बुटवल । त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्नुहुन्थ्यो कपिलवस्तुकी निमा सारु । उहाँको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने ।
सीप भए जुनसुकै पेसाबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ । अनि उहाँलाई सहचालक बनेर सघाइरहनुभएको छ सहोदर दिदी शान्ता मल्लले । बुटवल–कृष्णनगर रुटमा सार्वजनिक बस चलाउने निमा आफू सबैका लागि उदाहरण बनेको बताउनु हुन्छ ।
हरेक दिन बुटवलको अस्पताल लाइन र पुरानो बसपार्कमा लु१ज २८१२ नम्बरको सारू ट्राभल्स गाडी रोकेर निमा र शान्ता यात्रु खोजिरहेको भेटिनुहुन्छ । निमा गाडीको चालक सिटबाट यात्रुतर्फ आँखा डुलाउउनु हु्न्छ भने शान्ताले यात्रुहरूलाई आग्रह र अनुरोध गर्दै आफ्नो बसतिर तान्ने प्रयास गरिरहनुभएको हुन्छ । वरिपरि हेर्ने मान्छेहरू भने अचम्म मानिरहेका हुन्छन् ।
निमा र शान्ता सहोदर दिदीबहिनी हुनु हो । कपिलवस्तु वाणंगगा नगरपालिका–८ का यी दिदीबहिनीले यात्रुलाई सेवा दिन थालेको आठ वर्ष बित्यो । 'गाडीका ‘स्टाफ’ हुन् भन्ने थाहा नपाएर होला कहाँ जाने हो भनेर सोध्दा यात्रुले किन भनेर समेत भन्छन्,' निमा भन्नुहुन्छ, 'सुरुसुरुमा कोही त महिला चालक र सहचालक देखेपछि सिटमा बसिसकेका यात्रु पनि झर्ने गरे तर अहिले चिनेका मानिस खोजिखोजी हाम्रै गाडीमा आउँछन् ।'
प्रायः पुरुषले गर्ने काम चालक र सहचालकमा महिलालाई देख्दा मानिसहरू छक्क पर्नु स्वाभाविक नै मान्छिन् निमा । निमाले बसको ‘स्टेरिङ’ घुमाएको यात्रु हेरिरहन्छन् ।
२०५३ सालमा तत्कालीन प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण भएपछि घर परिवारले वाणगंगाका धनबहादुर सारूसँग निमाको विवाह गरिदिए । १६ वर्षको उमेरमै बिहेपछि केही वर्ष बालबच्चा हुर्काउँदैमा उहाँको समय बित्यो । त्यसपछि उहाँले गाउँको एउटा सहकारीमा कार्यालयको ‘क्यासियर’ का रूपमा काम गर्न थाल्नुभयो । त्यसका लागि उहाँले स्कुटर चढेर जानुपर्ने भयो ।
स्कुटर लाइसेन्स अनिवार्य भयो उहाँलाई । २०७० सालमा लाइसेन्स निकाल्नुभयो । गाडी चलाउने सपना त मनमा छँदै थियो । २०७१ सालमा बुटवलको एक इन्स्टिच्युटबाट गाडीको लाइसेन्सका लागि आवेदन फाराम खुलेको थाहा पाउनु भयो । सवारीचालक अनुमति पत्र को आवेदन दिएपछि गाडी चलाउन सिक्न थाल्नुभयो । लाइसेन्स ट्रायल परीक्षा पास गरेपछि पहिलो पटकमै गाडीको लाइसेन्स निस्कियो । त्यसपछि गाडी हाँक्ने उहाँको हौसला बढ्दै गयो ।
उहाँले पति धनबहादुरलाई भन्नुभयो, 'अब मैले गाडी चलाउन गाडी किन्नुपर्यो ।' पतिले सहजै स्वीकार गर्नुभयो । २०७२ वैशाखमा गाडी (विङ्गर) किनियो । सुरुमा घरबाट राजमार्गसम्म गाडी लानुभयो उहाँले । तर राजमार्गमा चलाउन डराउनु भयो । चालक जागृत श्रेष्ठलाई राखेर आफू सहचालक हुनुभयो । चालकको पूर्ण विश्वास नहुने, घर गए आउने ठेगान नहुने हुँदा उहाँलाई हैरानी पनि भयो । चालकलाई तलब दिनुभन्दा आफूले गाडी चलाउने र दिदीलाई सहचालक बनाएर अगाडि बढ्न थाल्नुभयो । त्यसपछि सुरु भएको हो दिदीबहिनीको गाडी यात्रा ।
पतिको साथ र समर्थनले नै आफू बस चालक बन्न सफल भएको निमा बताउउनु हुन्छ । 'मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो । गाडी किनिदिनुभयो । त्यसैले म आज सार्वजनिक गाडीको चालक हुन सफल भएँ,' निमाले भन्नुभयो । निमाका पति धनबहादुर बिजुलीका काम गर्छन् ।
दिदीबहिनी बिहानदेखि रातिसम्म सडकमै हुनुहुन्छ। साँझ ८–९ बजेसम्म उहाँहरू सडकमै हुनुहुन्छ। दैनिक निश्चित रुटमा कम्तीमा तीन ट्रिप चलाउनुपर्छ तर रुट कहिले कहाँ, कहिले कहाँ ?
अर्घाखाँचीबाट शान्ताको परिवार पनि निमाको नजिकै बसाइसराइ गरी आएको हो । उहाँहरूको मूल घर (जन्म) अर्घाखाँचीको छत्रदेव केरुङ्गामा हो । शान्ताका पति रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ । बहिनीको प्रस्तावमा दिदी शान्ताले पनि साथ दिनुभयो । अहिले बहिनी गाडीमा लोकदोहोरी गीत घन्काउँदै गाडी कुदाउनु हुन्छ, दिदी भाडा उठाउनु हुन्छ । 'के थाहा लेखेको के रहेछ, आखिर हामी दिदीबहिनी गाडी लाइनमा आउँछौं भन्ने,' शान्ता भन्नुहुन्छ ।
बहिनी निमाको इच्छाशक्ति, कामप्रति रुचि र प्रतिबद्धताले नै पुरुष दबदबा रहेको यातायात क्षेत्रमा चुनौतीको सामना गर्दै सफल भएको शान्ताको भनाइ छ । 'काममा लाग्नुपर्छ, अघि बढ्नुपर्छ भन्ने कुरा सधैँ भित्री मनमा बहिनीको थियो,' शान्ता भन्नुहुन्छ, 'अहिले आएर मलाई पनि यसैमा जोड्न सफल भइन् ।'
आफ्नो मेहनत, परिश्रमले दिदीबहिनीले फड्को मार्नुभएको छ। निमा उमेरले ४१ वर्ष र शान्ता ४२ वर्षकी हुनु भयो। आफ्नो पेसाप्रति दिदीबहिनी पूर्ण सन्तुष्ट हुनुहुन्छ । 'महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भनेर देखाउन पाउँदा आफूलाई गर्व लाग्छ,' निमा भन्नुहुन्छ ।
अहिले गाडीबाट सबै खर्च कटाएर निमाको मासिक एक लाख रुपियाँभन्दा बढी कमाइ हुन्छ । 'तेल महंगो भएको छ । खर्च धेरै छ, मर्मत सम्भारमा पनि खर्च धेरै लाग्न थाल्यो, सबै खर्च कटाएर दैनिक ४५ सयदेखि पाँच हजार रूपैयाँसम्म बचत हुन्छ,' उहाँले भन्नुभयो ।
निमाका दुई छोरी र एक छोरा छन् । ठूलो छोरी २४ वर्षकी भइन् । छोरा १७ वर्षका भए । निमालाई छोराछोरीले गाडी नचलाउन सुझाव दिनुहुन्छ तर निमा आफूले सक्ने उमेरसम्म गाडी लाइनमै काम गर्ने सोचमा हुनुहुन्छ ।
-न्युज कारखाना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच