काठमाडौं । नेपालबाट पहिलोपटक तेस्रो मुलुकमा विद्युत् निर्यात भएको छ । शुक्रबार औपचारिक रूपमा नेपालको बिजुली बंगलादेश निर्यात भएको हो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै शुक्रबार दिउँसो साढे १२ बजे ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनमार्फत बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात भएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागका निर्देशक चन्दनकुमार घोषले जानकारी दिनुभयो । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिर खानले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको स्विच अन गरेर औपचारिक शुभारम्भ गर्नुभएको थियो ।
उहाँका अनुसार भारतीय ग्रिडमा पुगेको नेपालको बिजुली बहरामपुरबाट बंगलादेशको भेरामारा जोडिएको हो । ४० मेगावाट बिजुली प्रतियुनिट ६.४ अमेरिकी सेन्ट निर्यात गरिएको हो । गत असोजमा नेपाल, भारत र बंगलादेशका अधिकारीबीच काठमाडौंमा ४० मेगावाट बिजुली निर्यातसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बंगलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको थियो । तर, भारतले अनुमति दिँदा केही ढिलाइ भएको थियो । बिहीबार भारतको प्राधिकरणले अनुमति दिएपछि औपचारिक रूपमा निर्यात गर्न नेपाल, भारत र बंगलादेशका ऊर्जा मन्त्रीहरूको भर्चुअल माध्यमबाट सुरु गर्ने सहमति भएको थियो ।
परराष्ट्र मन्त्रायको सभा हलमा भएको त्रिदेशीय उलजामन्त्रीको भर्चुअल बैठकपछि प्राधिकरणको भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा रहेका इञ्जिनियरहरूले ४० मेगावाट बिजुली निर्यात गरेको प्राधिकरणका प्रवक्तासमेत रहनुभएका घोषले बताउनुभयो । सम्झौताअनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्नेछ । यो याममा शुक्रबार एक दिन मात्र बिजुली निर्यात भएको हो । हाल भारतमा दुई सय मेगावाट निर्यात भइरहेको छ ।
विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक : ऊर्जा मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बंगलादेश विद्युत् निर्यात हुनु ऐतिहासिक कोशेढुंगा भएको बताउनुभएको छ । विद्युत् निर्यात शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले नेपालबाट बंगलादेश पहिलोपटक विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोशेढुंगा भएको बताउनुभयो । ‘यो कोशेढुंगा दक्षिण एसियामा दिगो र अन्तरसम्बन्धित ऊर्जा भविष्यको लागि साझा दृष्टिकोणको प्रतिबिम्ब हो,’ मन्त्री खड्काले भन्नुभयो । ऊर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेडबीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा हस्ताक्षरले उपलब्धिको लागि मार्गप्रशस्त गरेको बताउनुभयो । बंगलादेशमा विद्युत् निर्यातमा सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयत गर्ने बंगलादेश सरकारलाई धन्यवाद दिनुभयो । बिजुली निर्यातले ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र वातावरणीय दिगोपनलाई सहयोग पुगको उहाँको भनाइ थियो । ऊर्जामन्त्री खड्काले सम्झौता र निर्यातले दुई देशबीचको आर्थिक विकासलाई सहयोग पुग्नुका साथै एकताबद्ध हुन सहयोग पुगेको धारणा राख्नुभयो । कार्यक्रममा भारतका विद्युत्मन्त्री खट्टरले भारतको प्रसारण लाइन प्रयोग गरेर दक्षिण एसियाली मुलुकमा विद्युत् विस्तार गर्ने काम सराहनीय भएको बताउनुभयो । मन्त्री खट्टरले नेपालको विद्युत् उत्पादन विकासमा भारत सहयोग गर्न तयार रहेको बताउनुभयो । बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार खानले क्षेत्रीय ऊर्जा समन्वयका लागि यस्ता सम्झौताले ठूलो सहयोग पुगेको बताउनुभयो ।
विद्युत् निर्यातले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्नेछ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गनुभएको छ । पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत् निर्यात भएको खबरले हर्षित भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अघिल्लो जेठमा प्रधानमन्त्रीका रूपमा भएको आफ्नो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न भारत सरकार सहमत भएको बताउनुभयो । ‘पहिलोपटक नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ । २०८० जेठमा प्रधानमन्त्रीको रूपमा भएको मेरो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न दिन भारत सरकार सहमत भएको थियो,’ उहाँले भन्नुभएको छ, ‘त्यसपछि आवश्यक प्रक्रिया पूरा गर्दै आज बंगलादेशमा विद्युत् निर्यात हुन थालको हो । विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।’
नेपाल-बंगलादेश विद्युत् व्यापार ऐतिहासिक : भारत
भारतले नेपाल-बंगलादेश विद्युत् व्यापारले ऊर्जा क्षेत्रमा क्षेत्रीय कनेक्टिभिटी बढाउने जनाएको छ । नेपालले औपचारिक रूपमा बंगलादेशलाई बिजुली बेच्न सुरु गरेको अवसरमा भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै भारतको बाटो हुँदै नेपालले बंगलादेशलाई बिजुली बेच्ने कार्यले भविष्यमा ऊर्जा क्षेत्रमा क्षेत्रीय कनेक्टिभिटीलाई बढावा दिने जनाएको हो । त्यस्तै, भारतीय विद्युत् मन्त्रालयले समेत नेपालबाट बंगलादेश बिजुली निर्यात हुनु ऐतिहासिक क्षण भएको जनाएको छ । ‘पूर्व-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आफ्नो भारत यात्राका क्रममा नेपालबाट बंंगलादेश सम्मको पहिलो त्रिपक्षीय विद्युत् कारोबारलाई भारतीय ग्रिडमार्फत ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न सहज बनाउने निर्णय गरेको थियो,’ विज्ञप्तिमा छ, ‘त्यसपछि, एनटिपिसी विद्युत् व्यापार निगम, नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर विकास बोर्डबीच त्रिपक्षीय विद्युत् बिक्री सम्झौता ३ अक्टोबर २०२४ मा काठमाडौंमा हस्ताक्षर गरिएको थियो ।’
क्षेत्रीय विद्युत् व्यापारले दिगो समृद्धिमा टेवा पुग्छ : बंगलादेश
बंगलादेशका पावर डिभिजन सल्लाहकार (ऊर्जामन्त्री) मोहम्मद फोजुल कबिर खानले भारतीय प्रसारणलाइन प्रयोग गर्दै नेपालबाट ४० मेगावाट आयात गर्नु बंगलादेशको लागि कोशेढुंगा रहेको बताउनुभएको छ । ४० मेगावाटको क्षेत्रीय विद्युत् व्यापारले दिगो समृद्धिमा टेवा पुग्ने उहाँले बताउनुभयो । ‘क्षेत्रीय सहकार्यले दिगो भविष्यको लागि सहयोग पुग्छ’, खानले भन्नुभयो, ‘४० मेगावाटको क्षेत्रीय विद्युत् व्यापारले दिगो समृद्धिमा टेवा पुग्छ ।’ त्यस्तै, नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि नेपालले अमेरिकी डलरमा बिजुली बेच्ने यो पहिलो सम्झौता भएको जनाएको छ । तत्कालीन प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा भारतले भारतीय ग्रिड हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न दिने घोषणा गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच