साहित्यकार सूर्यप्रसाद लाकोजू नेपाली साहित्यको फाँटमा चिनाइराख्नुपर्ने नाम होइन । कथा, कविता, गीत, मुक्तक, हाइकु, नियात्रा, बालकविता, अनुवाद र आलेखलगायत दुई दर्जनभन्दा बढी साहित्यिक कृतिका सर्जक एवम् ‘अक्षरमार्ग’ का सम्पादक लाकोजू आफ्नो सिर्जनाको माध्यमबाट नेपाली साहित्यको क्षेत्रमा सुपरिचित छन् । सर्जक लाकोजूका बाल्यकालीन एवम् स्कुले जीवनका रमाइला र स्मरणीय क्षणहरूको संस्मरणसङ्ग्रह प्रकाशित भएको छ ‘स्मृतिको आँखीझ्यालबाट’ । बाल्यकाल र स्कुले जीवनका विविध समय र सन्दर्भका भोगाइ, अनुभव र अनुभूतिहरू ‘स्मृतिको आँखीझ्यालबाट’ संस्मरणसङ्ग्रहमा समेटिएका छन् । सङ्ग्रहमा तेह्रवटा संस्मरणहरू सङ्गृहीत छन् । यो सङ्ग्रहलाई ट्रान्सवल्र्ड पब्लिेकेसनले प्रकाशित गरेको छ ।
समीक्ष्य सङ्ग्रहमा लेखक लाकोजूका चञ्चलताले भरिएको बाल्यकाल र उटपट्याङ्गे स्कुले जीवनका केही संस्मरणहरूमा बालमनोविज्ञान र बालमनोविज्ञानलाई प्रभाव पार्ने अन्य धेरै मानवीय आचरणका विषयहरू प्रत्यक्ष वा अप्रत्यक्षरूपमा आएका छन् । विशेषगरी सामाजिक मूल्य, मान्यता अनि अनुशासनका कुरा र नैतिकताका कुराहरू पनि कुनै न कुनै रूपमा उनका संस्मरणहरूमा आएका छन् । मान्छेले के गर्न हुन्छ र के गर्न हुँदैन, के गर्नुपर्छ र के गर्नुपर्दैन जस्ता सामाजिक मूल्य, मान्यता, अनुशासन, दायित्व र कर्तब्यका कुराहरूले मान्छे बाल्यकालदेखि नै सामाजिक हुनुपर्छ र सामाजिक बन्नुपर्छ भन्ने शिक्षा र सन्देश उनका संस्मरणहरूमा समेटिएको पाइन्छ । यसो हुँदा बाल्यकालको संस्मरण हुँदाहुँदै पनि बालबालिकालाई सामाजिकीकरण गर्न र अनुशासित र मर्यादित जीवनयापन गर्न प्रेरित गर्ने यी संस्मरणहरू किशोर पाठकका साथै प्रौढ पाठकका लागि पनि उत्तिकै पठनीय बनेका छन् ।
सर्जक लाकोजूले संस्मरणहरूलाई पुस्तकमार्फत् सार्वजनिक गरेका छन् । उनका निजी भोगाइ, अनुभव र अनुभूतिका संस्मरण भए पनि तिनले आममान्छेका भोगाइ, अनुभव र अनुभूतिलाई प्रतिनिधित्व गरेका छन् । लाकोजूका निजी संस्मरणहरूमा पनि सार्वजनिक भोगाइका तीता-मिठा अनुभव र अनभूतिहरू आएका छन् ।
जीवनमा सबैका केही न केही संस्मरणहरू हुन्छन् । प्रौढावस्थामा मात्रै होइन, बाल्यकालका संस्मरणहरू पनि व्यक्ति र समाजका लागि पनि उत्तिकै उपयोगी बन्न सक्छन् । सामाजिकीकरण, अनुशासन, नैतिकता र असल नागरिक निर्माणका साथै वर्तमान पिँढीलाई अनुशासित, नैतिकवान र जिम्मेवार नागरिक बन्न र बनाउन प्रेरणा प्रदान गर्नमा पनि बाल्यकालको संस्मरण र त्यसमा निहित शिक्षा र सन्देशले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।
