हङकङ एसियाकप छनोट नजिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हङकङले टी-२० एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ । योसँगै हङकङ छनोट नजिक पुगेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै हङकङ शनिबारदेखि युएईमा हुने टी–२० एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानसँग खेल्ने सम्भावना बढाएको छ ।

जितका लागि १५२ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । हङकङको जितमा बाबर हायत ३० बलमा २ चौका र ५ छक्कासहित ५३ रनमा अविजित रहनुभयो । कप्तान निजाकत खान ४३ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा आउट हुनुभयो ।
यस्तै ओपनर यासिम मुर्तजा ३३ बलमा ७ चौका र १ छक्कासहित ४६ रनमा आउट हुनुभएको थियो । कुवेतका मोहम्मद शफिक र अदनान इद्रिसले एक/एक विकेट लिनुभयो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । एक समय ५७–६ को दयनीय अवस्थामा पुगेको कुवेतलाई एडसन सिल्भाले विष्फोटक ब्याटिङका साथ मध्यम योगफलमा पु¥याउनुभएको थियो । सिल्भाले ३० बलमा १ चौका र ६ छक्कासहित ५६ रनको विष्फोटक इनिङ खेल्नुभयो । उस्मान पटेल १९ र मोहम्मद अस्लाम २१ रनमा आउट हुनुभयो । हङकङका अजिज खान, एहसान खान र यासिम मुर्तजाले दुई/दुई विकेट लिनुभयो । हङकङले पहिलो खेलमा सिङ्गापुरलाई ८ विकेटले हराएको थियो ।

हङकङले अब अन्तिम तथा निर्णायक खेलमा युएईसँग खेल्नेछ । हङकङ विजयी भएमा एसिया कपमा छनोट हुनेछ । पराजित भएमा भने नेट रनरेटका कारण बाहिरिनेछ । समान दुई खेलमा चार अङ्कका साथ शीर्ष स्थानमा रहेको हङकङको नेट रनरेट ०.७१६ छ । दुई अङ्कका साथ दोस्रो स्थानमा रहेको युएईको नेट रनरेट १.०४५ छ ।

युएई भने पहिलो खेलमा कुवेतसँग एक विकेटले पराजित भएको थियो । दोस्रो खेलमा सिङ्गापुरलाई ४७ रनले हराएको थियो । एसिया कप २७ अगस्टदेखि सुरु हुनेछ । समूह ‘ए’ मा भारत, पाकिस्तान र छनोट हुने एक टोली हुनेछन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?