शिवसताक्षीको प्राथमिकतामा शिक्षा, सबै विद्यालयलाई स्मार्ट बनाउने लक्ष्य

Read Time = 5 mins

झापा । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० मा शिक्षालाई विशेष प्राथमिकता दिएको छ । नगर क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयलाई ‘स्मार्ट’ बनाउने लक्ष्यसहित शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको नगरप्रमुख मेघाहाङ थोप्रा ९रोशन० ले बताउनुभयो ।

नगरपालिकाको सभाहलमा आज रिपोर्टर्स क्लब मेचीले आयोजना गरेको ‘बजेटको प्राथमिकता र कार्यान्वयन पक्ष’ विषयक जनप्रतिनिधिसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “आगामी पाँच वर्षभित्र नगरका सबै विद्यालयलाई स्मार्ट बनाउने लक्ष्य छ ।”

नगरपालिकाले आगामी आवका लागि शिक्षामा रू एक करोड ९० लाख बजेट विनियोजन गरेको छ । नगरका सङ्कटोन्मुख विद्यालय ९विद्यार्थी सङ्ख्या कम भएका० लाई बजेट दिएर एकपटक मौका दिने गरी बजेट छुट्याएको छ । त्यति गर्दा पनि सुधार नभए नजिकैको विद्यालयसँग गाभिने नगरप्रमुख थोप्रा बताउनुहुन्छ । विद्यालयमा पढ्ने र पढाउने वातावरण बनाउने योजना नगरको छ ।

नगरपालिकाले जीवनोपयोगी प्राविधिक शिक्षामा जोड दिएको छ । “नगरकै खर्चमा निःशुल्क प्राविधिक शिक्षा दिन कोष बनाइएको छ”, उहाँले भन्नुभयो, “विपन्न तथा गरिब विद्यार्थीको शैक्षिक विकासमा नगरले विशेष प्राथमिकता दिएको छ ।”

यसअघिका जनप्रतिनिधिले गरेका राम्रा कामलाई नगरपालिकाले निरन्तरता दिने उपप्रमुख नरमाया कार्कीले बताउनुभयो । “यसअघिका जनप्रतिनिधिले धेरै काम गरेर हामीलाई सहज बनाउनुभएको छ”, उहाँले भन्नुभयो, “अझै धेरै काम गर्न बाँकी छ । नागरिकको जीवनसँग सिधा सरोकार राख्ने पक्षलाई प्राथमिकतामा राखेर अघि बढ्छौँ ।”

नगरपालिकाले एम्बुलेन्स र शववाहन सेवा निःशुल्क उपलब्ध गराउने जनाइएको छ भने वारुणयन्त्र खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत राईले नगरमा राजस्व परिचालन कम भएको बताउनुभयो । “नगरको आन्तरिक वार्षिक आम्दानी रु तीन करोड मात्र छ”, उहाँले भन्नुभयो, “आन्तरिक स्रोत कम हुँदा केन्द्रको बजेटको मात्र भर पर्नुपरेको छ ।” उहाँले आन्तरिक आम्दानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

कनकाई नहरबाट नगरका ११ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको बताउँदै नगरपालिकाका योजना अधिकृत प्रकाश चौधरीले प्रदेश नं १ सरकारले उपलब्ध गराउन लागेको रू एक करोडमा नगरपालिकाको रकम थप गरेर सिँचाइ सुविधा थप गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भौतिक पूर्वाधार, सुशासन, सेवा–सूचनामा पहुँच अभिवृद्धि गरिँदै आएको बताउनुभयो ।

नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङले नगर क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक तथा पौराणिकस्थलको समग्र विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ती स्थानबाट नगरले पर्यटनका माध्यमबाट राम्रो आम्दानी लिन सक्ने उल्लेख गर्नुभयो ।

नगरपालिकाले भूमि व्यवस्थापनका लागि रू २० लाख छुट्याएको र २३९ अव्यवस्थित बसोबास घरपरिवारलाई धनीपूर्जा बाँड्ने तयारी भइरहेको नगरप्रमुख थोप्राले बताउनुभयो । खेलकुदको विकास लागि नगरपालिकाले प्रत्येक वडालाई रू पाँच÷पाँच लाख, रङ्गशाला निर्माणमा रू ५० लाख र अन्य विविध विषयमा गरी रू एक करोड ३० लाख बजेट छुट्याएको छ ।

नगरमा रहेका सबै स्वास्थ्य संस्थाको स्तरोन्नति गरी स्वास्थ्य चौकीबाटै अस्पतालबाट प्राप्त हुने सुविधा दिने लक्ष्य रहेको र समग्र कृषि क्षेत्र र कृषकको जीवनस्तर उकास्ने खालका योजना ल्याउन लागिएको नगरप्रमुख थोप्राले बताउनुभयो ।
-रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?