आज मकर संक्रान्ति पर्व । सूर्यनारायण उत्तर दिशातिर अग्रसर भई मकर राशिमा प्रवेश गरेको दिन । सनातन धर्मावलम्बीहरूले आफ्नो परम्परा अनुसार विभिन्न नामले मकर संक्रान्ति पर्व मनाउँदै छन् । आजको दिन आफ्नो कुल पितृलाई अर्पण गरी तिलको लड्डु, चाकु, कालो मासको दालको खिचडी खाने प्रचलन छ । आयुर्वेदमा चामललाई चन्द्रको रूप, कालो मासको दाललाई शनि र नुनलाई शुक्रको रूप मानिन्छ । खिचडीमा घ्यू राखिन्छ । घ्यूलाई सूर्यको रूप मानिन्छ । खिचडी खाँदा प्रमुख ग्रहहरू बलिया हुन्छन् । नयाँ चामलको खिचडी यस दिन खाए वर्षभरि आरोग्य रहिन्छ भन्ने मान्यता छ । हामी तिल तथा गुडको लड्डु खान्छौं र दान पनि गर्छौं र चाकु पनि खान्छौं ।
यसले शनि र सूर्यदेवको आशीर्वाद पाइन्छ भन्ने मान्यता छ । कालो तिल, शनि र गुड सूर्यको प्रतीक हो । गुड तथा तिल गर्मी तत्व हो, यसले शरीरलाई तातो प्रदान गर्छ । त्यस्तै महाभारतका पात्र भीष्म पितामह आजकै दिन शरशय्याबाट देह त्याग गरेको दिन हो । भीष्म पितामहले आफ्नो पिता शान्तनुबाट इच्छामृत्युको वरदान पाएका थिए । शरशैय्यामा गएको ५८औं दिन सूर्य उत्तरायण हुँदा प्राण त्याग गरे आत्माले सद्गति पाउँछ र उनी फेरि आफ्नो लोक गएर मुक्ति पाउनेछ भनेर उनले सूर्य उत्तरायण गएको मकर संक्रान्तिको दिन प्राण त्याग गरेको भनाइ छ ।
महाभारतका भीष्म पितामह एउटा असहाय योद्धा र एउटा असफल अभिभावक बने किनकि उनी वचनको सिक्रीले बाँधिएका थिए । हाम्रा शासकवर्ग राज्यको अभिभावकत्व दिन नसक्ने भएका कारण पनि विदेशी, बिचौलिया तथा माफियाहरूको सिक्रीले बाँधिएका छन्, परिवारवाद र चाकडीवादको सिक्रीले बाँधिएका छन् ।
माघशुक्लपक्षको सूर्य उत्तरायणको दिनलाई उनी शरशैय्यामा प्रतीक्षा गसिररहेका थिए । त्यसैले यो दिन पवित्र हो । भीष्मलाई स्वस्थ्य पार्नलाई शल्य चिकित्सक बोलाइएका हुन्छन् तर उनले उसलाई फिर्ता पठाइदिन्छन् । उनले भने शरशैøया नै मेरो चिता हो, म केवल सूर्यको उत्तरायणको प्रतीक्षा गरिरहेको छु । सच्चा मनुष्यलाई जब आफ्नो कुकर्महरू र पापको ज्ञान हुन्छ तब ऊ बाँच्न चाहँदैन । के हाम्रा कुकर्र्मी तथा पापी नेताहरूमा यो ज्ञान छ ? के हामी जनता यो व्यवस्था र यसका नियुक्त व्यवस्थापकलाई जिताउन भोट दिएर यो व्यवस्था, यी नेताहरूलाई स्थायित्व दिएर अधर्मको पक्षमा लाग्नेहरू भीष्म जस्तै होइनौं र ?
भीष्म दुर्योधनलाई सम्झाउँछन्, युद्ध त्याग गरेर वंशलाई बचाऊ । उनले अर्जुनको धेरै प्र्रशंसा गरे र दुर्योधनलाई पटक-पटक सम्झाए, मेरो यो गति देखेर अब सम्हाल तर दुर्योधनले उनले भनेको मानेनन् । भीष्म शरशैय्यामा गएपछि आठ दिनसम्म युद्ध चल्छ र कौरवहरूको वंश विनाश हुन्छ । हाम्रा भीष्महरूले कौरवहरूलाई सम्झाइरहेका छन्, आफ्नो कुकर्म तथा पापकर्महरूबाट विरत रह, अब सत्ता र यो कुव्यवस्थाको अन्त्य गर तर हाम्रा कौरवहरू मानिरहेका छैनन्, बरू झन् कुकर्म तथा पापकर्ममा लागिरहेका छन् । बेलाबेलामा नागरिकहरूमाथि दमन र गोली वर्षा गरिरहेका छन् । महाभारतको युद्धको समयमा श्रीकृष्ण ८३ वर्षका, अर्जुन ५५ वर्षका र भीष्म पितामह १५० वर्षका थिए ।
उक्त समयमा मानिसको सरदर आयु २०० वर्षको हुन्थ्यो । नेपाल एकीकरणको युद्धलाई हेर्ने हो भने भक्ति थापा देउथलको युद्धमा शक्तिशाली अंग्रेज सेनासँग लडेर वीरगति प्राप्त गरेका थिए । अंग्रेजहरूले उनको वीरता देखेर उनको शवलाई सम्मान गर्दै ससम्मान नेपाली सेनालाई फर्काएका थिए । तर, आजको नेपाली सेना देशको स्वतन्त्रता तथा सार्वभौमसत्ता रक्षा गर्न असमर्थ छ । गोरक्षनाथ, गोरखकालीको आशीर्वादले जन्मेको शिवसेनामा अब राष्ट्रधर्म रहेन ।
भीष्म पितामहको जीवनकोे सकरात्मक पक्ष अत्यन्त धेरै छन् तर उनको केही नकरात्मक पक्षका कारण उनको कष्टपूर्ण मृत्यु हुन्छ । उनको नकरात्मक पक्ष शक्ति हुँदाहुँदै उनी सत्ताको एउटा सेवक भएर बसे । जसरी हाम्रा शासकवर्गसँग राज्यको सबै शक्ति छन् तर उनीहरू सत्ता प्राप्ति र सत्तामा टिकिरहिरहन विदेशको आज्ञापालक बन्दै देशको शासक होइन कि मालिकको प्रतिनिधि भएर शासन सत्तामा बसिरहन्छन् । कौरवको सेवक बनेकाले उनी सदैव धृतराष्ट्र र उनका पुत्रहरूको पापकर्मविरुद्ध कारबाही गर्न असमर्थ थिए । जसरी आफूलाई सत्तामा बसाउने जनताको स्वार्थविपरीत हाम्रा शासकवर्गले देशहितविपरीतको सबै अनुचित तथा देशद्रोह हुने कामहरू निःसंकोच गरी रहेका छन् ।
भीष्म पितामह एउटा असहाय योद्धा र एउटा असफल अभिभावक बने किनकि उनी वचनको सिक्रीले बाँधिएका थिए । हाम्रा शासकवर्ग एउटा राज्यको अभिभावकत्व दिन नसक्ने भएकाले पनि विदेशी, बिचौलिया तथा माफियाहरूको सिक्रीले बाँधिएका छन्, परिवारवाद र चाकडीवादको सिक्रीले बाँधिएका छन् । कसैलाई वचन दिनु र वचनको पालना गर्नु सराहनीय कुरा हो तर वचन सत्कर्मलाई दिनुपर्छ जसबाट आफ्नो मुलुक र जनताको नोक्सानी नहोस्, भीष्मले यो कुरा नसोची वचन दिए । उनी आफ्नो वचन पूरा गर्न आफ्नो कर्तव्यबाट विचलित भएनन्, उनलाई थाहा थियो उनी पापकर्म गरिरहेका छन् तर त्यसप्रति प्रायश्चित थिएन ।
