गुल्मीमा एक वर्षमा १० किलोमिटर सडक कालोपत्र

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

तम्घास । गत आर्थिक वर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर सडक कालोपत्र भएको छ ।

गुल्मीमा पूर्वाधार विकास कार्यालय, सङ्घीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दैआएका छन् । मदन भण्डारी राजमार्ग आयोजनाबाट सडक कालोपत्र नै भएको छैन । बाँकी तीन कार्यालयबाट थोरै-थोरै मात्रामा सडक कालोपत्र भएको छ ।

कालोपत्र गरिएकामध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालयअन्तर्गतका ठेक्काबाट ८.५ किलोमिटर छ । तम्घास-रेसुङ्गा सडकअन्तर्गत गड्जुरादेखि माथिल्लो भागको तीन किलोमिटर सडक पक्की गरिएको छ । आशिष रामेछाप जेभीले भ्याटबाहेक कूल १५ करोड १९ लाखमा ६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो । कालोपत्र नभएको बाँकी तीन किलोमिटरमा ग्राभेलिङदेखि नाली निर्माणसम्मको काम सकिएको छ । हालसम्म कम्पनीको नाममा ११ करोड ९६ लाख ८० हजार भुक्तान भइसकेको छ ।

तम्घास-खाम्सेपानी-नयाँगाउँ-नादी-सूर्यटारी-नेटाखर्क- डुवा छिर्ने-पटौती-प्युठान सडकअन्तर्गत तीन किलोमिटर सडक पक्की भएको छ । सडकको खाम्सेपानी-चेक्मी खण्डमा रु चार करोडभन्दा बढीको लागतमा सडक कालोपत्र भएको हो । विसं २०७४ असार ३० गते पूर्वाधार विकास कार्यालयसँग बज्रगुरु कन्ट्रक्सन प्रालीले पूर्वाधार विकास कार्यालयसँग कामको सम्झौता गरेको थियो । कालोपत्रको काम पूर्णरुपमा नसकिए पनि ९५ प्रतिसत भन्दा बढी काम सकिएकाले कार्यालयले पक्की सडकको सूचिमा राखेको छ ।

खाम्सेपानी-भुवनपानी-तल्लाखर्क-रातडाँडा-सेउघाअन्तर्गतको २‍.५ किलोमिटर सडक कालोपत्र भएको छ । विसं २०७४ असार ३० गते मोतिदान राजेश्वरी सुनिल समिर जेभीले भौतिक पूर्वाधार कार्यालयसँग सम्झौता गरेको थियो । कूल ४.५ किलोमिटर सडक कालोपत्रका लागि कम्पनीले भ्याटबाहेक रु नौ करोड ४६ लाख ७३ हजारमा सम्झौता गरेको थियो । अहिलेसम्म कम्पनीको नाममा रु चार करोड भुक्तानी भइसकेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सूर्य भण्डारीले जानकारी दिनुभयो ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत एक सय १२ मिटर सडक कालोपत्र गरिएको छ । रेसुङ्गा नगरपालिकाको पुनारो बजारदेखि हाटबजारसम्मको सडक कालोपत्र गरिएको हो । कूल रु ८५ लाखमा सडक कालोपत्र, तीन सय दुई मिटर कालोपत्रमा थप, वडा नम्बर २ मा नाली निर्माण र रेसुङ्गा-७ मा कभर्ड हल निर्माण गरेको कार्यालयका सव-इन्जिनियर नारायण बुढामगरले जानकारी दिनुभयो ।

रुद्रवेणी-वामीटक्सार सडकअन्तर्गतको वामी बजारको दुई किलोमिटर सडक कालोपत्र गरिएको छ । सिद्धार्थ श्रेष्ठ जेभीले आर्थिक वर्ष २०७६/७७ मा सडक डिभिजन पाल्पासँग सम्झौता गरेको हो । सडकको वेस पहिले नै तयार भइसकेको कार्यालयका इन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिनुभयो । गत आवमा रेसुङ्गा नगरपालिका-७ भेटेनरी कार्यालय जाने सडक कालोपत्र गरिएको छ । प्रदेश समपूरक कोषबाट रु ३४ लाख लागतमा दुई सय ४० मिटर सडक कालोपत्र भएको हो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?