तालखर्कमा रेन्बो ट्राउट माछाको बिक्री सुरु

Read Time = 4 mins

चिसाङ शेर्पा

खोटाङ । खोटाङमा व्यावसायिकरूपमा रेन्बो ट्राउट माछाको बिक्रीवितरण सुरु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ दिक्तेल तालखर्कका दुई युवाले व्यावसायिकरूपमा पालन गरेको रेन्बो ट्राउट माछाको बिक्री सुरु भएको हो । तालखर्कका श्रवण राईको सुम्निमा बहुउद्देश्य कृषि स्रोत केन्द्र र सुरेस भुजेलको रम्बाखोला कृषि तथा पशु फर्मको ज्वइन्टमा २०७७ चैतबाट पालेको रेन्बो ट्राउट माछा फागुनको तेस्रो हप्ताबाट बिक्री सुरु गरिएको हो । गत वर्ष हालिएको रेन्बो ट्राउटको भुरा खानयोग्य भएपछि बिक्री सुरु गरिएको छ ।

सुरुवातमा ६/६ लाख खर्चेर आफ्नै जग्गामा छवटा पोखरी र दुईवटा हृयाचरी निर्माण गरेर रेन्बो ट्राउट पालनमा लाग्नुभएका राई र भुजेलले त्यसको उपलब्धि पाउन थाल्नुभएको हो । अहिले प्रतिकेजी एक हजार पाँच सयका दरले ट्राउट माछा धमाधम बिक्री भइरहेको उहाँहरू बताउनुहुन्छ । हालसम्म करिब एक लाख ५० हजार (सय केजी) को माछा बिक्री भइसकेको छ । अहिलेलाई माछाको बजार दिक्तेल बजार, हलेसी रहेको छ । अधिकांश मानिसहरू पोखरीमै आफैं फिसिङ गरेर माछा खानका लागि आउने गरेको राईले बताउनुभयो ।

गत वर्ष ललितपुरको मनिखेलबाट प्रतिगोटा आठ रुपैयाँमा पाँच हजार भुरा ल्याएर पाल्न थालिएको रेन्बो ट्राउट खानयोग्य तयार भयो । अहिले त्यसैलाई बिक्री सुरु गरेका हौँ । सुम्निमा बहुउद्देश्य कृषि स्रोत केन्द्रका प्रोपाइटर राईले भन्नुभयो, ‘तयारी माछा बिक्री पनि गरिरहेका छौं, अर्को लटका लागि १६ हजार भुरा पनि पोखरीमा लगाएका छौँ ।’

राई र भुजेल दुवैजना रेन्बो ट्राउट माछाको प्राविधिक हुनुहुन्छ । राईले करिब १० वर्षअघि तालखर्कमै पालेको रेन्बो ट्राउट माछाको प्राविधिक पाटो हेर्नुभएको थियो । भुजेल कतारबाट फर्केर करिब डेढ वर्षपछि फर्म स्थापना गरेर माछा पालनमा लाग्नुभएको हो । ‘चुनौती मोलेर ट्राउट माछा पालनमा हात हालेका हौँ । सम्बन्धित निकायमा अनुदानका लागि प्रक्रिया गर्यों,’ रम्बाखोला कृषि तथा पशु फर्मका प्रोप्राइटर भुजेलले भन्नुभयो, ‘तर, अनुदान पाइएन, अनुदान पाउन त नक्कली किसान भए हुने रहेछ, जनप्रतिनिधिको मान्छे भए हुने रहेछ । हामी त्यसमा परेनौँ । केही त गर्नैपर्छ भन्नेमा पर्यौं ।’ २४सै घण्टा सलल बगिरहने शुद्ध पानीमा हुने ट्राउट माछा अन्य माछाभन्दा स्वादिष्ट हुने गर्छ । बिदाका दिनमा दैनिक चार/पाँच केजी र अन्य दिनमा दैनिक १३ केजीसम्म माछा बिक्री हुने गरेको भुजेलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?