मकवानपुर । परैबाट दुर्गन्ध महसुस हुने सानो कोठामा पश्चिम मकवानपुरको नगरोन्मुख मनहरी गाउँपालिका वडा–१ मकरीका हीरालाल थिङका लागि गुन्द्री ओच्छ्याइएको छ । उनी दिशापिसाब त्यहीं गर्छन् । खानेकुरा परिवारले त्यहीं पुर्याइदिन्छन् । उनको दिशापिसाब परिवारले नै सफा गरिदिने गरेका छन् ।
यस्तो गतिविधि नियमित चलेको करिब १ वर्ष भयो । २३ वर्षे युवावस्थामा चम्किनुपर्ने हीराको मानसिक सन्तुलन ठीक नभएका कारण परिवारले खोरमा थुनेर राखेका हुन् ।
उनको यस्तो अवस्था देखेर एक स्थानीयले हेटौंडास्थित राष्ट्रिय मानवअधिकार आयोग कार्यालयमा निवेदन दिए । तर, निवेदन परेको झन्डै ५ महिना बितिसक्दा पनि सम्बन्धित निकायहरुले उनको उद्धारमा चासो देखाएका छैनन् ।
थिङ खोरमा थुनिएको भन्दै मानवअधिकार आयोगमा निवेदन परेकोमा आयोगले सम्बन्धित निकायलाई पत्राचार गरे पनि उनको उद्धार भने हुन नसकेको हो । थिङ करिब एक वर्षदेखि खोरमा थुनिएका छन् भन्ने समाचार सञ्चारमाध्यममा आएपछि फागुन १६ गते मानवअधिकार आयोगमा निवेदन परेको आयोगले जानकारी दिएको छ ।
उक्त दिन एक व्यक्तिमार्फत् आयोगमा निवेदन आएकोमा उनको उद्धार गर्न सोही दिन मनहरी गाउँपालिकालाई आयोगले पत्राचार गरेको मानवअधिकार अधिकृत विष्णु मिश्रले जानकारी दिनुभयो । चैत १ गते आयोगका कर्मचारीले स्थलगत् अनुगमन गरेको उहाँले बताउनुभयो । स्थलगत् अनुगमनपश्चात् सोको रिपोर्ट चैत १४ गते सम्बन्धित निकाय वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयलाई जानकारी गराइ उद्धारसहित उपचारको व्यवस्था मिलाउन पत्राचार गरिएको उहाँले बताउनुभयो । दुवै सम्बन्धित निकायबाट हालसम्म कुनै प्रतिक्रिया नआएको उहाँको भनाइ छ।
मानवअधिकार आयोगले ध्यानाकर्षण गराउने काममात्र गर्ने र उपचार व्यवस्था मिलाउन आयोगसंग बजेट नभएको बताउदै उहाँले सरकारी तहले उपचार व्यवस्था नमिलाए आयोगले उद्धार गर्न नसक्ने बताउनुभयो । हीरालालकी आमा सुकुमाया थिङले उपचार गर्न आर्थिक स्थितिले नभ्याउदा थुनेर राख्नुपरेको गुनासो गरेको अधिकृत मिश्रको भनाइ छ ।
केही समय अघि नियुक्त भएका सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्र भन्नुहुन्छ, 'यो विषयमा तपाईंबाटै जानकारी पाए,जिम्मेवारी पालिकाको हो पालिकासंग समन्वय गर्छौं र केही सहयोगको आवश्यकता भए मन्त्रालयले पहल गर्ने छ।'
परिवारले सदस्यले उपचारको लागि लान सहयोग नगरेको कारण पालिकालाई समस्या भएको मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामिले जानकारी दिनुभयो । परिवार हुँदाहुँदै पालिकाले मात्र जिम्मा लिएर जादा भोलि समस्यासिर्जना हुने होकि भन्ने कुरामा पालिका अन्यौलमा परेको उहाँले बताउनुभयो । परिवारले सहयोग नगरेको अवस्थामा पनि पालिकाले के गर्न सक्छ सामाजिक विकास मन्त्रालयसंग छलफल गरि पालिकाको जिम्मेवारी र कर्तव्य पूरा गर्ने उपाध्यक्ष पुलामिको भनाइ छ।
हीरालालको मानसिक अवस्था ठीक नभएको र सामान्य उपचार गर्दा ठीक नभएकाले परिवारले घरनजिक ब्लकले बनाएको सानो खोरमा थुनेर राखेका छन् । जन्मजात हातखुट्टा चलाउन नसक्ने हीरालालको उपचारपछि हातखुट्टा चल्ने भयो । तर, मानसिक अस्वस्थ्यता भने ठीक हुन सकेन । मानसिकरुपमा अस्वस्थ्य भएका कारण उनले शरीरमा कपडा लगाउन नमान्ने र गाउँमा उच्छृंखल कार्य गर्दै हिड्ने गर्दा सामाजिक समस्या भएकाले कोठामा थुनेर राख्न बाध्य भएको हीरालालका बुबा भीमबहादुरको गुनासो छ । मानसिक रोगी भएका कारण बत्तीसमेत नभएको सानो कोठामा हीरालाल कष्टपूर्ण जीवन बिताइरहेका छन् ।
वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई मानसिक स्वास्थ्य समस्या न्यूनीकरण गर्न प्रदेशका १३ वटै जिल्लामा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि १ करोड ७३ लाख विनियोजन गरिएको छ । मानसिक स्वास्थ्यका लागि बजेट विनियोजन भए पनि हीरालाल जस्ता युवाको उपचार गर्न परिवारको आर्थिक जोहो नहुँदा उपचारका लागि सम्बन्धित निकायले चासो नदिएको बुझ्न गाह्रो पर्दैन । मनहरी गाउँपालिका बागमती प्रदेशको राजधानी हेटौंडासंग जोडिएको र पालिकाका ९ मध्ये ४ वटा वडा राजमार्गसंग जोडिएका छन् ।
विपन्न बिरामीका लागि एम्बुलेन्स सेवामा ५० प्रतिशत् छुट, निःशुल्क औषधिलगायत कार्यहरु निरन्तर गरिएको पालिकाको दाबी छ । पहेंलो कार्डवाला आंशिक अपांगता भएका व्यक्तिहरुलाई निर्वाहभत्ता, अपांगता भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम तथा पूर्णअशक्त अपांगहरुलाई व्यक्तिगत् सहयोगी कार्यक्रम निरन्तर सञ्चालन गरिएको मनहरी गाउँपालिका गाउँसभाको १५ औं अधिवेशनमा अध्यक्ष रञ्जन कालाखेतीबाट प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । उक्त नीति तथा कार्यक्रममा पालिकाले आफूलाई ‘समृद्ध मनहरी’ घोषणा गरेको छ । तर, पालिका समृद्ध हुन पूरा गर्नुपर्ने हीरालाल जस्ताको जिम्मेवारीप्रति भने पालिका मौन देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच