पिएम कप : कर्णालीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । जितका लागि २३५ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४८.१ ओभरमा १९० रनमा अल आउट भयो । कर्णालीका कप्तान तथा ओपनर रविन्द्रजंग शाहीले १३८ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ८० रन बनाउनुभयो ।

तेस्रो विकेटका लागि विपिन शाही र रविन्द्रले ५९ रनको साझेदारी गर्नुभएको थियो । विपिनले ५१ बलमा पाँच चौका प्रहार गर्नुभयो । अनुज घर्तीले २१ बलमा चार चौका र एक छक्कासहित २७ रन जोड्दै राम्रो सुरुवात दिलाउनुभएको थियो । त्यसबाहेक दिवान पुन आठ र दीनेश अधिकारी २० रनमा आउट हुनुभयो । अधिकारीले १७ बलमा दुई चौका र एक छक्का प्रहार गर्नुभयो ।

नेपाल एपिएफ क्लबका मौसम ढकालले १० ओभरमा ५१ रन खर्चेर चार विकेट लिनुभयो । भुवन कार्कीले १० ओभरमा २३ रन खर्चेर दुई विकेट लिनुभयो । कमलसिंह ऐरीले १० ओभरमा तीन मेडनसहित २४ रन खर्चेर दुई विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफ ४७.२ ओभरमा २३४ रनमा अल आउट भयो । एपिएफका ओपनर आसिफ शेखले १३६ बलमा १५ चौका र एक छक्कासहित सर्वाधिक १३० रनको सानदार शतकीय इनिङ खेल्नुभयो ।

आसिफले १०८ बलमा राष्ट्रिय प्रतियोगिताको पहिलो शतक प्रहार गर्नुभयो । आसिफले ४१औँ ओभरको पहिलो बलमा कप्तान रविन्द्रजंग शाहीलाई चौका हान्दै शतक पूरा गर्नुभएको थियो ।

ओपनर प्रदीप ऐरी २९ बलमा दुई चौका र एक छक्कासहित २० रनमा आउट हुनुभयो । आयुषमान बम तीन र लोेकेश बम १० रनमा आउट हुनुभयो । सन्दीप जोरा पाँच, पुरन विक चार, शरद भेषवाकर ६, दीपक बोहोरा १० र कमल ऐरी चार रनमा आउट हुनुभयो । भुवन कार्की २३ बलमा एक चौका र एक छक्कासहित २३ रनमा आउट हुनुभयो ।

कर्णालीका प्रकाश जैशीले ७.२ ओभरमा ५७ रन खर्चेर तीन विकेट लिनुभयो । दीपेन्द्र रावतले १० ओभरमा एक मेडनसहित २८ रन खर्चेर तीन विकेट लिनुभयो । दिवान पुनले १० ओभरमा एक मेडनसहित ३३ रन खर्चेर २ विकेट लिनुभयो ।

एपिएफ चार खेलमा तीनमा जित र एक खेलमा टाइ हुँदा सात अंकका साथ शीर्षस्थानमा छ । एपिएफ शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने पक्का भएको हो । एपिएफले आर्मीलाई ५६ र सुदूरपश्चिमलाई १० विकेटले पराजित गरेको थियो । गण्डकी प्रदेशसँग अंक बाँडेको थियो ।
यता, आइतबार गण्डकी र आर्मीबीच मूलपानीमा प्रतिस्पर्धा हुनेछ । गण्डकी विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । गण्डकी तीन खेलमा दुईमा जित र एक खेल टाइका साथ पाँच अंक जोड्दै दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब दुई खेलमा एक जित र एकमा हारसहित तेस्रो स्थानमा छ । दुई खेल खेलेको कर्णाली र तीन खेल खेलेको सुदूर बाहिरिएका छन् ।

प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी कुल १० टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश १ रहेका छन् ।

आयोजक नेपाल क्रिकेट संघ(क्यान)का अनुसार प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपैयाँ पाउनेछन् । सेमिफाइनलमा पुग्ने टोलीले ५०-५० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन् । प्रतियोगिताको उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याचले पाँच हजार पाउनेछन् । प्रतियोगिताको अनुमानित कुल बजेट एक करोड ५० लाख छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख सहयोग गर्नेछ भने बाँकी रकम क्यानले जुटाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?