माओवादीको विशेष अभियानको तयारी पूरा, २५ लाख जनताबीच पुग्ने लक्ष्य

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । शनिबारदेखि सुरु हुन लागेको नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको तयारी पूरा भएको छ । २५ लाख जनताबीच पुग्ने लक्ष्यसहित तीन चरणको अभियान सफल बनाउन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच चन्द्रागिरि-२ स्थित भट्टेडाँडाबाट अभियानको औपचारिक उद्घाटन गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । माओवादीले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर उद्घाटनको तयारी सम्बन्धमा सम्पूर्ण जानकारी गराउने तयारी गरेको छ । गत केन्द्रीय समिति बैठकबाटै माओवादीले ७५३ पालिकाको ६ हजार ७४३ वडामा एकसाथ अभियान सुरु गर्ने कार्यतालिका पारित गरेको थियो ।

जसअनुसार पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय सदस्य, केन्द्रीय निकाय, सल्लाहकार समिति, प्रदेश कमिटी सदस्यहरू र जनवर्गीय संगठनलाई अभियानमा एकसाथ खटाएको छ । साउन (१७-२१)सम्म राजधानीको कमलादीमा बसेको बैठकले केन्द्रीय समिति बैठकले पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्दै तीन महिना वडामा खटाउने निर्णय गरेको थियो । केन्द्रीय सदस्यहरूलाई अन्तरजिल्ला पर्ने गरी कार्यविभाजन गरिएको छ । वडामा जाने अधिकांश सदस्यहरूको टुंगो लागे पनि केहीको टुंगो लाग्न बाँकी रहेको नेता श्रीराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा जाने पदाधिकारीहरूको टुंगो लागिसकेको छ । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित चार उपाध्यक्ष, एक महासचिव, ६ उपमहासचिव, नौ सचिव र एक कोषाध्यक्ष रहेका छन् ।

जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चन्द्रागिरि–२ मा आयोजित कार्यक्रममा सहभागी हुने तय भएको छ । उहाँ अभियानका अवधिमा सातै प्रदेशका एक–एक वडामा खटिने बताइएको छ । वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका-२८ हरिसिद्धिमा खटिने हुनुभएको छ । उपाध्यक्ष अग्नि सापकोटा लिशंकुपाखर गाउँपालिका-३ सिन्धुपाल्चोक, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका-२ मा खटिने कार्यक्रम छ ।
यसैगरी, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका-८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका-४ काठमाडौं, वर्षमान पुन कामनपा-१६, जनार्दन शर्मा चन्द्रागिरि-२, मात्रिका यादव वीरेन्द्र नगरपालिका-१ सुर्खेतमा खटिने तयारी भएको छ । त्यस्तै, सचिवमा डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, हितराज पाण्डे पालुङटार-६ गोरखा, चक्रपाणि खनाल, विराटनगर महानगरपालिका-१८ मा खटिने हुनुभएको छ । देवेन्द्र पौडेल पोखरा महानगरपालिका-२०, गणेश साह काठमाडौं महानगरपालिका-१०, सुरेन्द्र कार्की बुद्धशान्ति-४ झापा, बागलुङ नगरपालिका-१२, श्रीराम ढकाल चन्द्रागिरि-२ मा खटिने हुनुभएको छ । अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?