मानवशास्त्री डोरबहादुर विष्टले बनाएको संरचना संरक्षणमा गएन सरकारको ध्यान

हिमालय टाइम्स
Read Time = 5 mins

-विजय रावत

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका– ५ स्थित डोलकाटीमा मानवशास्त्री डोरबहादुर विष्टले बनाएको कर्णाली इन्स्टिच्युट संरचना संरक्षणमा सरकारको ध्यान जान सकेको छैन । अहिले सो संरचना जीर्ण अवस्थामा रहेको छ । सोही गाउँपालिका–५ का ६२ वर्षीय पूर्णबहादुर बुढाले मानवशास्त्री डोरबहादुर विष्टको प्रतीक्षा गर्न थालेको झण्डै २६ वर्ष पुग्न लाग्यो । न केही खबर पाइयो न खोजखबरीको खबर सुनियो । अझै पनि उहाँ फर्किनुहुन्छ भन्ने आशा छ  । उहाँका छिमेकी हरिचन्द्र बुढा पनि चौधबीस क्षेत्र बदल्ने डोरबहादुरको प्रतीक्षामा हुनुहुन्छ । विष्ट अहिले हामीसँग त हुनुहुन्न तर उहाँले गरेका कामहरू हाम्रा लागि प्रेरक छन् ।

कामहरू आँखाअगाडि देख्दा डोरबहादुरलाई बिर्सिनै मुस्किल हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् । नागरिक समाजका अगुवाहरूका अनुसार विष्ट चौधबीस क्षेत्रका भाग्य र भविष्यका रेखा हुनुहुन्छ  । मानवशास्त्री विष्टले पातारासी–५ डोलकाटीमा २०४८ सालमा कर्णाली इन्स्टिच्युट खोल्नुभयो । उहाँको गाउँलाई नै अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने धोको थियो । डोरबहादुरले पहिलोपल्ट गाउँमा शिक्षक ल्याएर चौधबीसमा शिक्षाको ज्योति फैलाउनुभएको थियो । उहाँले ऋणमोक्ष मावि स्थापना गरी विद्यार्थीको सहज पठनपाठनमा साथ दिनुभएको थियो । उहाँले २०५० सालमा नजिकैको लम्केली खोलामा विद्युत् निर्माण गरी गाउँ झिलिमिली बनाइदिनुभएको थियो । चौधबीसको विकासका लागि उहाँले विदेशी दाताहरू गाउँमा ल्याउनुभयो । उहाँको सक्रियतामा हेलिप्याड बनेपछि आएको हेलिकोप्टर हेर्न आसपासका गाउँलेहरूको पनि भिड लागेको थियो । चौधबीस बदल्ने विष्टको ठूलो सपना थियो । तर, त्यो सपना सपनामै सीमित भयो ।

विष्टले स्थानीयलाई विभिन्न कृषि उत्पादनसँग जोड्नुभयो भने चौधबीस क्षेत्रबाट सडक खनेर सदरमुकाम खलंगा पु¥याउने योजना बुन्नुभएको थियो  । हेलिकोप्टरबाट गाडी ल्याएर गाउँदेखि खलंगासम्म सवारी आवागमन सुरु गर्ने उहाँ बताउनुहुन्थ्यो । चौधबीसका ६९ वर्षीय कन्नबहादुर बुढाका अनुसार पातारासीको लासीमा बृहत् पर्यटकीय भवन बनाएर चौधबीस क्षेत्रका हरेक पर्यटकीय स्थलको अभिलेखीकरण राख्ने काम पनि विष्टले थाल्नुभएको थियो  । खस भाषा बचाउनेदेखि चौधबीसको समग्र समृद्धिको खाका कोर्ने काममा उहाँले क्रमशः काम गरिरहनुभएको थियो । गाउँमा पहिलोपल्ट इन्जिनियर ल्याएर विभिन्न विकास निर्माणका योजना उहाँले ल्याउनुभएको थियो ।

डोरबहादुर भएको भएको भए अहिलेसम्म पातारासीको मुहार फेरिने यहाँका स्थानीयवासी बताउँछन् । डोरबहादुरका छोरा केशर र नाति विराज पनि चौधबीसमा पुग्नुभएको थियो । उहाँहरू सरकारी लाभको पदमा समेत हुनुहुन्थ्यो तर छोरानाति मिलेर बाबुले थालेको काममा निरन्तरता दिन नसकेको स्थानीयको गुनासो छ । कन्नबहादुर अहिले पनि दैनिक एकपटक डोरबहादुर विष्टको निवाससमेत रहेको कर्णाली इन्स्टिच्युटमा पुग्ने गरेको बताउनुहुन्छ । विष्ट हराएको लामो समय बित्दा पनि सरकारले कुनै पहल नगरेको यहाँका स्थानीयवासीको गुनासो छ । उहाँ बेपत्ता भएपछि उहाँले बनाएका संरचना जीर्ण बन्दै गइरहेका छन् । २०४७ सालको अन्त्यतिर जुम्ला पुग्नुभएका विष्टले चौधबीस क्षेत्रको विकास र सामाजिक रूपान्तरण गर्न पातारासी–५ डोलकाटीलाई स्थायी कर्मथलो बनाउने निधो गर्नुभएको थियो  । विष्ट २०५२ पुस २५ गते नेपालगञ्ज जान्छु भनेर गाउँबाट हिँडे पनि अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?