सिन्धुलीमा दुई हजार ३३ नयाँ मतदाता

Read Time = 3 mins

-राधिका बुढाथोकी
सिन्धुली । जिल्लामा दुई हजार ३३ जना नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि थपिएका हुन् । सरकारले आगामी मंसिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालयले गत साउन २० देखि मतदाता नामावली संकलन स्थगित गरेको छ ।
स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असार १ देखि शुरु भएको थियो । सोही अवधिमा उक्त मतदाता थपिएका हुन् ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कायम रहेका मतदातामा पाँच सय ६६ जना महिला र एक हजार चार सय ६८ पुरुष मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा कुल मतदाता संख्या दुई लाख आठ हजार तीन सय ६९ पुगेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कुल मतदाताको संख्या दुई लाख छ हजार तीन सय ३६ थियो ।

निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएको उहाँले बताउनुभयो । कार्यालय प्रमुख झा का अनुसार गत असार १ देखि साउन १९ सम्म गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानमा बाहिरी जिल्लाबाट आएका र स्थायीबासिन्दा गरि चार हजार दुई सय ३३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न निर्वाचन कार्यालयले सबैलाई आग्रह गरेको थियो ।

१५१ मतदानस्थल २६७ मतदान केन्द्र

मसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा कायम रहेका मतदान केन्द्र घटेको छ । मतदानस्थल भने बढेको निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले बताउनु भयो ।

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर चार वटा मतदान केन्द्र र सात वटा मतदानस्थल थप्न निर्वाचन आयोग समक्ष सिफारिस गरिएको थियो । निर्वाचन आयोगले यसअघि कायम रहेका २६८ मतदान केन्द्रमा एउटा घटाएर २६७ वटा र १४४ मतदानस्थलमा सात वटा थपेर १५१ वटा कायम गरी पठाएको छ,’ उहाँले भन्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?