काठमाडौं । ‘प्राचीन हिन्दू अर्थशास्त्र’ मा विसं २०२१ मा मदन पुरस्कार पाउन सफल, ख्यातिप्राप्त पुराना बैंकर, राष्ट्रिय वाणिज्य बैंकका पूर्वमहाप्रबन्धक डा. नवराज चालिसेलाई अभिनन्दन गरिएको छ । उहाँलाई शनिबार काठमाडौंमा एक विशेष समारोहबीच अभिनन्दन गरिएको हो । अभिनन्दन पत्र तत्कालीन बैंकका अधिकृत, कवि तथा गीतकार संघ नेपालका पूर्वअध्यक्ष चूडामणि देवकोटाले हस्तान्तरण गर्नुभएको थियो । ११४ समूहका संयोजक शिवकुमार डंगोलको सभापतित्वमा भएको कार्यक्रममा डा. चालिसेले नेपालको बैंकिङ क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो ।
२०३३ देखि २०३५ सम्म डा. चालिसेले महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दा देशका ७५ वटै जिल्लामा बैंकिङ सेवा पुर्याउनुपर्छ भन्ने उद्देश्यले बैंकको शाखा विस्तारमात्र गर्नुभएन, साना किसानको उत्थानका लागि कृषि कर्जाको लगानी विस्तार गरी नेपाली ग्रामीण जनताको जीवनस्तर उकास्न ठूलो योगदान पुर्याउनुभएको थियो ।
वाणिज्य बैंकका रूपमा तत्काल सञ्चालनमा रहेका नेपाल बैंक र राष्ट्रिय वाणिज्यका शाखाहरूले शहरकेन्द्रित व्यापारमा मात्र परम्परागत लगानी गर्ने गरेकामा उहाँकै भिजन र प्रयासमा नेपाल राष्ट्र बैंकबाट निर्देशन गराई वाणिज्य बैंकहरूले पनि ग्रामीण र कृषि क्षेत्रमा लगानी गर्नैपर्ने अनिवार्य व्यवस्था गरेका थिए । पशुपालन, मत्स्यपालन, कुखुरापालन, नगदेबाली, फलफूल खेती, कोल्डस्टोरजस्ता क्षेत्रमा कर्जा विस्तार भई ग्रामीण अर्थतन्त्रमा परिवर्तनको जग बसेको थियो ।
१९९६ साल वैशाख ३० गते, काठमाडौंको आरुबारीमा जन्मनुभएका डा. चालिसे कृषि विकास बैंकको अध्यक्ष बनेर समेत देशको कृषि अर्थतन्त्र र बैंकिङ क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएको छ । उहाँले महेन्द्र विद्याभूषण, गोरखा दक्षिणबाहु, मदन पुरस्कारलगायत थुप्रै सरकारी तथा जनस्तरका मानपदवी, विभूषण र सम्मान पाइसक्नुभएको छ ।
अरू बैंकबाट ल्याई काममा लगाइएका बुढा पुराना कर्मचारीबाट बैंकले गति लिन नसकिरहेको अवस्थामा पढेलेखेका युवाहरू प्रवेश गराएर बैंकमा नयाँ रक्तसञ्चार गराई सुधार गर्न भनी विसं २०३३ साल जेठमा चालिसेले ११४ जना अधिकृत नियुक्त गर्नुभएको थियो । तत्कालीन उच्च निकायहरूबाट विरोधका बाबजुद तत्कालीन अर्थमन्त्री डा. भेषवहादुर थापाको आडभरोसा पाएरै उहाँको यो कदम सफल भएको भनी चालिसे सम्झनुहुन्छ । ४४ वटामात्र शहरकेन्द्रित बैंकका शाखाहरू रहेकामा उहाँको कार्यकालमा ग्रामीण क्षेत्रमा समेत गरी ९८ पुर्याउनुभएको थियो । यिनै ११४ समूहका अधिकृत मेची-काली फैलिएर पछिसम्म वाणिज्य बैंकको सुसञ्चालन गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच