याङवरकलाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

हिमालय टाइम्स
Read Time = 5 mins

-जितेन्द्र भण्डारी

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिकामा प्रदेश न. १ कै पहिलो गाउँपालिका बनेको छ । शनिबार नाँगी स्थित गणेश माविमा आयोजित कार्यक्रमका वीच पालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

कोभिड-१९ विरुद्धको पूर्ण खोप गाउँपालिका सुनिश्चित गर्ने कार्यविधि बमोजिमका सम्पूर्ण प्रक्रियाहरु पूरा गरी पाँचथर जिल्ला याङवरक गाउँपालिकालाई १८ वर्ष माथिका ९६ प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्धको पूर्ण खोप पाएको सुनिश्चत गरिएको हुँदा पालिकालाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितीको सचिवालयले गाउँपालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको प्रमाणपत्र प्रदान गरिएको हो ।समितिका अध्यक्ष तथा जिसस प्रमुख रामराज आङेदेम्बे, तथा समितीका सचिव,स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेज बहादुर तुम्बोद्धारा पालिकालाई प्रदान गरेको प्रमाणपत्र पालिका अध्यक्ष सुवास योङया, उपाध्यक्ष बाबा मेन्याङबो,प्रमुख प्रशासकिय अधिकृत सुमन लिङदेन लगायतले ग्रहण गर्नुभएको थियो ।

१८ वर्षभन्दा माथि उमेर समूहका गाउँपालिकाको लक्ष्य १० हजार २४० रहेकोमा अहिले सम्म ९ हजार ८७५ जनाले पूर्ण रुपमा खोप लगाइ सकेको जस अनुरुप ९६ प्रतिशत नागरिकले खोप लगाएको हुँदा पालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको पालिका अध्यक्ष सुवास योङयाले बताउनुभयो ।

पालिकामा जम्मा ३ हजार ७३३ घरधुरी, १६ हजार ८८३ जनसंख्या रहेको, १८ वर्ष भन्दा माथिका नागरिक ११ हजार ८४७ जना रहेको, १८ वर्ष भन्दा माथि खोप नलगाउनेको संख्या १९१, गाउँपालिका बाहिर रहेको १८ वर्ष माथिको संख्या १ हजार ६०७ रहेको तथ्याङक गाउँपालिकाले सार्वजनिक गरेको छ ।

कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित गर्न १० वटा चरणमा काम गरिएको जसअन्र्तगत सुरुवातमा समिक्षा गर्दे,कार्ययोजनाको लक्ष्य निर्धारण,घरधुरी सर्वेक्षण स्वास्थ्य स्वय सेविकाबाट, खोप अभियान संचालन, पुन स्वास्थ्यकर्मीबाट सर्वेक्षण गर्न पठाइएको, १८ वर्ष भन्दा माथिका ब्यक्तिले पूर्ण खोप लगाएका घरमा स्टीकर टाँसिएको, स्वास्थ्यकर्मीहरु बाट सर्वेक्षणलाई पुन एकीृकत गरी वडास्तर तथा पालिका स्तर बाट पूर्ण खोप सुनिश्चित गरिएको जिल्ला खोप समन्वय समितीमा अनुमति मागेर अनुमति प्राप्त गरी गाउँपालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोप गाउँपालिका सुनिश्चित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन लिङदेनले बताउनुभयो ।

कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष सुवास योङयाले पालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोप गाउँपालिका सुनिश्चत गर्न अहोरात्र खट्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, कर्मचारीलगायत सम्पूर्ण याङवरक वासीलाई धन्यवाद दिनुभएको छ ।

कार्यक्रममा वोल्दै वक्ताहरुले प्रदेश न. १ कै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप गाउँपालिका सुनिश्चत हुन सफल भएकोमा याङवरक गाउँपालिकाई वधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?