![महिलामा पिसाब संक्रमणः केही महत्वपूर्ण पक्षहरू](https://ehimalayatimes.com/wp-content/uploads/2022/10/Prof.-Dr.-Arjundev-Bhatt.jpg)
काठमाडौं । चलचित्र पत्रकार संघले २५औं वार्षिकोत्सव (रजत वर्ष) मनाएको छ । काठमाडौंमा एक विशेष समारोहबीच संघले आफ्नो वार्षिकोत्सव मनाएको हो । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको प्रमुख आतिथ्यामा सम्मपन्न कार्यक्रममा चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरूलाई सम्मान तथा पुरस्कार अर्पण गरिएको थियो । समारोहमा यो वर्षको चलचित्र पत्रकारिता रजत सम्मान-२०८१ बाट नेपाल समाचारपत्र दैनिक तथा कामना मासिकका पत्रकार विदुर गिरीलाई सम्मानित गरिएको थियो । उहाँलाई ५५ हजार ५५५ रुपैयाँसहित सो सम्मान प्रदान गरिएको हो ।
यस्तै न्यूज २४ टिभीका चलचित्र पत्रकार सुरज खड्का र स्वतन्त्र चलचित्र पत्रकार अशेष अधिकारी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८१ बाट पुरस्कृत गरेको छ । उहाँहरूलाई जनही ५१ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । त्यस्तै राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट कलाकर्मी डटकमका पत्रकार कृष्ण भट्टराई र न्यूज २४ टिभीका चलचित्र पत्रकार राज श्रेष्ठलाई सम्मानित गरिएको थियो ।
दाङमा रहेर सक्रिय रूपमा चलचित्र पत्रकारिता गर्दै आएका शिव पुनलाई २५ हजार रुपैयाँसहित राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभयो । समारोहमा २५ हजार रुयैयाँ राशीसहित राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार मदन रिजाललाई प्रदान गरिएको थियो ।
संघको स्थापना भएको २५औं वार्षिकोत्सवको अवसर पारेर समारोहमा केही कला पत्रकारलाई ‘रजत वर्ष’ सम्मान पनि गरिएको थियो । समारोहमा पत्रकारहरू सिधा खबरका सम्पादक तथा मकवानपुरका चलचित्र पत्रकार मणिराज गौतम, ब्युटी न्यूज नेपालकी चलचित्र पत्रकार जयन सुब्बा मनन्धर, नारी टिभीका रञ्जन खनाल, नेपाल लाइभका डिबी खड्कासहित रंग पत्रकार शिल्पा अधिकारी, रविन्द्र खड्का, अमृत पुडासैनी र दीपक विष्टलाई सम्मान अर्पण गरिएको थियो । चलचित्र पत्रकार संघको यो उत्सवलाई सहयोग गरेको भन्दै समारोहमा विभिन्न चलचित्र निर्माण कम्पनी तथा सहयोगीलाई कदरपत्रबाट पनि सम्मानित गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन प्रमुख अतिथि मन्त्री महाशेठले ‘सत्य हरिश्चन्द्र’बाट नेपाली चलचित्रको शुभारम्भ दार्जिलिङबाट भएको बताउदै आफूले बाल्यकालमा जानकी मन्दिरको प्रागणमा श्यामश्वेत रंगको पहिलो नेपाली चलचित्र ‘आमा’ हेरेको स्मरण गर्नुभयो । उहाँले नेपाललाई फिल्म छायांकन गर्ने प्रमुख देश बनाउनुपर्ने बताउनुभयो । महासेठले हिमाल, पहाड र तराईको संगम भौगोलिक स्थिति मिलेको देश नेपाल भएको बताउँदै फिल्म छायांकनको हब बनाउन सरकारले पनि आवश्यक पहल गर्ने बताउनुभयो ।
उहाँले सरकारले चलचित्र क्षेत्रलाई विशेष महत्व दिएर जान अहिलेसम्म नसकेको पनि सुनाउनुभयो । मन्त्री महासेठले सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले सरकारका लागि चलचित्र क्षेत्र देश चिनाउने महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो । चलचित्र उद्योगको बिस्तार र प्रवद्र्धनमा चलचित्र पत्रकाको पनि त्यत्तिकै ठूलो योगदान रहेको चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीको भनाइ थियो । अध्यक्ष केसीले नयाँ चलचित्र ऐन बन्न नसक्दा कतिपय समस्या आइरहेको बताउनुभयो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलले आफू पनि बिगतमा चलचित्र पत्रकार भएको स्मरण गर्दै चलचित्र पत्रकार संघबाट मानार्थ सदस्य दिएकोमा खुशी व्यक्त गर्नुभयो । चलचित्र कल्याणकारी कोषमा एक करोड रुपैयाँ सहयोग गर्न अध्यक्ष निरौलाले मन्त्री महासेठसँग सोही कार्यक्रममा ध्यानाकर्ष पत्र बुझाएर अपिल गर्नुभएको थियो । अभिनेत्री वसुन्धरा भुसालले कला क्षेत्रमा चलचित्र पत्रकारको भूमिकाको चर्चा गनुभयो । कला क्षेत्रको विकासका लागि चलचित्र पत्रकारको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
यस्तै, अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले चलचित्र पत्रकारहरूले निष्पक्ष र खोजमूलक पत्रकारिता गर्नुपर्ने औँल्याउँदै कला क्षेत्रको उत्थानमा महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो । समारोहमा चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले अग्रज चलचित्र पत्रकारहरूको योगदानले संघले आज रजत वर्ष उत्सब मनाउन सफल भएको बताउनुभयो ।
चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्ति प्रियले चलचित्र पत्रकार संघको औचित्याबारे प्रकाश पार्नुभएको थियो । चलचित्र पत्रकारहरूलाई धैर्यताका साथ अघिबढ्न उहाँको सुझाब थियो । सम्मानित र पुरस्कृत पत्रकारहरूको तर्फबाट बोल्दै संघका विदुर गिरीले आफूले सम्मान र पुरस्कारका लागि पत्रकारिता नगरे पनि संघको रजत सम्मानले भावुक बनाएको र आगामी दिनमा पत्रकारितालाई अघि बढाउन थप हौसला मिलेको बताउनुभयो ।
संघका उपाध्यक्ष कुबेर गिरीले संघले चलचित्र पत्रकारको हक हितका लागि काम गर्दै उनीहरूलाई प्रोत्साहन र सम्मान गर्दै अगाडि बढेको जिकिर गर्नुभयो । चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटाले सहजीकरण गरेको कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिसहित सम्पन्न सन्तोष बस्याल र सहिमा श्रेष्ठले गीत र विजेता अधिकारी, रमा न्यौपानेलगायतले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच