प्रधानमन्त्री देउवालाई भेट नदिएका यी दुई नेता

Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका दुई नेता हुन्, पुष्करनाथ ओझा र जगन्‍नाथ पौडेल । नेता ओझा कैलाली र पौडेल चितवनका हुनुहुन्छ ।

देउवाले चाहे पनि दुवै नेताले भेट गर्न भने अस्वीकार गर्नुभएको छ । ओझालाई सोमबार दिउँसो देउवाले भेट्न चाहनु भएको थियो । तर, ओझाले भेटका लागि समय दिनुभएन ।

ओझासँग भेट्ने चाहना पूरा नभएपछि देउवा सोमबार नै गृहजिल्ला डडेल्धुरा जानुभयो । आज त्यहाँको विभिन्‍न ठाउँमा आयोजना हुने चुनावी सभालाई देउवाले सम्बोधन गर्नुहुनेछ ।

यसअघि, २१ वैशाखको साँझ र २२ वैशाखको बिहान देउवाले चितवनमा पौडेलसँग भेट गर्न चाहनु भयो । तर, उहाँले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग चाहिँ छोटो समय भेट दिनुभयो । देउवालाई भेट्नै चाहनुभएन । त्यसपछि देउवा गठबन्धनको चुनावी सभालाई मात्र सम्बोधन गरेर काठमाडौ फर्किनु भयो ।

यी दुई नेतालाई स्थानीय निर्वाचनअन्तर्गत मतदान गर्ने दिन नजिकिएका बेला देउवाले भेट्न चाहनुको एउटै कारण हो– गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्न चाहनु ।

दुवै नेता भने पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै कारबाहीमा पर्नु भएको छ । साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्ने भने देउवा हुनुहुन्छ ।

यही १६ वैशाखमा पौडेललाई भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको आधिकारिक उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएको र २०७४ को संसदीय निर्वाचनमा देउवा पत्‍नी डा. आरजु राणालाई असहयोग गरेको आरोपमा ओझालाई कांग्रेसले कारबाही गरेको हो ।

तर, स्थानीय निर्वाचनको बेला भने देउवाले तिनै नेताहरूको साथ खोज्नुभएको हो । पौडेलको उम्मेदवारीले गठबन्धनको उम्मेदवार दाहाललाई चुनौती थपिएको छ ।

धनगढी उपमहानगरपालिकामा पनि ओझा मौन रहँदा कांग्रेसको तर्फबाट गठबन्धनको उम्मेदवार नृपबहादुर वडलाई समस्या छ । ओझा पूर्व सञ्चार राज्यमन्त्री र पौडेल पूर्वराष्ट्रिय सभा सदस्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?