काठमाडौं । अनिल साह र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले पराजित ग¥यो । यो जनकपुरको दोस्रो जित हो । उद्घाटन खेल अर्थात् शनिबार भएको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई आठ विकेटले पराजित गरेको थियो । जितसँगै जनकपुर बोल्ट्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
अनिलको अविजित ६२ रन मद्दतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो । ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र तीन छक्का प्रहार गर्नुभएको थियो ।
अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गर्नुभएको थियो । आसिफले २९ बल खेल्दै दुई चौका र दुई छक्का मद्दतमा ३६ रन जोडनुभयो ।
दोस्रो विकेटका लागि अनिल र लाहिरू मिलान्थाले ३३ रनको साझेदारी गर्नुभयो । अघिल्लो खेलमा विराटनगरविरुद्ध अर्धतशक बनाउनुभएका मिलान्थाले १३ बलमा दुई चौका र दुई चौका प्रहार गर्दै २४ रन बनाउनुभएको थियो ।
जिम्मी निसमले अविजित १६ रन योगदान गर्नुभयो । आठ बलमा उहाँले दुई चौका र एक छक्का प्रहार गर्नुभएको थियो । कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान एक विकेट लिनुभयो ।
यसअघि भारतीय स्टार ब्याटर शिखर धवनलाई उतारेको कर्णालीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सात विकेट गुमाई १४१ रन बनाएको थियो । अन्तिम दुई ओभरमा अर्जुन घर्ती र सोमपाल कामीले ४३ रन जोडेपछि कर्णालीको स्कोर हेर्न लायक बनेको थियो ।
१९औँ ओभरमा हर्ष ठाकेरलाई दुई छक्का र दुई चौका प्रहार गर्नुभएका अर्जुन अन्तिम ओभरमा ३३ रनमा रनआउट हुनुभयो । उहाँले २२ बल खेल्नुभएको थियो । अन्तिम ओभरमा २१ रन प्रहार गर्नुभएका सोमपाल १३ बलमा तीन चौका र एक छक्का प्रहार गरी २९ रनमा अविजित रहनुभएको थियो ।
देव खनाल र धवन ओपनिङ जोडीका रूपमा आउनुभएको थियो । देवलाई एक रनमा ललित राजवंशीले बोल्ड गरिदिनुभयो भने धवनले तीन चौका प्रहार गर्दै १४ बलमा १४ रन बनाउनुभयो । क्यानेडियन खेलाडी ठाकेरले धवनको अफ स्टम्प उडाइदिनुभयो ।
मोहम्मद मोहसिनले चाडविक वाल्टनलाई आठ र बाबर हायतलाई १२ रनमा आउट गर्नुभयो । २५ बल खेल्नुभएका हायतले कुनै बाउन्ड्री प्रहार गर्न सक्नुभएन । हायत अघि न्युजिल्याण्डका अलराउन्डर जिम्मी निसमले जेशन मक्सुदलाई शून्य रनमा बोल्ड गर्नुभएको थियो ।
गुलशन झाले कर्णालीबाट सर्वाधिक ३६ रन बनाउनुभयो । उहाँले २७ बल खेली एक चौका र तीन छक्का प्रहार गर्नुभएको थियो । मोहसिनले चार ओभरमा १४ रनमात्र खर्चेर दुई विकेट लिनुभयो । ललितले चार ओभरमा १६, किशोर महतोले चार ओभरमा २८ र ठाकेरले चार ओभरमा ४५ रन खर्चेर एक-एक विकेट लिनुभएको थियो ।
जनकपुर बोल्ट्सका कप्तान अनिल साह जारी एनपिएलमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । हालसम्म एनपिएलमा तीन अर्धशतक प्रहार भएका छन् ।
चितवन राइनोजको विजयी सुरुवात
यस्तै, एनपिएलको सोमबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाज चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको छ । सोहेल तान्भिरको पाँच विकेटको मद्दतमा चितवन राइनोजले विजयी सुरुवात गरेको हो । जितका लागि ११२ रनको लक्ष्य पाएको चितवनले १७ बल बाँकी छँदै पाँच विकेट गुमाएर नै लक्ष्य भेट्टाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै मात्र १११ रन बनाएको थियो ।
काठमाडौंका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोड्नुभयो । त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाउनुभयो । डान डाउथवेटले अविजित १९ र शंकर रानाले १६ रन बनाउनुभयो ।
११२ रनको सामान्य लक्ष्य चितवनका सन्तोष कार्की र शरद भेषावकरले छैटौँ विकेटमा ४३ रनको अविजित साझेदारी गर्दै जिताउनुभयो । सन्तोषले खेलकै सर्वाधिक २८ रन बनाउनुभयो । उहाँले ३१ बल खेली दुई चौका र एक छक्का तथा शरदले २१ बलमा ११ रन बनाउनुभयो ।
काठमाडौंका शाहव आलमले तीन विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चनुभयो । जेहराड इरसमस र ड्यान डाउथवेटले एक-एक विकेट लिनुभयो ।
आज दुई खेल हुँदै
नेपाल प्रिमियर लिग (एनपिएल)मा आज (मंगलबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स र दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच