काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ मा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताउनुभएको छ । मंगलबार सुरु भएको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने प्रष्ट पार्नुभएको छ । ‘नेकपा एमाले ०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन । एक्लै लड्छ । बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले गरेको ब्रिफिङ उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भन्नुभयो, ‘त्यसका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्छ ।’
अध्यक्ष ओलीले मिसन ०८४ को तयारी गर्न पनि नेताहरूलाई निर्देशन दिनुभएको छ । त्यसका लागि पार्टीका राजनीतिक सांगठानिक कामलाई चुस्त दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने ओलीको भनाइ थियो । ‘संगठनहरू चुस्त दुरुस्त हुनुपर्यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन’, ओलीले भन्नुभयोे, ‘ग्राउण्डमा योजना बनाएर अघि बढ्नुपर्यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्यो ।’
‘तोकिएको समय सीमाभित्रै कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण हुन्छ’
अध्यक्ष ओलीले नयाँ समीकरण निर्माणका क्रममा भएको सातबुँदे सहमतिअनुसार कांग्रेसलाई तोकिएकै समय सीमाभित्र सरकारको नेतृत्व हस्तान्तरण गर्ने पनि बताउनुभयो । एमालेले नेतृत्व गरिरहेको कांग्रेससहितको अहिलेको सरकारले जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै अघि बढिरहेको बताउँदै उहाँले तोकिएकै समय सीमामा सरकारको नेतृत्व हस्तान्तरण गर्ने बैठकलाई जानकारी गराउनुभयो । कांग्रेस-एमालेबीच ०८४ सालसम्म आलोपालो सरकारको नेतृत्व गर्ने सातबुँदे सहमतिमा साढे दुई वर्ष ओली र बाँकी अवधि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ । ‘एमालेले नेतृत्व गरिरहेको अहिलेको सरकारले जनतामा उत्साह पैदा गरेको छ, अर्थतन्त्र क्रमशः लयमा फर्किँदै छ । सरकार सफल दिशामा अघि बढ्छ’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयोे, ‘सातबुँदे सहमतिअनुसार कांग्रेसलाई तोकिएको समय सीमाभित्रै सरकारको नेतृत्व हस्तान्तरण गरेर ०८४ सम्म मिलेर राजनीतिक स्थिरताको सन्देश दिन्छौँ ।’
‘देशमा अराजकता मच्चाउने कोसिस भइरहेको छ’
अध्यक्ष ओलीले देशमा अराजकता मच्चाउने कोसिस भइरहेको बताउनुभएको छ । त्यस्ता प्रयासलाई रोक्न सरकार सक्षम रहेको पनि उहाँले उल्लेख गर्नुभयो । पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले देशमा अराजकता मच्चाउन भइरहेका प्रयासलाई सरकारले ट्र्याकल गर्ने बताउनुभएको हो । ‘सरकारविरुद्ध आन्दोलन गर्ने र अराजकता मच्चाउने कोसिस भइरहेको छ । सबैको ट्र्याकल गर्न हामी सक्षम छौँ,’ उहाँको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भन्नुभयो । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो राजनीतिक भूमिकाबारे पार्टी बैठकमा ब्रिफिङ गर्नुभएको छ । उहाँले प्रचण्डको भूमिका सही नभएको टिप्पणी गर्नुभएको हो । ‘सत्ताबाट हटेपछि प्रचण्डको काम असन्तुष्ट मान्छे उचाल्ने, परिस्थित भड्काउने देखिएको छ’, ओलीको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भन्नुभयो । नयाँ सरकार बनेपछि देशमा सुधारका सकारात्मक संकेत देखिएको ओलीले बैठकमा दाबी गर्नुभएको छ । ‘आर्थिक र लगानीको क्षेत्रमा केही सकारात्मक संकेत देखिएका छन् । आर्थिक विकासमार्फत नै मुलुक समृद्ध हुने हो । आर्थिक विकास भएमा अराजक क्रियाकलाप आफैँ रोकिएर जान्छन्,’ उहाँले भन्नुभयो ।
पार्टीको वार्षिक कार्ययोजना पेस
बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना पेस गर्नुभएको थियो । उक्त कार्ययोजनामाथि बुधबारको बैठकमा छलफल गरेर निर्णय गर्ने एमालेको तयारी छ । बैठकमा सरकारका काम कारबाहीबारे पनि ओलीले धारणा राख्नुभएको थियो । ‘सरकार अहिले राम्ररी चलिरहेको छ । उद्देश्यअनुसार जनताका काम गरिरहेको छ’, ओलीले बैठकमा भन्नुभएको छ, ‘जनतालाई केन्द्रबिन्दुमा राखेर सरकार र पार्टी दुवैले काम गर्नुपर्छ ।’
एमाले प्रचार विभाग प्रमुख गौतमले प्रस्तुत कार्ययोजनामामाथि बुधबारको पोलिटब्युरो बैठकमा छलफल गरेर नेताहरूलाई जिम्मेवारीसहित देशैभर परिचालन गर्ने तयारी भएको बताउनुभयो । प्रस्तावित कार्ययोजनामा सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरोकारका विषय पहिचानका बुँदा मुख्य रहेका छन् । एमालेले आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको छ । सोहीअनुसार पार्टी नेताहरूलाई जनताको घरघरमा पुग्नेगरी संगठन परिचालन गर्ने र उनीहरूका अपेक्षा बुझेर समस्या समाधान गर्ने पहल गर्ने बताउँदै आएको छ । त्यसका लागि पार्टीले देशभर वैचारिक कक्षा सञ्चालन गर्ने जनाएको छ । यसअघि एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय तहका नेताहरूको कार्यविभाजन गरेको थियो । जसअन्तर्गत केन्द्रीय कमिटी सदस्यहरूलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्र, प्रदेश कमिटीका नेताहरूलाई पालिका र पालिकाका नेतालाई वडाको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच