‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्दै व्यवसायी

हिमालय टाइम्स
Read Time = 5 mins

चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यहि अभियानका साथ पूर्वका दुई प्रदेशमा व्यवसायी पुगेका थिए । अभियानपछि सौराहामा पर्यटकको संख्या केही बढेको थियो । यस वर्ष पनि चाडपर्व सकिएपछि पुनः घुमौँ सौराहा भन्दै देशका सातवटै प्रदेशमा पुग्ने तयारीमा सौराहाका व्यवसायी जुटेका हुन ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहामा आन्तरिक पर्यटक बढाउन देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले यसवर्ष देशका सातै प्रदेश पुग्ने योजना रहे पनि पहिलो चरणमा पाँच प्रदेशमा अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । ‘कोरोनाका कारण भएको लकडाउनपछि प्रदेश १ र मधेश प्रदेशमा अभियान सञ्चालन गरेका थियौँ त्यो प्रभावकारी बन्यो’, उहाँले भन्नुभयो । यसपटक देशका सबै प्रदेशमा पुगेर त्यहाँका व्यवसायी, संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज र पत्रकारसँग छलफल गर्दै सौराहा घुम्न आउनका लागि निमन्त्रणा दिइने उहाँले बताउनुभयो ।

भट्टराईका अनुसार अभियानका क्रममा यहाँका पर्यटकीय गतिविधिका दृश्य देखाइनेछ । ‘प्रदेश सरकारले घोषणा गरेको बागमती प्रदेश भ्रमण वर्ष अभियानलाई पनि टेवा पुग्नेगरी ‘घुमाँै सौराहा’का कार्यक्रम सञ्चालन हुनेछन्, उहाँले भन्नुभयो ।

बागमती प्रदेश सरकारले सौराहामा नै कार्यक्रमको आयोजना गरेर बागमती प्रदेश भ्रमण वर्ष शुभारम्भ गरिसकेको छ । ‘घुमौँ सौराहा’ अभियानमा छुट प्याकेजकोसमेत घोषणा गरिने भट्टराईले बताउनुभयो ।

यो समयमा सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याई हुन्थ्यो । यतिबेला सौराहामा चाडपर्वका कारण केही चहलपहल बढे पनि सन्तोषजनक नरहेको उहाँले बताउनुभयो । ‘अहिले २० देखि ३० प्रतिशत पर्यटक मात्र सौराहा आएका छन्, केही विदेशी पर्यटक पनि छन्’, उहाँले भन्नुभयो । मनसुन सकिएको र जाडोयाम सुरु भएसँगै पर्यटकको संख्या बढ्ने अपेक्षा सौराहाका व्यवसायीले गरेका छन् ।

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल सौराहा (रेवान)का अध्यक्ष नरेश गिरीले सौराहामा पर्यटकको चहलपहल केही बढेको र ‘घुमौँ सौराहा’ अभियानले यहाँ आन्तरिक पर्यटक थप बढ्ने अपेक्षा गर्नुभयो । रेवानले सौराहा आउने आन्तरिक पर्यटकलाई लक्षित गरेर नियमित १० प्रतिशत छुट दिइरहेको छ । सौराहाको पार्क सफारी रिसोर्टका निर्देशक योगेश अधिकारीले दशैँसम्म पानी परेका कारण यसवर्ष सिजनमा पनि पर्यटक सौराहा आउन नसकेको बताउनुभयो । उहाँले चिनियाँ पर्यटक नेपाल नआएसम्म नेपालको पर्यटकीय क्षेत्र पुरानो लयमा फर्कन नसक्ने पनि बताउनुभयो । चितवनसँग अन्य जिल्ला जोडिने सडक सञ्जाल राम्रो नहुँदा पनि यहाँको पर्यटन थप चलायमान बन्न नसकेको उहाँको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । दुर्लभ एकसिंगे गैँडा, बाघ र घडियाल गोही यहाँका मुख्य आकर्षण हुन् । यहाँ हात्ती सफारी, डुंगा सयर, जिप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइँदै आएको छ । सौराहामा ठूला–साना १४० होटल छन् भने करिब एक सय रेष्टुराँ सञ्चालनमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?