काठमाडौं । नेकपा एमालेले पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेता भीम रावलसहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताउनुभयो । उहाँका अनुसार केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय भएको हो । ‘उहाँहरूले के कति कारणले त्यस्तो बोल्नुभएको हो ? स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ बैठकपछि उहाँले भन्नुभयो । व्यवसायी मीनबहादुर गुरुङबाट १४ रोपनी १४ आना जग्गासहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रूपमै असन्तुष्टि जनाउनुभएको थियो । पूर्व-उपाध्यक्ष रावललाई भने पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले कार्यालय बनाउने निर्णयसमेत अनुमोदन गरेको छ । सचिवालय बैठकले जग्गा लिने र घर बनाउने विषय अनुमोदन गर्ने निर्णय गरेको हो ।
असोज २५ गते कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमाले केन्द्रीय कार्यालयको शिलान्यास गर्नुभएको थियो । भवन निर्माणका लागि आवश्यक जग्गा र भवन बनाउँदा लाग्ने खर्चसमेत व्यवसायी मीनबहादुर गुरुङले नै व्यहोर्ने बताइएको छ । व्यवसायी मीनबहादुर गुरुङले आगामी वर्षको दशैँको घटस्थापनाको दिन भवनको निर्माण सम्पन्न गरेर उद्घाटन हुने बताउनुभएको थियो ।
एमाले अध्यक्ष ओली र व्यवसायी गुरुङको दम्पतिद्वयले संयुक्त रूपमा शिलान्यास गरेको भवनको विषय निकै विवादित बन्दै आएको छ । ललिता निवासको जग्गा हिनामिनामा मुछिएका व्यवसायी गुरुङको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा एमालेको केन्द्रीय कार्यालय निर्माणको लागि उहाँले एक अर्ब बराबरको सहयोग गर्ने विषय ‘कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ रहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । पार्टी कार्यालय निर्माणमा अर्ब बराबरको सहयोग कुनै एक विवादित व्यवसायीबाट लिएको विषयमा एमाले पार्टीभित्रै पनि असन्तुष्टि छ । स्थायी समिति सदस्य बिन्दा पाण्डेले गुरुङले दान दिएको जग्गामा पार्टी केन्द्रीय कार्यालय बनाउने निर्णय साँढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम भएको टिप्पणी गर्नुभएको थियो । पार्टी कार्यालय भवन बनाउन एक वर्षदेखि संगठित सदस्यसँग सय रुपैयाँ लेबी उठाइरहेको एमालेले एकाएक व्यवसायीसँग १० रोपनी १४ आना बराबरको जग्गा दान स्वीकारेपछि पदाधिकारी तहकै नेताहरूले असन्तुष्टि जनाएका थिए । कतिसम्म भने अधिकांश नेताले जग्गा दान दिने व्यक्तिबारे शिलान्यास गर्न मित्रनगर पुगेपछि मात्रै थाहा पाएका थिए ।
त्यसबाहेक कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कार्यालय पार्टी सदस्यहरूको सदस्यहरूले मिलेर बनाउनुपर्ने धारणा सार्वजनिक गर्नुभएको थियो । विसं २०७२ मा आएको भूकम्पबाट काठमाडौं महानगरपालिका–१४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि एमाले स्थायी कार्यालयविहीन भएको थियो । त्यस बीचमा भाडामा धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रूपमा प्रयोग गर्दै आएको छ । च्यासलस्थित कार्यालयमा सामान्य वर्षामा पनि डुबानमा पर्ने गरेको छ ।
जग्गा दान लिनु अनुचित होइन : पोखरेल
एमालेले पार्टी कार्यालय निर्माणका लागि व्यवसायी गुरुङले दान दिएको कीर्तिपुरको जग्गा स्वीकार गर्नु अवाञ्छित र अनुचित नभएको दाबी गरेको छ । आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठक जग्गा स्वीकार गर्नु अवाञ्छित र अनुचित नभएको निर्णय गरेको महासचिव शंकर पोखरेलले बताउनुभयो । महासचिव पोखरेलले एमालेलाई दान दिएको जग्गा र व्यवसायी गुरुङबीच कुनै स्वार्थ बाझिने कारणसमेत नभएको बताउनुभयो । ‘राज्यले मात्र होइन अन्तर्राष्ट्रिय समुदायले समेत विपत्तिमा भएको क्षतिलाई पूर्ति गर्ने काम गरिरहँदा एकजना व्यवसायीले म नेकपा एमालेले व्यहोरेको क्षतिका सन्दर्भमा गम्भीर छु र सहयोग गर्न चाहन्छु भन्ने कुरालाई मानवीयताका हिसाबले पनि लिनुपर्छ भन्ने लाग्दछ,’ उहाँले भन्नुभयो । महाविपत्तिका बेला भएको क्षतिमा सहयोग प्राप्त गर्ने हक हरेकको हुने भन्दै त्यो हक नेकपा एमालेको पनि छ भन्ने कुरा बुझ्नुपर्ने बताउनुभयो ।
एक्लै भए पनि सत्यको पक्षमा उभिनुपर्छ : उषाकिरण
एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एक्लै भए पनि सत्यको पक्षमा उभिनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालय निर्माण गर्न व्यापारीले जग्गा दान गरेको विषयमा आलोचना गरेको भन्दै पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उहाँले यस्तो बताउनुभएको हो । गौतम बुद्धको भनाइ कोट गर्दै उहाँले आइतबार साँझ सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘एक्लै भए पनि सत्यको पक्षमा उभिनुपर्छ ।’ उहाँले पार्टी कार्यालय भवन निर्माणमा व्यापारीको सहयोग लिनु गम्भीर गल्ती भएको भन्दै सामाजिक सञ्जालमा लेख्नुका साथै अन्तर्वार्तासमेत दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच