काठमाडौं उपत्यकाको फोहर आजदेखि उठ्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडासम्मको बाटो निर्माण सकिएपछि आजबाट काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मत सकिएपछि फोहोर उठ्ने भएको हो ।

अब एक हप्तादेखि रोकिएको फोहोर विसर्जन हुने भएको छ । एक हप्तादेखि उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको कार्य रोकिएको थियो ।

एक हप्तादेखि नउठेको फोहोर आजबाट उठ्ने र पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने गाडीमा पुर्‍याउन महानगरले आग्रह गरेको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख गरिएको छ।

‘१२ गते बिहीबार विहान ६ बजेदेखि तपाइँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ।

महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध दोहोर्‍याएको छ।

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएकोले साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो।

विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा रहेको फोहोर व्यवस्थापन समितिको बैठक बसेको थियो। छलफलपछि बैठकले स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य सात दिनका लागि रोक्ने निर्णय गरेको थियो।

त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले सात दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?