यसो त जीवनका सबै संस्मरणहरू लेख्नयोग्य, पढ्नयोग्य वा सार्वजनिक गर्नयोग्य हुँदैनन् । सार्वजनिक गर्नयोग्य संस्मरण भएर पनि सबै संस्मरणहरू लेख्न वा पढ्नयोग्य हुँदैनन् । त्यसैले घतलाग्दा, सधैँ सम्झिरहने र आफ्नो जीवनमा कहीँ न कहीँ र केही न केही प्रभाव पारेका सकारात्मक संस्मरणहरूलाई मात्रै लिपिवद्ध गरी सार्वजनिक गर्ने परम्परा छ । जसले आफ्ना संस्मरणहरूलाई लिपिबद्ध गर्दैनन्, तिनले पनि मौखिकरूपमै भए पनि साथीभाइ, दौँतरी, आफन्त वा अरू कोही न कोहीसँग आफ्ना स्मृतिमा रहेका रमाइला पलहरूलाई साझा गरेकै हुन्छन् ।
पुस्तककै रूपमा ल्याइने संस्मरणहरू चाहिँ तुलनात्मक रूपमा बढी महत्वका, बढी प्रभावशाली र सार्वजनिक गर्दा अरूलाई पनि प्रेरणादायी हुने खालका हुन्छन् । सर्जक लाकोजूले पनि यस्तै संस्मरणहरूलाई पुस्तकमार्फत् सार्वजनिक गरेका छन् । उनका निजी भोगाइ, अनुभव र अनुभूतिका संस्मरण भए पनि तिनले आममान्छेका भोगाइ, अनुभव र अनुभूतिलाई प्रतिनिधित्व गरेका छन् । लाकोजूका निजी संस्मरणहरूमा पनि सार्वजनिक भोगाइका तीता-मीठा अनुभव र अनभूतिहरू आएका छन् । निजी भोगाइका अनुभव र अनुभूतिसँगसँगै स्थानीय भौगोलिक परिचय, सामाजिक र सांस्कृतिक परम्परा, तत्कालीन समयको आर्थिक, राजनीतिक र सामाजिक पाटो, स्थानीय जीवनशैली, शिक्षा र सभ्यताका कुरा पनि सन्दर्भअनुसार आएका छन्, जसबाट पाठकवर्ग लाभान्वित हुनेछन् ।
लाकोजूका बाल्यकालीन र स्कुले जीवनका संस्मरणहरू तत्कालीन समयका प्रतिबिम्ब हुन् । संस्मरणभित्र आएका तत्कालीन समयका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक आदि सन्दर्भका जानकारीहरूले तत्कालीन समयको समाज, संस्कृति, अर्थतन्त्र र राजनीति बुझ्न मद्दत गर्नेछन् । विशेषगरी तत्कालीन समयमा गरिबी, अशिक्षा र अज्ञानताका बाबजुद पनि अनुभव र परम्परा निर्वाहका क्रममा हासिल गरेका ज्ञानको आधारमा जीवनयापनलाई सहज बनाउने उपाय र परम्पराको निर्वाह गर्दै आधुनिक बन्ने प्रयास वर्तमान समयका पाठकका लागि पनि प्रेरणाको स्रोत बन्न सक्नेछ ।
शिक्षण–सिकाइ रमाइलो र प्रेमिल वातावरणमा हुनुपर्छ भन्ने यथार्थलाई उजगार गरेको छ ‘त्यसपछि भाग्नुपरेन’ शीर्षकको संस्मरणले । गल्तीको सजाय गाली होइन भन्ने तथ्यलाई मनन गर्दै प्रेमपूर्वक सम्झाउँदा बालबालिकाले फेरि गल्ती दोहोर्याउँदैनन् भन्ने बालमनोविज्ञान पनि यहाँ देखाइएको ।
‘रातो कलम’ शीर्षकको संस्मरणमा तत्कालीन समयमा शिक्षा हासिल गर्ने पद्धति, अवस्था र विद्यार्थीको आर्थिक-सामाजिक अवस्थाका जानकारी छन् । एउटा जिम्मेवार पिताले निर्वाह गरेको सुझबुझपूर्ण जिम्मेवारीले सन्तानको भविष्य निर्माणको गोरेटो पहिल्याउने काममा गरेको योगदान महत्वपूर्ण छ । बालमनोविज्ञानलाई हिंस्रक बन्नबाट बचाउन पिताले निर्वाह गरेको सहिष्णु भूमिकाले एउटा बालकको मनमा बदला र हिंसाको भावना जागृत हुनबाट जोगाएको छ । ‘आमाको थप्पड’ शीषर्कको संस्मरणमा थप्पड हानेपछि पनि आमाले गरेको प्रेमपूर्ण व्यवहारबाट एउटा बालक अनुशासनहीन र खराब कर्मबाट असल कर्ममा फर्केको संस्मरण शिक्षाप्रद छ र आमाको त्यो सहिष्णुताले भरिएको र जिम्मेवारीपूर्ण कार्य अनुसरणीय छ । आमाको मायाले हिंस्रक प्रवृत्तिलाई पनि शान्तिमा बदल्न सक्छ भन्ने मान्यतालाई लाकोजूकी आमाको भूमिकाले पुष्टि गरेको छ ।