उनले क्षत्रीय धर्मको उपेक्षा गरे जो मुलुकको राजा हुनुपर्ने हो उनलाई राजगद्दीबाट च्यूत गरेर अनैतिक तरिकाले पापकर्म गर्ने कौरवको पक्ष लिँदै दुर्योधनलाई राजा बनाए । उनी द्युतक्रीडामा द्रौपदीको चीरहरण हुँदा मौन बसे, उनले हस्तिनापुरलाई उसको वास्तविक राजा हुन दिएनन् । धर्मप्रति ज्ञान भए तापनि वचनबद्धताले उनले पापकर्मको पक्ष लिएकाले कौरव कुललाई बचाउन सकेनन् र आफू पनि कालको मुखमा गए । हाम्रा शासकवर्ग पनि आफ्नो राज्यधर्मको प्रतिकूल गएर विदेशीहरूलाई वचन दिँदा आज देशबाट सनातन धर्म नाश गर्ने कार्य द्रुतगतिमा चलिरहेको छ । सरकार विदेशीको चाहनानुसार लेखिएको संविधानको आधारमा नेपाली जनतालाई पाता लगाएर कस्सिएको छ । उनीहरूको स्वार्थ अनुकूल आइएनजिओहरूले हाम्रो देशको कानुन बनाइदिने गरेका छन् । राजालाई गद्दीच्यूत गरिएको छ ।
दिन प्रतिदिन देशको चीरहरण हुँदा शासकवर्ग मौनमात्र होइन चीरहरणलाई मौन सहमति दिइरहेका छन् । शासकवर्गको स्वार्थको एउटा पापकर्मले यहाँ हजारौं पापकर्महरू दोहोरिइरहेका छन् । यिनीहरूले एउटा पापलाई छोप्न पापमाथि पाप गरिरहेका छन् । देशमा सुरक्षित बस्न नसक्ने डरले अर्बौं रुपैयाँ भ्रष्टाचार गरी विदेशमा जम्मा गरिरहेका छन् । उनीहरूलाई थाहा छ जुनदिन उनीहरूको पापको घडा भरिन्छ त्यो दिन उनीहरू देश छोडेर भाग्नुपर्छ नत्र उनीहरूको अवस्था कौरवहरूको जस्तै हुनेछ ।
भीष्म पितामहलाई मृत्युशैय्यामा आफ्नो पापकर्महरूको झल्झल्ती सम्झना हुन्छ । आफ्नो अन्तिम समय आएपछि उनी पापकर्मबाट ब्युँझिन्छन्, आफ्नो मृत्युको उपाय अर्जुनलाई बताउँछन् । उनलाई थाहा थियो महाभारतको जित केवल अर्जुन र भीमको जित होइन यो जित श्रीकृष्ण अर्थात् धर्मको जित हो । यो सनातन धर्मको जन्म तथा कर्मभूमिमा एकदिन अवश्य धर्मकै जित हुनेछ । सत्ताको मातमा विक्षिप्त भएकाहरूको विनाशलाई कुनै ठूलो कारण चाहिँदैन, एउटा सानो झिल्काले नै त्यसलाई समाप्त पार्छ । श्रीकृष्णका पुत्र साम्बको उन्मत्त व्यवहारबाट घाँसबाटै यदुकुलको नाश हुन्छ । हुन त यसमा श्रीकृष्णलाई गान्धारीको श्रापको कारणको रूपमा यदुवंशको विनाश भएको भन्न सकिन्छ ।
अर्को कुरा कस्तो कुलकी छोरी विवाह गरेको प्रभाव प्रगति तथा विनाशको कारक हुन्छ । साम्बले दुर्योधनकी पुत्री लक्ष्मणासँग विवाह गरेका थिए । उनी श्रीकृष्णको पुत्र भए पनि दिनरात उनको संगत दुर्योधनकी पुत्रीसँग हुन्थ्यो । संगतको प्रभाव उनमा हुनु सामयिक थियो । पापकर्ममा लिप्त हुने कौरव खलकमा उनी हुर्किएकी थिइन् । त्यसैले भन्न सकिन्छ उनमा धर्मभावको कमी थियो । जसको अन्न खायो उसको प्रभाव त शरीरमा पर्छ नै ।
महाभारतको युद्धको ३६ वर्षपछि एकदिन दुर्वासा र अन्य ऋषिहरू द्वारका आएका थिए । ऋषिहरूको यति ठूलो झुण्ड देखेर साम्ब र उनका साथीहरू उनीहरूको मजाक उडाउने निश्चित गरे । उनीहरूले साम्बलाई एउटी स्त्रीको रूपमा सजाएर मुख छोपी दुर्वासा समीप लगे । उनीहरूले महर्षिलाई प्रणाम गरेर भने, ‘हे महर्षि हाम्री यी सखी गर्भवती छन् हजुरहरू त सर्वज्ञानी हुनुहुन्छ, अतएव यो बताउनुहोस् कि यिनलाई प्रसवमा पुत्र हुन्छ कि पुत्री ?’ यस प्रकारको परिहासले सबै ऋषिहरू दुःखी भए, यसलाई केटौलेपन भनेर क्षमा गरिदिए तर दुर्वासा क्रोधित हुँदै भने, ‘हे मुर्ख, तिमी हामीसँग ठट्टा गर्छौं ? तिमीहरूकी सखीको गर्भबाट एउटा फलामको मुसल जन्मिनेछ र त्यही मुसलले सम्पूर्ण यदुकुलको नाश हुनेछ ।’
अहिले हेर्ने हो भने यदुवंशी पारामा शासकवर्ग भित्रैबाट एकअर्काको अपराधहरूको फेहरिस्तहरूको पोल खोलाखोल भइरहेको छ । सत्ताको मदिराको मदमा शासकख वर्ग यसरी मदमस्त भएर उच्छृंखल भएका छन् कि उनीहरू निर्वस्त्र भएको उनीहरूलाई नै थाहा छैन ।
एक दिनपछाडि साम्बका पेटबाट एउटा फलामको मुसल उत्पन्न हुन्छ । राजा उग्रसेनले ऋषिको श्राप थाहा पाएपछि त्यस मुसललाई चुर्र्णचुर्ण पारी समुद्रमा फालिदिन आदेश दिए । त्यही मुसलको कण समुद्र किनारमा छरियो र त्यसबाट घाँस उम्रियो जसबाट एउटा कण एकजना व्याधाले लग्यो जसबाट बनेको वाणबाट श्रीकृष्णको पैतलालाई हरिणको आँखा सम्झी हानेपछि कृष्णको मृत्यु भयो । कृष्णको आदेशमा सबै यदुवंशीहरू तीर्थाटनमा गए । त्यहाँ मदिराको मदमा सात्यिकीले कृतबर्माको मजाक उडाउँदैै भने, यी हेर, यी जो योद्धा छन् जो कौरव पक्षबाट लडिरहेका थिए रात्रिको अँध्यारोमा उपपाण्डवहरूलाई मार्न अश्वत्थामालाई सहयोग गरिरहेका थिए । अहिले निर्लज्ज झैँ हामीसँग उभिएका छन् ।’
यो सुनेर यादवहरू हाँस्न थाले । कृतबर्माले आफूलाई अपमानित भएको ठानी क्रोधमा भने, हे क्लिव, तैँले मेरो वीरताको कुरा के गर्छस्, तेरो वीरता जगजाहेर छ । तैँले भुरिश्रवाको छल गरेर बध गरेकी थिइस् । यस्तो नगरेको भए तँ अहिलेसम्म स्वर्गमा हुन्थिस् । यो सुनेर अन्य यादवहरू हाँस्न थाले । तब सात्यिकीले क्रोधमा भने, हे नराधम, त्यो तँ नै होस् जसले सत्राजितको बध गर्न चाहेको थिइस् । कृतबर्माले आफ्नो पिताको बध गर्न चाहेको कुरा सुनेर सत्यभामा रुँदै-रुँदै कृष्ण र बलराम समीप पुगिन् । स्थिति बिग्रन लागेको देखेर कृष्ण र बलराम त्यहाँ पुगे । यसैबीच कृतबर्माले सात्यिकीलाई धिक्कार्दै भने, हे अधम, महाभारतको पाँचौं दिन तेरै सामुन्ने भुरिश्रवाले तेरा दश पुत्रहरूको बध ग¥यो तर तैँले आफ्ना पुत्रहरूको रक्षा गर्न सकिनस् ।
अनि वीरताको कुरा गर्छस् ? आफ्नो अपमानलाई सहन नसकी सात्यिकीले आफ्नो खड्गले कृतबर्माको शिर काट्यो । कृतबर्माको बध भएपछि यादवहरू दुई खेमामा बाँडिए । भोजराज र अंधक कुलका राजाहरूले सात्यिकीमाथि आक्रमण गरे । सात्यिकीमाथि आपद आएपछि कृष्णपुत्र प्रद्युम्न उनलाई बचाउन पुगे । त्यहाँ यादवहरूबीच भयानक युद्ध सुरु भयो । शस्त्र त त्यहाँ थिएनन् । तब तिनीहरूले समुद्रतिरमा भएको घाँस उखेलेर एक आपसलाई मारामार गर्न थाले । त्यो त्यही मुसलको धुलोबाट उम्रेको घाँस थियो जो हातमा आएपछि पुनः मुसल बन्यो ।
यो देखेर कृष्ण र बलराम दुःखित हुँदै त्यही घाँस उखेल्दै यदुवंशीहरूलाई मार्न थाले । हेर्दाहेर्दै यदुकुलको नाश भयो । यदुकुलको नाश भएपछि समुद्र किनारमा बलरामले समाधि लिए र त्यहीँ देहत्याग गरे र कृष्ण वनमा गएर एउटा पीपलको रूखमुनि बस्छन् जहाँ एउटा ब्याधाको वाण लागेर उनको मृत्यु भयो । अहिले हेर्ने हो भने यदुवंशी पारामा शासकवर्ग भित्रैबाट एकअर्काको अपराधहरूको फेहरिस्तहरूको पोल खोलाखोल भइरहेको छ । सत्ताको मदिराको मदमा शासकवर्ग यसरी मदमस्त भएर उच्छृंखल भएका छन् कि उनीहरू निर्वस्त्र भएको उनीहरूलाई नै थाहा छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच