झापा । केही सातायता देशभर डेंगु र हैजाका संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । पछिल्लो चार दिनमा डेंगु संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको देखिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनमा ७१९ जना संक्रमित थपिएका छन् ।
महाशाखाले सार्वजनिक गरेको यो तथ्यांक स्वास्थ्य संस्थामा आइपुगेका संक्रमितको विवरण मात्र हो । डेंगु संक्रमण भएर स्वास्थ्य संस्थामा नआइपुगेकाको संख्या पनि धेरै हुनसक्ने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार चार दिनमा थपिएका ७१९ जनासहित नेपालमा जनवरीदेखि हालसम्म तीन हजार ८४ जनामा डेंगु संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये एक जनाको मृत्यु भएको छ ।
डेंगुको संक्रमण ७३ जिल्लामा फैलिएको छ । जसमध्ये सबैभन्दा बढी तनहुँमा देखिएको छ । महाशाखाको तथ्यांकअनुसार पाँच सयभन्दा बढी संक्रमित देखिएको एक मात्र जिल्ला तनहुँ हो । तनहुँमा ५८३ लाई डेंगु भएको छ । तनहुँमा चार दिनमा निकै बढेको हो । चार दिनअघि जम्मा ११० जनामा डेंगु थियो ।
त्यसैगरी, काठमाडौं ३०७, कास्की १६६, झापा १३५, चितवन १३०, मकवानपुर ८४, भोजपुर ७५, गोरखा ७२, काभ्रेपलाञ्चोक ७१ र पाल्पामा ७१ जनामा डेंगु देखिएको छ ।
यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आंकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्नसक्ने र डेंगु रोगको संक्रमण थप बढ्न सक्ने अनुमानसमेत गरिएको छ ।
झापामा शिक्षिकाको मृत्यु
डेंगी संक्रमणका कारण झापामा शिक्षिकाको मृत्यु भएको छ । चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालय हल्दिबारीमा कार्यरत शिक्षिका अनिता पौडेलको उपचारका क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
४० वर्षीया अनिताको घर हल्दिबारी गाउँपालिका–४ हो । सामान्य ज्वरो आएकी अनितालाई प्रादेशिक अस्पताल भद्रपुर, ओमसाई अस्पताल भद्रपुर हुँदै डेंगु संक्रमण पुष्टि भएपछि थप उपचारका लागि बिएण्डसी लगिएको थियो ।
अस्पतालमा अनितालाई अन्य स्वास्थ्य समस्या पनि थपिएको थियो । बिएण्डसी अस्पतालले अनिताको मृत्यु डेंगीबाट भएको जनाएको छ । डेंगु संक्रमणबाट झापामा यस वर्ष पहिलोपटक अनिताको मृत्यु भएको हो । गत वर्ष डेंगु संक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । अहिले सो अस्पतालमा ६ जना बिरामी उपचाररत छन् ।
पाँच जिल्लामा फैलियो हैजा
देशभर ४७ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले दिएको पछिल्लो जानकारीअनुसार नेपालमा हैजा संक्रमितको संख्या ४७ पुगेको हो । इडिसिडीका अनुसार ललितपुरमा हैजाका सबैभन्दा बढी संक्रमित फेला परेका छन् । ललितपुरमा ३४ र कैलालीमा आठ जनामा हैजा पुष्टि भएको छ ।
यसैगरी, काठमाडौंमा दुई तथा प्युठानमा दुई जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रुपन्देहीमा पनि एक जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हैजा रोकथामका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । यसका लागि मन्त्रालयले समन्वय गरिरहेको उहाँको भनाइ छ ।
बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच