
काठमाडौं । श्रीलंकन एयरलाइन्सको गम्भीर लापरबाहीका कारण नेपाली भलिबल खेलाडीसहित सयौँ यात्रुले सास्ती व्यहोर्नुपरेको छ । एयरलाइन्सको लापरबाहीका कारण काठमाडौं-कोलोम्बो उडानका क्रममा सयौँ यात्रुले सास्ती व्यहोर्नुपरेको हो । गत बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंदेखि कोलम्बो उडेको एयरलाइन्सको युएल १८२ कलसाइन जहाजका यात्रुले अचाक्ली सास्ती भोग्नुपरेको गुनासो गरेका छन् । एयरलाइन्सको लापरबाहीका कारण काठमाडौंदेखि कोलम्बो पुगुञ्जेलसम्म असाध्यै सास्ती व्यहोर्नुपरेको यात्रुहरूले बताएका हुन् । एयरलाइन्सको जहाजमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू-२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली खेलाडीसहित सयौँ यात्रु सवार थिए ।
निर्धारित समयानुसार बुधबार दिउँसो १ः२० बजे विमानस्थलबाट उड्नुपर्ने एयरलाइन्सको जहाज झण्डै ६ घण्डा ढिलो गरी उडेको थियो । प्राविधिक कारण देखाउँदै यात्रुलाई विमानस्थलमा ६ घण्टा कुराएको जहाज साँझ ६ बजे मात्रै उडेको थियो । त्यसअघि जहाजलाई मर्मतका लागि भारतको लखनउ पठाइएको थियो । अन्तर्राष्ट्रिय नियमानुसार कुनै पनि फ्लाइट तीन घण्टाभन्दा बढी ढिलो भएको अवस्थामा एयरलाइन्सले नै खान/बस्ने व्यवस्था गर्नुपर्ने हुन्छ । तर, विमानस्थलमा यात्रुलाई ६ घण्टासम्म अपलत्र अवस्थामा छाडेको थियो । यात्रुहरूले आफ्नै खर्चमा खाना खाएका थिए । यात्रुहरूले नियमानुसार पाउनुपर्ने सुविधा मागे पनि एयरलाइन्सले बेवास्ता गरेको वरिष्ठ सञ्चारकर्मी दिरेकलाल श्रेष्ठले हिमालय टाइम्सलाई बताउनुभयो ।
उहाँका अनुसार विमानस्थलमा घण्टौँ कुर्न बाध्य बनाएको एयरलाइन्स अन्ततः उडे पनि यात्रुका लगेज भने नेपालमै छोडिएका थिए । एयरलाइन्सले नियतवश नै यात्रुहरूको लगेज नेपालमै छोडेको देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार लगेज नेपालमै छोडिएको कुरा यात्रुले कोलम्बो पुगेपछि मात्रै जानकारी पाएका थिए ।
लगेज नेपालमै छुटेपछि अत्यावश्यकीय औषधीलगायत सामग्री बोकेका यात्रुको विचल्ली भएको थियो । यात्रुलाई जानकारी नदिएर अत्यावश्यकीय सामग्री निकाल्न नदिनु एयरलाइन्सको सबैभन्दा ठूलो गल्ती हो । अझै कोलम्बो ट्रान्जिट भएर जाने यात्रुहरूको त बिल्लीबाठ नै भएको छ । नेपालबाट श्रीलंका नियमित उडान हुँदैन । सातामा दुई दिन मात्रै उडान हुने भएकाले केही यात्रु नेपाल फर्कने बेला सामान कोलम्बो पुग्ने अवस्था बनेको छ । श्रीलंकन एयरलाइन्सको अर्को फ्लाइट अब अक्टोबर ६ अर्थात् आइतबार मात्र छ । एयरलाइन्सले उक्त फ्लाइटमा मात्र सामान कोलम्बो पठाउन सक्ने जनाएको छ ।
अत्यावश्यकीय सामानहरू नेपालमै छुटेपछि (काभा) पुरुष यू-२० च्याम्पियनसिपमा सहभागिता जनाउन कोलम्बो पुगेका नेपाली खेलाडीहरूसमेत अलमलमा परेका छन् । उनीहरूका जर्सी र खेलका सबै सामग्रीहरू छुटेपछि खेल्नसमेत समस्या हुने देखिएको हो । टिमको प्रशिक्षक रमेश केसीका अनुसार टोलीलाई अहिले नियमित अभ्यासमा समस्या भएको छ । च्याम्पियनसिप अक्टोबर ६ बाट नै सुरु हुँदै छ । भारतबाट कोलम्बो नियमित उडान भइरहेको भन्दै अन्य एयरलाइन्ससँग समन्वय गरेर सामान पठाइदिन यात्रुहरूले आग्रह गरेका छन् । तर, एयरलाइन्सले भने यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । श्रीलंकन एयरलाइन्सको नेपालस्थित कार्यालयका कर्मचारी यसबारे कोलम्बोबाट कुनै जानकारी नआएको भन्दै पन्छिने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच