सिट बाँडफाँड कार्यदलको पहिलो बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धनमा आवद्ध दलले प्रतक्ष्यतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा पाउने सिटमा भागबण्डाका विषयमा छलफल हुनेछ ।

पहिलो बैठकमा बाँडफाँडका मापदण्ड तयार गर्ने विषयमा छलफल हुने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

दलहरूले आवश्यक गृहकार्य नगरेकाले पहिलो बैठक औपचारिकतामा सीमित हुने नेताहरूको बुझाइ छ ।

साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा रहनुभएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ।

कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्ने समयसीमा दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?