाअघि नै निर्वाचन हुनेछ । एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभामा खाली हुन लागेका मध्ये झण्डै आधा नेकपा एमालेबाट निर्वाचित सदस्य छन् । एमालेका आठ सदस्यको कार्यकाल सकिँदा कांग्रेसका चार, माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जनता समाजवादीका एक र स्वतन्त्र एकजना छन् । राष्ट्रियसभाको निर्वाचनमा पनि गठबन्धन गर्ने सहमति सत्ता गठबन्धनमा भइसकेको छ । तर, सिट बाँडफाँटमा भने सहमति जुटिसकेको छैन । सत्ता गठबन्धनमा यसअघिका आ–आफ्नो सिट लिने समझदारी भए पनि एमालेका सिटमा बेग्लाबेग्लै दाबी छन् ।
सबैभन्दा ठूलो दल भएकाले गठबन्धनबाट बढी सिट कांग्रेसले पाउने निश्चित छ । त्यसैले राष्ट्रियसभाको निर्वाचनलाई लिएर कांग्रेसमा छलफल अगाडि बढिसकेको छ । आसन्न चुनावमा पनि सत्ता गठबन्धनबाट साझा उम्मेदवार मैदानमा उतार्ने सहमति भइसकेकाले उम्मेदवार बन्नेबित्तिकै सदस्य चुनिने निश्चित छ । त्यसकारण सत्तारूढ गठबन्धनका दलहरू र त्यसमा पनि प्रमुख दल नेपाली कांग्रेसभित्र आकांक्षीहरूको ताँती लागेको हो । कांग्रेसमा संस्थापनइतर समूहले राष्ट्रियसभामा उम्मेदवार बनाउँदा मापदण्ड बनाउनुपर्ने र नेताले मनलाग्दी छान्न नहुने अडान राखिरहेको छ । तर, संस्थापन पक्ष भने बोलेको छैन । राष्ट्रियसभा सदस्यको लागि वर्तमान र पूर्व-पदाधिकारीले नै आकांक्षा राखेका छन् । उनीहरूले तीव्र लविङ गरिरहेका छन् । पूर्व-पदाधिकारीहरूमध्ये पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्ण सिटौलाको चर्चा बढी छ । राष्ट्रियसभा सदस्य निर्वाचित भएर राष्ट्रियसभा अध्यक्ष बन्ने दुवैको रणनीति छ । त्यही रणनीतिअनुसार दुवै नेताले पार्टीभित्र तीव्र कसरत गरिरहेका छन् ।
पार्टीभित्र र सत्ता गठबन्धनको माहोल हेर्दा श्रेष्ठभन्दा सिटौलाको बढी सम्भावना छ । दुवैपटक शेरबहादुर देउवालाई सभापति बनाउन महत्वपूर्ण सहयोग गर्नुभएका सिटौलाप्रति गठबन्धनका अन्य नेताहरू पनि सकारात्मक छन् । तर, सिटौलालाई रोक्न कांग्रेसभित्र गुटबन्दी सुरु भइसकेको छ । संस्थापनइतर समूहले गएको निर्वाचनमा देउवालाई सहयोग गरेका र त्यसको बदलामा अवसर लिन खोजिरहेकाहरूलाई रोक्न जोड गरिरहेको छ । उक्त समूहको मुख्य निशानामा नेता सिटौला छन् । संस्थापन पक्षकै उपगुटहरूले पनि सिटौलालाई रोक्न हरसम्भव प्रयत्न गरिरहेका छन् । राष्ट्रियसभा अध्यक्षका आकांक्षी श्रेष्ठको समूह, संस्थापन पक्षकै अन्य प्रभावशाली नेताहरू र महामन्त्री गगन थापासमेत सिटौलालाई जसरी पनि रोक्ने भन्दै लागिपरेका छन् । राष्ट्रियसभा व्यक्ति छानीछानी ल्याउने ठाउँ नभएको उनीहरूको तर्क छ । तर, सिटौलानिकट केन्द्रीय सदस्य शिव हुमागाईं भने पार्टीमा सिटौलालाई राष्ट्रियसभामा लैजाने बारेमा छलफल भइनसकेको तर चाहेमा भने लैजानुपर्ने तर्क गर्नुहुन्छ । पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले कसलाई उम्मेदवार बनाउने भन्ने गठबन्धनमा सिट बाँडफाँटको सहमतिपछि मात्र निर्णय हुने बताउनुभयो । उम्मेदवारको मापदण्डको विषयमा आसन्न केन्द्रीय समिति बैठकमा छलफल हुने उहाँको भनाइ छ । कांग्रेसले पुस दोस्रो साता केन्द्रीय समिति बैठक आहृवान गरेको छ ।
सभापति देउवाको गुनासो- ‘पार्टीमा अन्तर्घात गर्नेलाई कारबाही गरौँ भन्यो पाइँदैन’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सुधार गरेर अगाडि लैजानुपर्ने बताउनुभएको छ । पार्टीभित्र एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति पहिलेदेखि नै रहेको र घात तथा अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न पनि नपाइएको दुःखेसो पोख्दै सभापति देउवाले भन्नुभयो, ‘तपाईंहरूलाई थाहा छ, हाम्रो पार्टीमा घात, अन्तर्घात पनि छ । खुट्टा तानातान पनि हाम्रो पार्टीमा भइरहेकै हो, अहिले होइन पहिलेदेखि नै । घात, अन्तर्घात गर्नेलाई कारबाही गरौँ भन्दा फेरि कारबाही गर्न पाइँदैन भन्छन्, यस्तो अवस्था छ । पार्टीलाई मिलेर एक गराएर हिँड्नुपर्छ । एकल बहुमत ल्याउने प्रयास गरौँ ।’
निर्वाचनअघि गठबन्धन गर्न नपाउने व्यवस्था गरौँ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनअघि गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने दल राष्ट्रिय दल हुँदैन भन्ने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले भन्नुभयो, ‘जस्तै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने दल राष्ट्रिय दल हुँदैन भन्ने राखौँ । त्यसकारण निर्वाचन अगाडि कांग्रेस, एमाले र कुनै पनि दलले गठबन्धन गर्न पाउँदैन । अनि कांग्रेस एमालेसँग र एमाले कांग्रेससँग डराउनु पर्दैन । यो अभ्यास थुप्रै देशमा पनि छ । एउटा दल अर्को दलसँग मिल्छ भन्ने डरले गठबन्धन गर्ने प्रवृत्ति नेपालको राजनीतिमा छ ।’
हामीलाई प्रधानमन्त्रीको रिपोर्ट कार्ड चाहिएको छ : डा. कोइराला
नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता एवं केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रिपोर्ट कार्ड आफूहरूले मागिरहेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूलाई पुस ५ देखि १० गतेसम्म काठमाडौं उपत्यका नछाड्न भनेको सुनिएको उल्लेख गर्दै कोइरालाले प्रधानमन्त्रीकै रिपोर्ट कार्ड माग गरिएको बताउनुभएको हो । डा.कोइरालाले भन्नुभयो, ‘सरकारको काम कारबाहीको कुरा आइराखेको छ । अर्थमन्त्रीजी यहीँ हुनुहुन्छ, पुस ५ देखि १० गतेसम्म मन्त्रीजीहरूलाई काठमाडौं नछाड्न प्रधानमन्त्रीले भनेको सुनेको छु । रिपोर्ट कार्ड हेर्ने होला । म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु । संसदीय व्यवस्थामा मन्त्रीहरूले जतिसुकै काम गरे पनि त्यसको जस-अपजस प्रधानमन्त्रीले लिनुपर्छ । अनि प्रधानमन्त्रीले मन्त्रीका रिपोर्ट कार्ड लिने ? हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’ अहिले गणतन्त्रमाथि देशैभर आक्रमण भइरहेको जिकिर गर्दै कोइरालाले भन्नुभयो, ‘जनतामा निराशा र आक्रोश छ, स्वाभाविक हो । जनताको आक्रोश गणतन्त्रप्रति होइन, नेतृत्वप्रति हो । हामीले राम्रो काम गरियो भने गणतन्त्र र राजतन्त्रका कुरा ओझेलमा पर्छ ।’ नेता कोइरालाले देशमा देखिएका तमाम समस्या समाधानको लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच