यसकारण संकटमा पर्दैछ शालिग्रामको अस्तित्व  !

हिमालय टाइम्स
Read Time = 8 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । हिन्दू धर्मावलम्बीहरूले भगवान्को अंश मानेर पूजा गर्दै आएको शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको जलचक्र प्रणाली प्रभावित हुँदै गएपछि शालिग्रामको अस्तित्व नै संकटमा परेको छ । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुका साथै पवित्र मानिएको कालीगण्डकी र यहाँ पाइने शालिग्राम शिलाको अस्तित्व नै संकटमा पर्दै गएको हो । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुनेक्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको छ ।

उद्योग तथा कलकारखानाबाट निस्कने फोहोरमैला, रसायनयुक्त पानी र अनियन्त्रितरूपमा ढल मिसाउनेजस्ता गलत मानवीय कारणले गर्दा कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित बन्न गई पर्यावरणीय दृष्टिकोणले यो नदीको अस्तित्व खतरामा पर्दै जान थालेको हो । दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रशस्तै जैविक तथा औद्योगिक फोहोरमैला थुप्रिने गर्दछ । हिन्दू धर्मावलम्बीहरूका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको यो नदीलाई शालिग्राम पाइने विश्वकै एकमात्र नदीका रूपमा लिने गरिन्छ । धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण एवं वातावरणीय हिसाबले संवेदनशील नदी हेर्दाहर्दै कुरूप एवं मित्र जीवको सट्टा हानिकारक शत्रु जीवको उर्वर बासस्थानका साथै प्रदूषणको स्रोत बन्न पुगेको वातावरण संरक्षणका अभियन्ता चन्द्रमणि सापकोटाले बताउनुभयो ।

हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अंशका रूपमा पूजा–आराधना गर्ने र विश्वमै दुर्लभ शालिग्राम शिला पाइने विश्वको एकमात्र नदी कालीगण्डकीलाई प्रदूषणको चपेटाबाट मुक्त गर्न ‘कालीगण्डकी बचाउ’ अभियानमा सबै सक्रिय हुनुपर्ने धारणा वातावरणविद्को छ । हिमालयबाट हिउँ पग्लेर मुक्तिनाथको स्पर्श गर्दै विभिन्न खोला समेटेर बग्दै आएको कालीगण्डकी बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण मानवीय र प्राकृतिक दुवैतर्फवाट प्रदूषित बन्दै गएको छ । प्रकृतिमा देखिएका असामयिक परिवर्तन र मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित बनेको सरोकारवालाले बताएका छन् । यसले गर्दा नदीको अस्तित्वसमेत खतरामा परेको वातावरणविद्को भनाइ छ ।

कालीगण्डकीको अवैध दोहन, हराए शालिग्राम

हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अंश मानेर पुज्ने शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीमा लामो समयदेखि अवैधरूपमा दोहन हुँदै आए पनि सम्बन्धित निकाय भने मौन छन् । अवैधरूपमा नदीको उत्खनन् गरी नदीजन्य वस्तुको चोरीनिकासी हुनेक्रम बढ्दै गएपछि कालीगण्डकीबाट बहुमूल्य शिला शालिग्राम लोप हुँदै गएको छ भने कालीगण्डकीको अस्तित्वसमेत संकटमा परेको छ ।

नदीजन्य पदार्थको अवैध उत्खनन्ले कालीगण्डकी सभ्यतामै समस्या र संकट पर्न थालेको र बहुमूल्य शिला शालिग्रामसमेत लोप हुँदै गएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष पं. भीमनाथ पौडेलले बताउनुभयो । प्रदेश सरकारले नदीजन्य वस्तु निकाल्नका लागि मापदण्ड बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । व्यवसायीले आफूखुसी ढुंगा, गिट्टी, बालुवा निकालिरहेका छन् । हेभी इक्विपमेन्ट (डोजर, स्काभेटर) प्रयोग गरेर नदीमा वर्षौँदेखि रहेका ठूला ढुंगा निकाल्दा नदीले धार परिवर्तन गरी नदी किनारका बस्तीमा जोखिम बढेको छ । यसले गर्दा सबैभन्दा बढी असर म्याग्दीको सदरमुकाम बेनी र कालीगण्डकी करिडोरअन्तर्गतको बेनी जोमसोम सडकलाई परेको छ । नदीजन्य पदार्थ उत्खनन् तथा निकासीका लागि सरकारले मापदण्ड बनाएर सोहीअनुसार निर्देशित गरे पनि व्यवसायीले दिउँसोको समयमै ठूला मेसिन लगाएर दोहन गरिरहेका पर्वत बगरका इन्द्रबहादुर बरुवालले बताउनुभयो ।

जमिनमा एकपटक बसिसकेको ढुंगालाई बगिरहेको नदीको बीचबाट निकालेर भारी मेसिन (स्काभेटर) को प्रयोग गरी छिया–छिया पारिएको छ । नदी कटान तीव्ररूपमा भइरहेको अवस्थामा नदी उत्खनन् र नदीजन्य वस्तुको चोरीनिकासी गर्न सजिलो हुने गरी स्काभेटर र टिपर पुर्याउन सडकसमेत बनाइएको छ । कुनै निकायसँग सम्झौता पनि नगरी र नदी उत्खनन्को मापदण्डविपरीत नदीको दोहन भइरहेको छ भने सदरमुकामको कालीपुल क्षेत्र थप जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् ।

उच्च जोखिमयुक्त सदरमुकामको सूचीमा राखिएको म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा नदी नियन्त्रणको बहानामा नदीको तीव्र वेगलाई रोक्न सक्ने ढुंगा निकाल्दासमेत जनप्रतिनिधि र सरोकारवाला निकाय मौन बसेपछि हरेक वर्ष नदीको अस्तित्व संकटमा पर्नुका साथै सौन्दर्यसमेत गुम्दै गएको छ । व्यवसायीले रातको समयमा समेत नदी उत्खनन् गर्दै आएका छन् ।

म्याग्दी, बागलुङ र पर्वत जिल्लाका विभिन्न स्थानमा अहिले दोहन भइरहेको छ । अवैधरूपमा भएको दोहनले नदीले धार परिवर्तन गरेर बस्तीतिर जाने सम्भावना देखिन्छ । मापदण्ड मिचेर नदी दोहन गर्दा म्याग्दीको धार्मिकस्थल गलेश्वर धामदेखि सदरमुकाम बेनी बजार र बागलुङको माझी बस्ती, मालढुंगा तथा कालाखोला बगर क्षेत्रका घरसमेत उच्च जोखिममा पर्न थालेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?