भारतीय कांग्रेस अध्यक्षको निर्वाचन अक्टोबर १७ मा हुने

Read Time = 4 mins

नयाँदिल्ली । भारतीय कांग्रेसको अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा हुनेभएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष चयनका लागि मतदान हुने मिति तय गरेको हो ।

मतगणना भने मतदान भएको दुई दिनपछि अक्टोबर १९ मा गर्ने निर्णय भएको पनि नेताहरूले जानकारी दिएका छन् । बैठकमा भारतका पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता डा.मनमोहन सिंह, पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धी, पूर्वअध्यक्ष राहुल गान्धी, महामन्त्री प्रियंका गान्धी भद्रालगायतले अनलाइनमार्फत बैठकमा सहभागिता जनाउनुभएको थियो ।

पार्टीका वरिष्ठ नेता गुलाम नाबी असदले गत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेको पर्सी पल्ट कांग्रेसको बैठक बसेको हो । पार्टीको निर्णयानुसार केन्द्रीय निर्वाचन प्राधिकरणले समयमै निर्वाचन गराउन प्रक्रिया र गृहकार्य सुरु गरिसकेको छ । आगामी निर्वाचनलाई लक्षित गरी पार्टीलाई नेतृत्व प्रदान गर्नुपर्ने भएकाले नयाँ अध्यक्षको जिम्मेवारी निकै चुनौतीपूर्ण रहेको ठानिएको छ । यसअघि पनि आमनिर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले नैतिकताका आधारमा हारको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँको राजीनामा लामो समयसम्म अस्वीकृत गरिएको थियो भने पार्टीका नेताहरूलाई उहाँलाई राजीनामा नदिन दबाब दिँदै आएका थिए । सबै दबाब र अनुरोधलाई अस्वीकार गर्दै उहाँले पदमा नफर्किने अडान लिएपछि उहाँकै आमा तथा पूर्वअध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

तर, अहिले फेरि पनि राहुल गान्धीलाई नै अध्यक्षमा निर्वाचित गराउनुपर्नेमा पार्टीका धेरै नेताहरूले खुलेरै जोड दिने गरेका छन् । उहाँले भने आफू अहिले पनि अध्यक्ष बन्न नचाहेको बताउँदै आउनुभएको छ ।
यद्यपि भारतीय कांग्रेस पार्टीले यसअघि नै उहाँकै नेतृत्वमा ‘भारत जोडो यात्रा’ सञ्चालन गर्ने घोषणा गरिसकेको छ । आगामी सेप्टेम्बर ७ मा कन्याकुमारीदेखि सुरु हुने यात्रा १४८ दिनको हुने तय गरिएको छ । सो यात्रा काश्मीरमा पुगेर अन्त्य गरिने भएको छ ।

पैदलमार्फत हुने सो पाँच महिने यात्राका क्रममा झण्डै तीन हजार पाँच सय किलोमिटर पार गरिने भएको छ । दैनिक औसतमा २५ किलोमिटर यात्रामा हुने अनुमान गरिएको छ । सहभागीहरूले १२ राज्य भ्रमण गर्नेछन् । यात्राका क्रममा छोटा-छोटा र्‍याली, सार्वजनिक कार्यक्रम, भेला, आमसभा, अन्तक्र्रिया, बैठकलगायत गतिविधि गरिने भएको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?