आजदेखि विदेशी कामदारको स्वीकृति तथा इजाजत अनलाइनबाटै

८९ वटा देशबाट रोजगारीका लागि कामदार आउने गरेको तथ्यांक

हिमालय टाइम्स
Read Time = 5 mins

रमेश भारती/हिटा
काठमाडौं । सरकारले रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको पनि अनलाइनबाटै श्रम स्वीकृति तथा इजाजत जारी गर्ने भएको छ । रोजगारीका लागि विभिन्न देशबाट आएका विदेशी कामदारको पनि अनलाइनबाटै श्रम स्वीकृति तथा इजाजत जारी गरिने श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । शुक्रबार (आज)देखि एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (आइएलएमआइएस) सञ्चालनको तयारी भइरहेको छ । सेवाग्राहीले ‘आइएलएमआइएस डट डिओएलओएस डट जिओभी डट एनपी’मा गएर आवेदन दिनसक्ने विभागले जानकारी दिएको छ । ‘आइएलएमआइएस डट डिओएलओएस डट जिओभी डट एनपी’ प्रणाली सञ्चालनमा आएसँगै अब गैरनेपाली नागरिकले श्रम स्वीकृति तथा इजाजत अनलाइनबाटै लिनसक्ने विभागका निर्देशक मणिनाथ गोपले बताउनुहुन्छ ।

श्रम स्वीकृति तथा इजाजत अनलाइनबाटै जारी गर्दा सबै देशबाट आएका कामदारको तथ्यांक रहने र उनीहरूको श्रम अवधि सकिएपछि सूचनामार्फत जानकारी हुने उहाँले जानकारी गराउनुभयो । ‘अनलाइनबाट श्रम स्वीकृति जारी गर्न थालेपछि कुन क्षेत्रमा कस्ता विदेशी कामदार आउँछन् भन्ने तथ्यांक सरकारसँग हुनेछ । यसरी तथ्यांक राख्दा नेपाललाई फाइदा हुन्छ ।’ उहाँले भन्नुभयो, ‘हाल विदेशबाट आएजस्तै कामदार नेपालमा पाइन्छ कि पाइँदैन भन्ने तथ्यांक सरकारसँग हुन्छ । त्यही भएर अनलाइनबाट श्रम स्वीकृति जारी गर्नुपर्छ ।’
रोजगारीका लागि आउने विदेशी कामदारको दक्षताका आधारमा श्रम स्वीकृति जारी गरिने उहाँको भनाइ छ । साथै ट्रेड युनियन दर्ता÷नवीकरण, श्रमिक आपूर्तिकर्ताको दर्ता÷नवीकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेस, प्रतिष्ठान दर्तालगायत विभागबाट भइरहेका कामसमेत अब अनलाइनबाट गर्न सकिने भएको छ ।

गत आर्थिक वर्षमा रोजगारीका लागि दुई हजार ९९४ जना विदेशी कामदार श्रम स्वीकृति लिएर नेपाल भित्रिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । विभागका अनुसार यो अघिल्लो आर्थिक वर्षको भन्दा ३७ प्रतिशत धेरै विदेशी श्रमिक आएको संख्या हो । अघिल्लो आर्थिक वर्षमा दुई हजार १८१ जना विदेशी कामदार रोजगारीका नेपाल आएको विभागको तथ्यांकमा छ ।

गत आर्थिक वर्षमा चिनियाँ दुई हजार २१, बेलायती ११७, अमेरिकी १०२, जापानी ९७, कोरियन ८२ र बाँकी अन्य देशका ३११ जना विदेशी कामदारले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ । यसैगरी, विभागले गत आर्थिक वर्षमा एक हजार ६२५ जनाले श्रम स्वीकृति नवीकरण गरेको छ । बेलायत, चीन, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसिया, उत्तर कोरिया र भुटानबाट पनि रोजगारीका लागि विदेशी श्रमिक श्रम स्वीकृति लिएर आउने गरेको विभागले जनाएको छ ।

सरकारले रोजगारदाता देशका नेपालमा सञ्चालित कम्पनी गरेको सम्झौता बमोजिमकै आधारमा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्था छ । सोही अनुसार नेपालको श्रम ऐनअनुसार विदेशी कामदारलाई भिसा र रोजगारी अनुमति जारी गर्दै आएको विभागले जानकारी दियो ।

नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने श्रम ऐनको व्यवस्थाअनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति दिर्दै आएको छ । हाल नेपालमा ८९ वटा देशबाट रोजगारीका लागि विदेशी कामदार आउने गरेको विभागको तथ्यांकमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?