राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय समुदाय सामु हिमालको सुरक्षा नै पृथ्वीको सुरक्षा हो भन्ने धारणा राख्नुभएको छ । अजरबैजानको वाकुमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप-२९) मा उहाँले अन्य सहभागी राष्ट्रहरू समक्ष आफ्नो यस्तो विचार प्रस्तुत गर्नुभएको हो । पछिल्लो समयमा जलवायु परिवर्तनको असर जीव तथा वनस्पतिहरूमा पर्दै आएको छ । यसका साथै अन्य प्राकृतिक क्षेत्र र सम्पूर्ण प्राणीमा यसको गहिरो असर स्पष्ट छ । जल स्रोतका महत्वपूर्ण क्षेत्र हिमाल परिवर्तनबाट अछूत रहने कुनै सम्भावना छैन र रहेको छैन पनि । हिमाल नांगिँदै जानु, हिम पहिरो अनायास बग्नु जलवायु परिवर्तनको गम्भीर प्रभावका संकेत हुन् । विश्वका सबै महादेशहरूमा हिमालविहीन छैनन् । दक्षिणी गोलार्धका महादेशमा पनि हिमाल छन् र युरोप र अमेरिकामा पनि हिमालहरू रहेका छन् ।
तर, ती ठाउँहरूका हिमाल एशियाका हिमालहरू जति अग्ला छैनन् । सबैभन्दा अग्ला हिमाल एशियामै छन् र तीमध्ये अधिकांश नेपालमै छन् । यस अर्थमा जलवायु परिवर्तनका कारणले हिमालहरू प्रभावित बन्नु भनेको सबैभन्दा बढी नेपाल र नेपालीहरू प्रभावित बन्नु हो । नेपालमाथि प्रभाव पर्नुको अर्थ दक्षिण एसियामाथिकै प्रभाव हुनेछ । कोप-२९ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी बन्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको संरक्षणका लागि विश्वको ध्यान आकर्षित गर्दै हिमालको सुरक्षा गर्नु पृथ्वीको सुरक्षा गर्नु हो भन्ने भावना व्यक्त गर्नुभएको हो । हालका दिनहरूमा हिमालहरू गल्दै छन् र अनियन्त्रित तरिकाले पग्लिँदैछन् । सधैं हिउँले टम्म ढाकिने हिमालहरू अहिले छ्याङछ्याङ्ती नांगा काला पर्वतमा परिणत हुँदै गइरहेका छन् ।
हाम्रो देश मेची महाकाली वारपार हिमालको काखमा रहेको छ । नेपालको पूर्वताप्लेजुङको कञ्चनजंघादेखि पश्चिम दार्चुलाको अपी हिमालसम्म हिमालयकै सिरानी हालेर नेपाल अवस्थित छ । हिउँको भण्डारका रूपमा रहेको हिमालयबाटै नेपालका केही ठूला नदीहरू निसृत भएका छन् । खान, गाई भैंसीलाई खुवाउन, सिँचाइका लागि प्रयोग गर्न, कुटानी पिसानीका लागि घट्ट चलाउनका साथै पछिल्लो समयमा विद्युत् उत्पादनका लागिसमेत नदीनालाहरूको उपयोग हुँदै आएको छ । यी सबैका लागि हिमालयबाट बगेर आउने पानीको प्रयोग हुने गर्छ । नेपालका सन्दर्भमा मात्र होइन विश्वका विभिन्न ठाउँमा नै हिमालयको आवश्यकता र महत्व समान खालको छ तर वर्तमान दिनहरूमा मानवीय क्रियाकलापले नै हिमालयहरूमा हिउँको मात्रा कम हुँदै गएको छ ।
मानवीय कारणले नै कार्बनको अत्यधिक उत्सर्जन भइरहेको र यसका कारणले जलवायु परिवर्तन भइरहेको छ । यसले गर्दा प्राणी तथा वनस्पतिहरूमा नकारात्मक प्रभाव पर्नगएको छ । समग्र वातावरण नै प्रभावित भएपछि त्यही वातावरणमा अन्तरनिर्भर हुने प्राणी तथा वनस्पति प्रभावित हुनु स्वाभाविक हो । एकातिर पृथ्वी तात्तैछ भने अर्कोतिर चिसो महिनामा चिसो पनि अत्यधिक हुने गरेको छ भन्ने वातावरणविज्ञको तर्क छ । यसरी मानवीयकारणले नै वातावरणीय सन्तुलन बिग्रिँदैगएको वर्तमान समयमा सबैभन्दा बढी त्यसको प्रभाव हिमालहरूमा पर्नेगरेको पाइन्छ । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले कोप सम्मेलनमा चिन्ता गरेर विश्वको ध्यान आकर्षित गर्नुभएको विषय पनि यही हो । वातावरणीय दृष्टिकोणले उहाँको यो विचार अत्यन्त सान्दर्भिक छ ।
हिमालको वातावरण जसले विश्वलाई नै प्रभावित बनाइरहने गरेको छ र पछिल्ला दिनहरूमा हिमालयको वातावरण खल्बलिँदा विश्व नै प्रभावित बन्न पुगेको छ । यसका लागि सचेत र सतर्क रहनु अत्यन्त आवश्यक छ । आज यस सन्दर्भमा सचेत नरहने हो भने भोलिका दिनमा प्राणी तथा वनस्पतिको अवस्था संकटमा पर्दै जानेछ । केही समयपछि नै हामीले पछुताउनुपर्नेछ । अवस्था धेरै बिग्रिसकेपछि त्यसमा सुधार गर्नै सकिँदैन । समय छँदै त्यसतर्फ विचार पुर्याउनु उचित हो । अहिलेसम्म त्यसमा सुधार गर्न सकिने अवस्था छ । हिमालय र त्यहाँ जम्मा हुने हिउँ मानिसका जीवनका लागि बहुपक्षीय आवश्यकता र उपयोगको माध्यम हुन् । वातावरण सन्तुलनमा राख्न त छँदैछ पानीको आपूर्तिबाट मानव जगतलाई सहयोग पुर्याउनसमेत यसको उपयोगिता रहने गर्दछ ।
बुढापाकाहरूले हिमालमा जति चुली हिउँ रहन्छ त्यति नै सहकाल हुन्छ र हिमालमा हिउँ घट्दै जाँदा अनिकाल लाग्छ भनेको कुरा यही दृष्टिबाट सही प्रमाणित हुन जान्छ । हाम्रा प्रचलनमा रहेका पुराना भनाइ, कहावत, उखान, टुक्का, किंबदन्तीहरू कुनै पनि असान्दर्भिक र अनुपयोगी छैनन् । तिनमा विज्ञानसम्मत अर्थ निहित छन् । त्यही अर्थमा पुर्खाहरूका अर्ति, उपदेश र भनाइहरूको पालना गर्दै जाँदा त्यसमा विज्ञानसम्मत ज्ञानसमेत पाइन्छ । हिमालको संरक्षणका सन्दर्भमा पनि यही भावना प्रतिबिम्बित बन्न जान्छ । राष्ट्रपति पौडेलले विश्वका औद्योगिक राष्ट्रहरूको ध्यान आकृष्ट गर्दै ती ठूला र शक्तिसम्पन्न राष्ट्रहरूबाट उत्सर्जन हुने कार्बनका कारण विकासोन्मुख साना राष्ट्रहरूमा नकारात्मक प्रभाव पर्ने भएका कारण त्यसको क्षतिपूर्ति पाउनुपर्ने र यससम्बन्धी पहिलेको व्यवस्थालाई पालना गरिनुपर्ने मागसमेत यहाँले गर्नुभएको छ । उहाँले सेता हिमालहरू काला पहाडमा परिणत हुँदै गएको अवस्थाप्रति सबैको ध्यानाकर्षण समेत गराउनुभएको छ ।
यद्यपि कोप २९ मा सहभागी हुन विश्वका शक्तिशाली राष्ट्रका प्रमुखहरूको उदासीनता बुझिनसक्नुको छ । औद्योगीकरण र आधुनिक विकासको सर्वाधिक लाभ लिने र प्रकृति विनाशका लागि जिम्मेदार देशहरू भने निरन्तर जलवायु परिवर्तनप्रति कम चिन्ता गरिरहेका छन् र सामान्य औपचारिकता मात्रै निर्वाह गरिरहे छन् । नेपालको हिमाललाई प्रत्यक्ष असर पार्ने दुई छिमेकी देशहरू भारत र चीन एकले अर्कोलाई जिम्मेदार देखाएर पन्छिने गरेको प्रत्यक्ष छ । महाशक्ति राष्ट्रहरू र युद्धमा सक्रिय देशहरू त झन् औपचारिक कुरा गर्न खप्पिस छन् । केही वर्ष पहिले संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेसले पनि नेपालका हिमालको दृश्यावलोकन गरी यससम्बन्धी धारणा राख्नुभएको र हिमालहरू काला पहाडमा परिणत हुँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गरेर संसारको ध्यान आकर्षित गराउनुभएको थियो । नेपालका राष्ट्रपतिको र उहाँको समान धारणा रहेका कारण यसमा सुधार र संरक्षणप्रति आशावादी बन्न सकिने अवस्था सिर्जना भएको छ । राष्ट्रपतिज्यूबाट विश्वसामु प्रकट गरिएको यो चिन्ता पनि यही सन्दर्भमा ज्यादै समसामयिक आवश्यताको अभिव्यक्तिका रूपमा अगाडि सारिएको छ भन्न सकिन्छ र उहाँको विचारले सार्थकता पाउनु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच