फ्रि-भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारवाही हुनुपर्छ : एमाले अध्यक्ष ओली

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि–भिसा र फ्रि–टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

आज झापा क्षेत्र नं. १ को धुलाबारीमा एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले रौतहटमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेकोप्रति आपत्ति जनाउनुभयो ।

एमाले अध्यक्ष ओलीले बारा–४ का गठबन्धनका उम्मेदवार कृष्ण गोपाल (किसान) श्रेष्ठले पनि युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोग मुक दर्शक भएर बस्न नहुने बताउनु भयो ।

अध्यक्ष ओलीले मंसिर ४मा हुने निर्वाचनलाई महासंग्रामका रुपमा बुुझ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘देश विकास गर्ने एमाले एकातिर र अर्कोतिर देश बिगार्न साठगाँठ गर्ने गठबन्धनसँग मंसिर ४ गते हुने निर्वाचनका महासंग्राममा छौँ । हामी जनता र देशका लागि के छौँ र भोलि के गर्नेछौँ भनेर बताइरहेका छौँ । गठबन्धनको भ्रमबाट मुक्त गराइरहेका छौँ ।’

सोही कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कार्यकर्तालाई सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘क्षेत्र नं १ मा सूर्यमा हालेको मत क्षेत्र नं ३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ ।’

सोही कार्यक्रममा विभिन्न पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?