घरमा बाआमाले गर्ने व्यवहार कुनै विश्वविद्यालयको शिक्षाभन्दा कम हुन्न बालबालिकाका लागि । यहाँ लाकोजूका बाआमाले गरेको व्यवहार, तिनले भनेका र बोलेका कुरा अनि तिनले सिकाएका ज्ञान विद्यालय अथवा विश्वविद्यालयले दिने ज्ञान र शिक्षाभन्दा बढी व्यवहारिक र बढी महत्वपूर्ण छन् । जीवनका लागि विश्वविद्यालयको शिक्षाभन्दा घरको शिक्षा अझ बढी महत्वपूर्ण र व्यावहारिक हुन्छ । लाकोजूको यो संस्मरण सङ्ग्रह यस्तै व्यवहारिक र महत्वपूर्ण घरको शिक्षाको समूच्च हो । लाकोजूका यिनै शिक्षाप्रद संस्मरणहरूले व्यवहारोपयोगी शिक्षासँगसँगै पठनको आनन्द पनि दिन्छन् ।
शिक्षण-सिकाइ रमाइलो र प्रेमिल वातावरणमा हुनुपर्छ भन्ने यथार्थलाई उजगार गरेको छ ‘त्यसपछि भाग्नुपरेन’ शीर्षकको संस्मरणले । गल्तीको सजाय गाली होइन भन्ने तथ्यलाई मनन गर्दै प्रेमपूर्वक सम्झाउँदा बालबालिकाले फेरि गल्ती दोहोर्याउँदैनन् भन्ने बालमनोविज्ञानमा आधारित र स्थापित मान्यतालाई गुरुले गल्ती गर्ने विद्यार्थीलाई पुष्टकारी दिएर प्रेमपूर्वक सम्झाएको प्रसङ्गले पुष्टि गरेको छ । यस अर्थमा लाकोजूका बाल्यकाल र स्कुले जीवनका चकचके स्वभावका रमाइला संस्मरणहरू शिक्षाप्रद बन्न पुगेका छन् ।
बाल्यकालको चकचके स्वभाव स्वयम् बालबालिका लागि मात्र होइन घर-परिवारलाई समेत रमाइलो लाग्ने गर्दछन् । तर त्यही चकचके स्वभावले कहिलेकाहीँ समस्या र आपतलाई पनि निम्त्याउँछ भन्ने सन्देश लाकोजूका संस्मरणहरूमा पाइन्छ । तर त्यस्ता समस्याको समाधान पनि आवेशमा नआई सुझबुझपूर्ण र धैर्यतापूर्वक स्थानीय स्रोत, साधन र तौर-तरिकाबाटै गर्न सकिन्छ भन्ने मान्यतालई पनि स्थापित गरेको पाइन्छ ।
लाकोजूका संस्मरणहरू विशेषगरी किशोर पाठकलाई लक्षित गरेर लेखिएको महसुस हुन्छ । लेखनको स्तर, प्रस्तुति र वाक्यगठनले पनि यही सङ्केत गर्दछ । तर लेखनमा प्रयुक्त स्थानीय बोलचालीको भाषा, केही ठेट नेपाली शब्दहरू, स्थानीय लवज, स्थानीय भौगोलिक अवस्थिति, स्थानीय वासिन्दाको जीवनशैली, कृषि-संस्कृति, स्थानीय पेशा-व्यवसाय आदिको यथोचित जानकारी, लेखनशैलीमा प्रयोग भएको सरलता र सहजता, कलात्मकता, रोचकता, सन्देशमूलकता र केही हदसम्म वैचारिता आदि विशेषतालाई हेर्दा यो लोकाजूका संस्मरणहरू आम सर्वसाधारण पाठकका लागि पठनीय बनेकोमा कुनै सन्देह छैन । यद्यपि सामान्य कुराहरूलाई अलि विशिष्टीकृतरूपमा प्रस्तुत गर्न सकेको भए संस्मरणहरू अझ बढी ओजपूर्ण बन्नसक्ने थियो भन्ने लाग्छ । आगामी संस्करणमा यस्तो सुधार अपेक्षित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच