काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अहिले तीनखाले प्रवृत्ति देखिएको बताउनुभएको छ । नेतृत्व दिन नसक्ने, विमति जनाउने तर सही बाटो पहिल्याउन नसक्ने र असहमति राखेर आफूलाई पृथक् देखाउन खोज्ने प्रवृत्ति देखिएको बताउनुभएको हो । केन्द्रीय संगठन विभागले आयोजना गरेको दुईदिने कार्यशालालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले पार्टीमा सही विचारमा अडिने र त्यसलाई अघि बढाउने इमानदारी चाहिने बताउनुभयो । आफूलाई जे लाग्यो त्यही सही भनेर कुद्दा पार्टीलाई एकताबाट टाढा लैजाने उहाँको भनाइ थियो । ‘अहिले पार्टीमा तीनखाले प्रवृत्ति देखिएका छन् । एउटा पार्टीमा भोटो फटाएको तर, नेतृत्व दिन नसक्ने, अर्को विमति जनाउने तर, सही बाटो पहिल्याउन नसक्ने र असहमति राखेर आफूलाई पृथक् देखाउन खोज्ने प्रवृत्ति देखिएका छन्,’ उहाँले भन्नुभयो ।
सबै ठाउँको अन्तर्विरोध मुख्य नेतृत्वले हल गरिदिन नसक्ने ओलीले स्पष्ट पार्नुभयो । आफ्नो ठाउँको अन्तर्विरोध सही विचारका आधारमा त्यसका अनुयायीहरूले मिलाउनुपर्ने उहाँको भनाइ थियो । ‘पुष्पलालले सही विचार लिएर हिँड्नुभए पनि त्यसबेला पार्टीमा सहमति जुटाउन सकेनन् भन्छौँ । पुष्पलालले सकेनन् भनेर हुन्न, हामीलाई माक्र्सवादी बनाउन कार्ल माक्र्स आफैँ नेपाल आएका थिए ? हामीलाई माक्र्सवाद पढाउन लेनिन, एंगेल्स कोही आएका थिए ? त्यसैले सही विचारलाई र नेतृत्वलाई अघि बढाउन कोही आउन पर्दैन,’ उहाँले भन्नुभयो ।
ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै परिस्थितिको पनि सामना गर्नसक्ने खालको श्रेष्ठता हासिल गर्न निर्देशन दिनुभयो । पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो । चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको उहाँले बताउनुभयो । एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको उहाँको भनाइ थियो । ‘राजनीति अधिकार प्राप्ति भएको छ, अब स्थिरता र स्थायित्व कायम गरेर आर्थिक उत्पादन र समृद्धिमा लाग्नुपर्ने छ । इतिहासकालदेखि पार्टीमा वैचारिक स्पष्टता र एकता हुन नसक्दा उपलब्धि हासिल हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।
एमालेले ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयमा पार्टी कार्यालय च्यासलमा दुईदिने राष्ट्रिय कार्यशाला गरेको हो । केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यशालमा सबै जिल्लाका अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख, प्रदेश पदाधिकारीहरू र २३ वटै जनसंगठनका अध्यक्ष र महासचिव गरी ३१५ जना सहभागी थिए ।
एमालेमा गुट छैन
अध्यक्ष ओलीले पार्टीभित्र कुनै गुट नरहेको स्पष्ट पार्नुभएको छ । पार्टीमा विष्णु पौडेल र शंकर पोखरेलको गुट नरहेको उहाँको स्पष्टोक्ति थियो । उहाँले दुवै नेता आफ्नो लागि बराबर रहेको प्रष्ट पार्नुभयो । दुवैजना आफ्ना लागि एउटा नजिक र अर्को टाढा नभएको उहाँको भनाइ थियो । ओलीले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष, विष्णु पौडेललाई उपाध्यक्ष र महासचिव शंकर पोखरेललाई महासचिव आफैँले बनाएको भन्दै हल्लाका पछि नलाग्न आग्रह गर्नुभयो । ‘पार्टीमा ईश्वर पोखरेल गुट, विष्णु पौडेल गुट र शंकर पोखरेल गुट भनेर विभिन्न हल्ला आइरहेका छन् । हामीमाझ कुनै पनि गुट छैनन् । उहाँहरूलाई मैले नै पदाधिकारी बनाएको हो,’ उहाँले भन्नुभयो । एमाले जति हल्ला गर्यो उति एक ढिक्का भएर अगाडि बढ्ने उहाँले दाबी गर्नुभयो । प्रतिक्रियावादीले कम्युनिष्ट पार्टीलाई विभाजन गराएर राज गर्ने नीति लिएको उहाँले बताउनुभयो । पुष्पलालले पार्टी एकताको प्रयास गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही भन्ने प्रवृत्तिबाट मुक्त भई सही कुरा अपनाउने र त्यसमा अडिग रहन आवश्यक हुने बताउनुभयो ।
पूर्वराष्ट्रपति आवश्यक परे सल्लाहमै फर्किनुहुन्छ, दौडधुप गर्नुको तुक छैन
ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप गर्नुको कुनै तुक नरहेको बताउनुभएको छ । पार्टीमा आउनुप¥यो भन्दै भण्डारीलाई नभेट्न नेता-कार्यकर्तालाई ओलीले सचेत गराउनुभयो । ओलीले एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष बन्नुभएकी भण्डारीलाई पार्टीले नै राष्ट्रपति बनाएको स्मरण गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीका विषयमा पनि विभिन्न चर्चा-परिचर्चा सुन्ने गरेको छु । पूर्व-राष्ट्रपतिकहाँ गएर (पार्टीमा) आइदिनु पर्यो भन्ने कुराको कुनै तुक छैन । उहाँ (विद्या भण्डारी) सर्वोच्च भइसकेको व्यक्ति हो, आवश्यकता पर्दा हाम्रै सल्लाहमा आउनुहुन्छ,’ ओलीले भन्नुभयो, ‘उहाँलाई पार्टीले नै राष्ट्रपति बनाएको हो । अब पार्टीको जिम्मेवारीमा फर्काउने काम पनि पार्टीकै हुन्छ ।’ तर, अहिलेसम्म उहाँलाई पार्टीको भूमिकामा फर्किने र फर्काउने विषयमा कुनै रूपमा छलफल नभएको जिकिर गर्नुभयो । भण्डारी एमाले अध्यक्ष बन्न चाहेको नेताहरू बताउँछन् । तर, उहाँले औपचारिक रूपमा मुख खोल्नुभएको छैन ।
एमाले राजनीति गर्न होइन, देश बनाउन बनेको हो
ओलीले एमाले राजनीति गर्न नभई देश बनाउने पार्टी भएको दाबी गर्नुभएको छ । एमाले एउटा महान उद्देश्य काँधमा बोकेर जन्मिएको उहाँले बताउनुभयो । ‘यो राजनीति गर्न बनेको पार्टी होइन, देश बनाउन बनेको पार्टी हो,’ उहाँले भन्नुभयो । देशमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको उहाँको दाबी छ । जनताले सजिलोसँग खान, लाउन र बाँच्न पाउनुपर्ने उहाँले बताउनुभयो । ‘जनता अधिकार सम्पन्न होऊन्, गरिबी हुनुभएन । गरिबी निवारण हुनुपर्यो, खान-लाउन पाउनुपर्यो,’ ओलीले भन्नुभयो, ‘बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुप¥यो ।’
परिवर्तनलाई नै धरापमा पार्ने तत्व उम्रिन थालेपछि कांग्रेससँग मिल्यौँ
देशमा राजनीतिक परिवर्तनलाई नै धरापमा पार्नेगरी अनेकखाले तत्व उम्रिन थालेपछि कांग्रेस र एमाले मिलेको ओलीले बताउनुभयो । देश बनाउने उद्देश्यले आफू नेतृत्वको सरकार बनेको उहाँले दाबी गर्नुभयो । ‘हामीले देशमा राजनीतिक परिवर्तन ल्याएका छौँ । त्यो परिवर्तनलाई नै धरापमा पार्नेगरी अनेक खालका तत्व उम्रिन थाले । त्यसैले पुराना र योगदान गरेका पार्टी, नीति र देश बनाउने उद्देश्य बोकेका पार्टीहरू मिलेर सरकार बनाएका छौँ,’ उहाँले भन्नुभयो, ‘यो सरकार सरकार बनाउन मात्रै बनाइएको होइन । देश बनाउन र राजनीतिक अस्थितरता र अन्योल समाप्त पार्न तथा देशलाई विकृतिबाट अगाडि बढाउन अहिलेको सरकार बनेको हो । हामी त्यस काममा लागेका छौँ ।’
ओलीले भ्रष्टाचारको विषयमा उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने आवाज आफूहरूले उठाएको बताउनुभयो । तर, पाँच वर्षभित्र कारबाही भइसक्नुपर्छ भनेको कुरालाई हदम्यादको रूपमा हल्ला गरेर हटाउन लगाएको उहाँले बताउनुभयो । ‘पाँच वर्षसम्म पनि कारबाही नचलाउने, अनि छाड्दिने भन्छन्, हामीले छाड्ने भनेको छैन । पाँच वर्षभित्र कारबाही भइसक्नु पर्छ भनेका हौँ,’ उहाँले भन्नुभयो, ‘पाँच वर्ष हदम्याद भन्यो भनेर हटाउन बाध्य बनाए । अब उजुरी परेको २० वर्षपछि हेरे पनि भयो, हेरे पनि भयो नहेरे पनि भयो । उजुरी परेको पाँच वर्षसम्म पनि कारबाही नहुने हो भने ५० वर्षसम्म राखिराख्ने ? यो बेठीक कुरा हो ।’
सामाजिक सद्भाव बिथोल्ने र अराजकता निम्त्याउने प्रयास
कतिपय शक्तिहरू नेपाललाई भाँड्न, सामाजिक सद्भाव बिथोल्न र अराजकता निम्त्याउन लागि परेको ओलीले बताउनुभयो । ‘सबै मिलेर मात्र नेपाल बन्छ । हामी सामाजिक सद्भाव र न्यायका कुरा गर्छौं । भाँडभैलो ल्याउने होइन,’ उहाँले भन्नुभयो । दुर्गा प्रसाईंलाई संकेत गर्दै कतिपयले बैंकको ऋण नतिर्न उर्दी जारी गर्ने गरेको बताउनुभयो । बैंकको ऋण लिने अनि नतिर्ने भनेर उर्दी जारी गर्नु अराजकता भएको उहाँले बताउनुभयो । ‘हाम्रा छोरा नातिहरूले यस्तै खालको गरिबी भोग्न नपरोस् भनेर सरकार लागेको छ’, उहाँले भन्नुभयो, ‘यसमा सबै जातजाति, भाषाभाषी र सबै नेपाली एक भएर लाग्नुपर्छ । फेसबुक, युट्युब हे¥यो सुन्नै र हेर्नै नसकिने हुन्छ । एकले अर्कोलाई शत्रु होइन, मित्र देख्ने गर्नुपर्छ ।’
अहिलेकै गतिविधिले एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन : पोखरेल
एमाले महासचिव शंकर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको बताउनुभएको छ । पार्टीको नीति जनतासम्म पु¥याउन तथा वैचारिक राजनीतिक संघर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताउनुभयो । अहिलेकै गतिविधिले एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने बताउनुभयो । स्थानीय तहको उपनिर्वाचनको परिणाम विगतको तुलनामा उपलब्धि देखिए पनि उत्साहित हुनुपर्ने खालको नभएको बताउनुभयो । महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले पार्टी र पार्टी नेतृत्वविरुद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरुद्ध पार्टी पंक्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच