काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती आज देशभर मनाइँदै छ । बिपीले स्थापना गरेको पार्टी नेपाली कांग्रेसले पनि देशभर विभिन्न कार्यक्रम गरेर बिपीलाई स्मरण गर्दै छ । कांग्रेसका लागि बिपी सबथोक हुनुहुन्छ तर कांग्रेसले जन्मजयन्ती र मेलमिलाप दिवस र स्मृति दिवसमा मात्रै बिपीलाई सम्झन्छ । बिपीबारे चर्चा गर्दछ र महिमा गाउँछ । अरू दिन कोही पनि कांग्रेस बिपीप्रति इमानदार रहदैन । बिपीलाई अनुशरण गर्न चाहँदैन ।
बिपी भन्नुहुन्थ्यो, ‘मानिस ठूलो होइन असल बन्नुपर्छ ।’ बिपीका अनुयायीका लागि यो वाक्य होइन, दर्शन हो । अझ बिपीका अनुयायी हौँ भन्ने कांग्रेसजनले यो दर्शनलाई व्यवहारमा लागू गर्न सक्नुपथ्र्यो । कांग्रेसको संगठन, संरचना र व्यवहारमा बिपी देखिन छाडेको वर्षौं बितिसकेको छ । यद्यपि, कांग्रेसले पार्टी कार्यालयमा बिपीको सालिक राखेको छ । बिपीको नाममा भवन बनाएको छ अनि नेताहरूले कार्यालयदेखि घरसम्म भित्तामा बिपीको तस्विर झुण्ड्याएका छन् । बिपीले भनेझैँ असल बन्न कुनै कांग्रेस नेता र पार्टीका सदस्यहरूको प्रयत्न छैन । सबैजना ठूलो र शक्तिशाली बन्न प्रयत्न गरिरहेका छन् । यही प्रयत्नले कांग्रेसलाई ‘शक्तिको बलमा शक्ति आर्जन गर्नेहरूको’ समूहमा परिणत गराइसकेको छ ।
कांग्रेसले बिपीबाट प्राप्त ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’लाई आज पनि आफ्नो मार्गदर्शनका रूपमा उल्लेख गरेको छ । यद्यपि, बिपीको तस्विरमाथि आकर्षक अक्षरमा लेखिने यो वाक्यले आजको कांग्रेसको प्रतिनिधित्व गर्दैन । प्रजातन्त्रको सवालमा आवधिक निर्वाचनलाई मात्रै प्रजातन्त्र मान्ने भ्रमबाट कांग्रेसीहरू गुज्रिएका छन् । त्यसमा सकेसम्म आवधिक निर्वाचनलाई विभिन्न बहानामा लम्ब्याउने प्रयत्न कांग्रेस नेतृत्वको हुने गरेको छ । विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा हुँदा होस् वा सुशील कोइराला नेतृत्वमा हुँदा विधानले भनेको चार वर्षे कार्य अवधिमा कसैले नेतृत्व हस्तान्तरण गरेनन् । वर्तमान सभापति शेरबहादुर देउवाले पनि आफ्नो पहिलो कार्यकाल साढे पाँच वर्षपछि संवैधानिक बाध्यताका कारणले मात्रै टुंग्याउनुभयो । अहिले पनि कांग्रेसमा आवधिक अधिवेशन विधानले तोकेको चार वर्षे अवधिमै हुनुपर्ने बहस जारी छ । यद्यपि, कांग्रेस नेतृत्व अब पनि चार वर्षे सीमापार गरेर साढे पाँच वर्ष घर्किने बेलामा आवधिक निर्वाचन गरेर ‘लोकतान्त्रिक चरित्र’ जोगाउनेतर्फ अग्रसर छ ।
राष्ट्रियताका सन्दर्भमा कांग्रेसको ‘प्रष्टता’ पनि अस्पष्ट छ । छिमेकमा रहेका मित्रराष्ट्रहरू सँगको हार्दिक र सौहार्दपूर्ण सम्बन्धका जगमा लाभ लिने कांग्रेसको परराष्ट्रनीतिले यदाकदा ‘राष्ट्रियता’को सन्दर्भमा उठेका सवालहरूको यथोचित जवाफ दिँदैन । शक्ति राष्ट्रहरूले अघि सारेका रणनीतिक महत्वका सबैजसो आयोजनामा सहभागी हुन नेपाल तयार छ । त्यसमा कांग्रेसको पनि समर्थन छ । अमेरिकाको एमसिसी, चीनको बिआरआई वा भारतको ‘सबका साथ सबका विकास’ सबैमा कांग्रेसको समर्थन छ । त्यस्तो समर्थनको वस्तुनिष्ठ व्याख्या, औचित्यको पुष्ट्याई वा राष्ट्रियता सम्द्र्धनमा ती संलग्नताबाट मिल्ने लाभको फेहरिस्त कांग्रेसले जनतालाई बुझाउन सकेको छैन ।
समाजवाद बिपीका लागि प्रिय थियो । प्रजातान्त्रिक समाजवादको नेपाली व्याख्यामार्फत बिपीले सबै नेपालीको सुखलाई सुनिश्चित गर्न खोज्नुभएको थियो । आजको कांग्रेस भने समाजवादी नीति नै बदल्नुपर्नेबारे बहस गरिरहेको छ । हालै कांग्रेस केन्द्रीय समितिमा समाजवादको सट्टा उदारवादमा जानुपर्ने बहस भएको थियो । कांग्रेसले पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि समाजवादी कार्यक्रमहरू लागू गराउन सकेन । शिक्षा र स्वास्थ्यलाई पूर्ण निःशुल्क गर्दै सबै जनतालाई आधारभूत सेवा निःशुल्क उपलब्ध गराउने दायित्व बिपीले कांग्रेसको काँधमा छाडिदिनुभयो । तर, आज कांग्रेसले ‘सबै थोकको नीजिकरण’ को नीति अंगालेको छ । कांग्रेसभित्र समाजवादीहरू किनारामा पारिएका छन् भने पुँजी जुटाउन र बाँड्न सक्नेहरूले अवसरमा राज गरिरहेका छन् ।
बिपी भन्नुहुन्थ्यो, ‘प्रजातन्त्र आएपछि पार्टीभित्र सुकिलामुकिला हाबी हुन्छन्, इमानदार पार्टी सदस्यले पार्टी बचाउन विद्रोह गर्नुपर्छ ।’ कांग्रेसका लागि विद्रोह धेरै परको विषय हो । सामान्य आलोचना पनि सहन नसक्नेहरू कांग्रेसको नेतृत्व र पदाधिकारी बनेका छन् ।
उनीहरूको संरक्षणमा पार्टीभित्र हुर्किएका छन् सुकिलामुकिलाहरू । बिपीकै भनाइमा कमिसनको कमाइमा उभिएका ‘भुइँफुट्टा’हरूले कांग्रेसको नीति र नेतृत्व कब्जा गरेका छन् । प्रजातन्त्रका लागि लडेका, राजनीतिक आन्दोलनमा योगदान भएका वा क्षमताका आधारमा अगाडि बढेकाहरूलाई कांग्रेसमा न्यून अवसर छ । ‘गाँठ र आँट’ भएकाहरूको प्रभावमा कांग्रेस आज ‘भुइफुट्टाहरूको क्लब’ जस्तो बन्न पुगेको छ । पार्टीमा पददेखि अवसरसम्म सबै कुरा पैसाले किन्न सकिन्छ, पैसा नहुनेले राजनीति गर्न सक्दैन, टिकट दिने नै पैसावाललाई हो भन्ने भाष्य कांग्रेसमा स्थापित भइसकेको छ । यसो हुनुमा प्रजातन्त्र पुनःस्थापना यता कांग्रेसका लागि अवसर पाउने सबैजसो नेताहरू जिम्मेवार छन् । एकातिर कांग्रेसभित्र सुकिलामुकिला हावी हुने र इमानदारहरू पाखा पर्ने परिस्थिति बनेको छ भने अर्कोतिर विद्रोहको हिम्मत गर्ने कोही छैनन । विद्रोहको बाटोभन्दा ‘भागशान्तिको उपाय’ कांग्रेस नेताहरूले कार्यान्वयन गरिरहेका छन् । जसले गर्दा कांग्रेसमा न्यायोचित अवसरभन्दा गुटगत भागबण्डा र मोलमोलाईले प्राथमिकता पाएको छ ।
बिपीले भनेझैँ न कांग्रेस रहृयो न कांग्रेसका नेता रहे । हुँदा हुँदा कांग्रेसमा बिपीले भनेजस्ता पार्टी सदस्यहरूको पनि अभाव खट्कन थालेको छ । त्यसो त बिपीले २०१५ सालमै कांग्रेसजनका ७ खराबीबारे नेपालपुकारमा लेख्नुभएको थियो । बिपीले आँैल्याएका कुनै पनि खराबी कांग्रेसजनले सुधारेका छैनन् । बरु त्यसमा थपथाप भएको छ । कांग्रेसका नेताहरूमा आफू अर्कै तहको र सोझा इमानदार पार्टी सदस्यहरू अर्कै तहको हुन् भन्ने सोचाइ आज पनि कायमै छ । बिपीले सातौँ खराबीमा उल्लेख गरेको नैतिकताको सवाल आज कांग्रेसका लागि प्राथमिक सवाल हो । आज पनि कांग्रेसले व्यक्ति हत्यामा मुद्दा खेपिरहेकालाई सांसद र मन्त्री बनाएको छ । अदालतले ठहर गरेका ‘भ्रष्टाचारी’हरूको सालिक बनाएको छ । बारम्बार कालोसूचीमा परेका ठेकेदारहरू कांग्रेस मात्रै होइन शासकीय जिम्मेवारीमै पुगेका छन् ।
आज पनि कांग्रेस नेतृत्व आफू र आफ्ना परिवारको ‘व्यवस्थापन’लाई मुख्य मानेर इमानदार कार्यकर्तामाथि अन्याय गरिरहेछ । नैतिकताका यस्ता सयौँ सवाल कांग्रेससामु तेर्सिएका छन् । यद्यपि, सत्ताको उन्माद र वैचारिक राजनीतिको अवसानका कारण कोही पनि कांग्रेसजन प्रश्न सुन्न तयार छैनन । पुराना पुस्ताका हुन् वा नयाँ पुस्ताका, कोही पनि आलोचना सुन्न तयार छैन । धैर्यतापूर्वक प्रश्नहरूको सामना गर्न तयार छैन । बिपीको जप गर्ने तर बिपी विचारको वध गर्नेबाहेक अरू काममा ध्यान नभएकाहरू कांग्रेसम भेट्न मुस्किल भइसकेको छ । विचार र संगठन दुवै दिएर बिपीले कांग्रेसलाई गुण त लगाउनुभयो तर बिपी बिर्सेर कांग्रेस आज बैगुनी बन्न पुगेको छ । असल हुने, इमानदार हुने र संघर्ष गर्ने खुबी कांग्रेसबाट ह्रास हुँदै गइरहेको छ । वर्षमा २-४ दिन तिथि वा दिवसका रूपमा बिपी सम्झाइएका मात्रै छन्, यथार्थमा कांग्रेसजनले बिपी बिर्सिसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच