तेहरान । इरानका राष्ट्रपति रायसी इब्राहिमले इजरायललाई सप्ताहन्तमा इरानको अभूतपूर्व ड्रोन र मिसाइल आक्रमणप्रति ‘सानो पनि कदम’ चाले ‘पीडादायी प्रतिक्रिया’ को सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ । सिरियास्थित दमास्कस वाणिज्य दूतावासमा अप्रिल १ मा भएको हवाई आक्रमणको जवाफमा शनिबार इरानले इजरायलमाथि पहिलो प्रत्यक्ष आक्रमण गरेको थियो । दूतावासमा भएको आक्रमण इजरायलले गरेको आरोप इरानले लगाएको छ ।
उक्त आक्रमणमा इरानी दूतावासको पाँच तले कन्सुलर खण्ड ध्वस्त भएको थियो भने दुई जनरलसहित रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए । ‘इरानको हितविरुद्ध थोरै पनि कारबाहीप्रति निश्चितरूपमा गम्भीर, व्यापक र पीडादायी जवाफ दिइने छ भन्ने हामी दृढतापूर्वक घोषणा गर्दछौँ’, राष्ट्रपति रायसीले सोमबार राति कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँगको टेलिफोन वार्तामा भन्नुभयो ।
उहाँले इरानले ‘आत्मरक्षा’ का लागि काम गरेको दोहोर्याउनुभयो । उहाँको कार्यालयको विज्ञप्तिमा अपरेसनले वाणिज्य दूतावासमा आक्रमण गर्न प्रयोग हुने इजरायली आधारहरूलाई लक्षित गरिएको उल्लेख छ । उहाँले इजराइलका लागि केही पश्चिमी सरकारको समर्थनको आलोचना गर्नुभयो ।
व्यापक क्षेत्रीय द्वन्द्वको आशंकाका कारण विश्वका नेताहरूले संयमता अपनाउन आग्रह गरेको भए पनि इजरायली सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हलेवीले सोमबार अभूतपूर्व आक्रमणको जवाफ दिइने वाचा गर्नुभयो । ‘इजराइली क्षेत्रमा यति धेरै मिसाइल, क्रुज मिसाइल र युएभीको प्रक्षेपणको जवाफ दिइनेछ’, हलेवीले नेवातिम एयरबेसमा सैनिकहरूलाई भन्नुभयो ।
अमेरिका र अन्य सहयोगीको मद्दतमा अधिकांश इरानी हतियारलाई खसाइएको र आक्रमणमा न्यूनतम क्षति मात्र भएको इजरायली सेनाले बताएको छ । इरानले इजरायलमा आफ्नो ‘सीमित’ आक्रमण गर्नुअघि अमेरिकालाई सूचित गरेको र छिमेकी मुलुकहरूलाई ७२ घण्टाको चेतावनी दिएको बताएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच