सर्लाहीमा सर्वाधिक ४१ प्रतिशत विद्युत् चुहावट

Read Time = 7 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो सात महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा झरेको छ । नियमितरूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट नेपाल विद्युत् प्राधिकरणले गत वर्षको माघसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.६६ प्रतिशतले घटाएको हो । गत वर्ष माघसम्मको चुहावट ९.६५ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८/०७९ मा वितरणतर्फको समग्र विद्युत् चुहावट १०.८६ प्रतिशत थियो ।

यस वर्षको माघमा गत वर्षको सोही महिनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३.९८ प्रतिशतले घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ । गत वर्षको माघमा चुहावट ८.८७ प्रतिशत थियो । प्रसारणतर्फको माघसम्मको ४.६० प्रतिशतसहित प्रणालीको समग्र विद्युत् चुहावट १२.५९ प्रतिशतमा सीमित भएको छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १५.३८ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको माघसम्ममा वितरण प्रणालीमा पाँच अर्ब ७३ करोड २२ लाख युनिट विद्युत् प्राप्त भएकोमा पाँच अर्ब २७ करोड ४१ लाख युनिट विद्युत् बिक्री भएको छ । चार करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ । प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावट ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्मीमा तराई क्षेत्रमा केहीमात्रामा चुहावट बढे पनि प्राविधिक र गैरप्राविधिक चुहावटका लागि चालिएका कदम अझै प्रभावकारी बनाएर यस वर्षका लागि तोकिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्राहकका घरमा राखिएका मिटर रिसिलिङ गर्ने, बक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्नेलगायतलाई देशैभरि अभियानकै रूपमा सञ्चालन गरिएको छ ।’

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा सञ्चालन गरिरहेको छ । प्राधिकरणका वितरण केन्द्रहरूले स्थानीय प्रशासनको सहयोगमा विद्युत् चोरी गर्नेलाई दैनिकरूपमा नियन्त्रणमा लिँदै कारबाही गर्दै आएका छन् ।

मधेश प्रदेशको चुहावट ११.७८ प्रतिशत
प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रहेको मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको चुहावट ११.७८ प्रतिशतमा झरेको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वितरण केन्द्रको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट १२.३० प्रतिशत रहेकोमा यस वर्ष ११.७८ प्रतिशतमा झरेको छ । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४०.९७ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत् चुहावट ४१.८६ प्रतिशत थियो ।

रौतहटको मौलापुर वितरण केन्द्रको चुहावट ३८.६४ प्रतिशत छ । गत वर्ष उक्त केन्द्रको चुहावट १५.८६ प्रतिशत थियो भने बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३८.३९ प्रतिशत छ । गत वर्ष ३९.३४ प्रतिशत थियो । रौतहटको गौर वितरण केन्द्रको चुहावट गत वर्ष ३०.५२ प्रतिशत रहेकोमा यस वर्ष ३२.४७ प्रतिशत रहेको छ ।

कोशी प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रको माघसम्मको समग्र विद्युत् चुहावट ८.१७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा चुहावट १० प्रतिशत थियो । प्रादेशिक कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट मोरङको रंगेली वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत् चुहावट १९.९५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १६.०५ प्रतिशत थियो । बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौंडा मातहतका छवटा वितरण केन्द्रको गत वर्षको माघसम्म ४.६३ प्रतिशत रहेको समग्र विद्युत् चुहावट यस वर्ष सोही अवधिमा ५.९९ प्रतिशत रहेको छ ।

मकवानपुरको पालुङ वितरण केन्द्रको २४.६९ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष त्यस केन्द्रको २९.७५ प्रतिशत थियो । बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वितरण केन्द्रको समग्र विद्युत् चुहावट ६.२५ प्रतिशत छ । अघिल्लो वर्ष ९.३० प्रतिशत थियो । सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २२.२६ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको २८.९१ प्रतिशत थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?