बर्लिन । युरोकप फुटबलमा फ्रान्स, स्लोभाकिया र रोमानिया विजयी भएका छन् । जर्मनीमा जारी प्रतियोगितामा सोमबार राती भएको समूह ‘ई’ को खेलमा रोमानियाले युक्रेनलाई ३-० गोलले हराएको हो । यस्तै, स्लोभाकियाले बेल्जियमलाई १-० गोलले र फ्रान्सले अष्ट्रियालाई पनि १-० गोलले नै हराएको हो ।
अष्ट्रियाका खेलाडीले गरेको आत्मघाती गोलको मद्दतमा फ्रान्स विजयी भएको हो । म्याक्सिमिलेन वेबरले ३८औँ मिनेटमा आत्मघाती गोल गर्नुभएको थियो । खेलमा कप्तान केलियन एमबाप्पे भने घाइते हुनुभएको थियो । नाकमा चोट लागेपछि एमबाप्पेलाई अस्पताल लगिएको थियो । विपक्षी खेलाडीसँग ठोक्किएपछि खेलको ९०औँ मिनेटमा उहाँको नाकमा चोट लागेको थियो ।
यस्तै, उपाधि दाबेदारमध्येको एक मानिएको बेल्जियम आफ्नो पहिलो खेलमा पराजित भएको छ । समूह ‘ई’ अन्तर्गत सोमबार राती सम्पन्न खेलमा बेल्जियम स्लोभाकियासँग ०-१ ले स्तब्ध भएको हो । खेलमा इभान सरान्जले गरेको एकमात्र गोल निर्णायक बन्यो । उहाँले खेलको ७औँ मिनेटमा गोल गर्दै स्लोभाकियालाई अप्रत्यासित अग्रता दिलाउनुभएको थियो । गोलपछि बेल्जियमले निकै अवसरहरू सिर्जना गरे पनि गोल भने गर्न सकेन । बेल्जियमले दुईपटक गरेको गोल रद्द हुन पुगेको थियो । दुवैपटक रोमेलु लुकाकुले गरेको गोल भिएआरले रद्द गरेको थियो ।
५६औँ मिनेटमा लुकाकु अफसाइड भएपछि गोल रद्द भएको थियो भने ८६औँ मिनेटमा लुइस ओपेन्डाले हृयाण्डबल गरेपछि गोल रद्द भएको थियो । जितपछि तीन अंक बटुलेको स्लोभाकिया समूह ‘ई’ को दोस्रो स्थानमा छ । गोलअन्तरका आधारमा रोमानिया समूहको शीर्ष स्थानमा छ । यसअघि टोलीले युक्रेनलाई ३-० गोलले हराएको थियो ।
यस्तै, रोमानियाले युरोपियन च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । रोमानियाले युक्रेनविरुद्ध ३-० को सहज जित निकाल्यो । रोमानियालाई जित दिलाउन कप्तान निकोला स्टान्सिउ, रेजभान मरिन र डेनिस ड्रगुसले गोल गर्नुभयो । जितसँगै समूह ‘इ’ को रोमानियाले तीन अंक जोडेको छ । युक्रेनले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । खेलको २९औँ मिनेटमा स्टान्सिउको गोलमार्फत् रोमानियाले अग्रता लिएको थियो । मरिनले ५३औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाउनुभयो । चार मिनेटपछि नै ड्रगुसले युक्रेनका लागि तेस्रो गोल गर्नुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच