उम्मेदवारसँग मतदाताका गुनासै गुनासा

हिमालय टाइम्स
Read Time = 5 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको फाँटमा धान काट्दै गर्नुभएकी ३१ वर्षिया देवी रावलले रत्नेचौरमा चुनावी सभाका लागि आउनुभएका नेकपा माओवादी केन्द्र म्याग्दीका नेता गोविन्द पौडेललाई समयमै मल र बिउ नपाइएका कारण धानबाली राम्रोसँग नसप्रिएको गुनासो गर्नुभयो । रत्नेचौरकै अर्का कृषक सुशीला बोगटीले प्रदेशसभा १ मा गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार हरि भण्डारीलाई समयमा नै मल र विऊ उपलव्ध गराउने प्रतिवद्धता गरेमात्र भोट दिने भन्दै खेती थन्काउने टिपाटिप भएकाले चुनाव प्रचारप्रसारमा आएका उम्मेदवारहरूलाई भेटेर कृषकका समस्याहरू सुनाउन नपाएको गुनासो व्यक्त गर्नुभयो ।

त्यसैगरी, बेनी नगरपालिका-२ ज्यामरुककोटका कृषक नारायण सापकोटाले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा (खम्वीर) लाई कृषकका समस्यालाई प्राथमिकतामा राखेर नीति बनाउन आग्रह गर्दै नेताहरूलाई किसानका समस्यासँग कुनै सरकोर नै नरहने गरेको गुनासो गर्नुभयो । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार प्रसारका लागि गाउँमा आएका राजनीतिक दलका नेता र उम्मेदवारहरूसँग ग्रामीण क्षेत्रका मतदाताहरूका अधिकांश गुनासाहरू कृषि क्षेत्रको सुधार नभएको र सुशासन कायम गर्न नेताहरू असफल भएका नै रहने गरेका छन् ।

चुनाव आउन अब नौ दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार अभियानलाई तीव्र बनाएका छन् । गाउँ केन्द्रित भएका राजनीतिक दलका नेता र उम्मेदवारहरूले जनताका गुनासा सुन्ने र आफ्ना प्रतिबद्धताहरू सुनाउँदै भोट माग्ने गरिरहे पनि जनता भने राजनीतिक दलका नेताहरूको विगतलाई अब नदोहोर्‍याउन आग्रह गरिरहेका भेटिन्छन् ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ गरी ८६ हजार १२० जना मतदाता छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी मतदाता ग्रामीण क्षेत्रका किसान रहेका छन् । म्याग्दीमा प्रतिनिधि र प्रदेशसभाका तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीनजना स्वतन्त्रसहित नौजना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँचजना उम्मेदवार छन् । वि.स. २०५६ मा काँग्रेस, २०६४ मा माओवादी, २०७० र २०७४ मा एमालेले म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । प्रजातन्त्र पुनःस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो ।

२०७४ मा एक प्रदेशसभा माओवादी र एक एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले-माओवादी र कांग्रेस-राप्रपाले तालमेल गरेका थिए । गत स्थानीय तह निर्वाचनमा एमालेले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र ६ वटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडा अध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार ८७० र माओवादीले आठ हजार ५९२ मत ल्याएका थिए । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?