अमेरिकी उपमन्त्री उज्रा जियाको सक्रियता : प्रधानमन्त्रीदेखि गृह र परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेट

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले नेपालमा उच्चस्तरीय भेटघाट गर्नुभएको छ । नेपालको तीनदिने भ्रमणमा रहनुभएकी उज्रा जियाले आइतबार नेपालका उच्चस्तरीय व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । उहाँले प्रधानमन्त्री र विभिन्न मन्त्रीहरूसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ शुक्रबार भारतको नयाँ दिल्ली हुँदै नेपाल आउनुभएको थियोे ।

उहाँ भारतको तीनदिने भ्रमण सकेर नेपाल आउनुभएको हो । भारतमा उहाँले निर्वासित जीवन बिताउँदै आउनुभएका तिब्बती धर्म गुरु दलाई लामासँग भेट गर्नुभएको थियो । उहाँ तिब्बती मामिला हेर्ने विशेष संयोजकसमेत हुनुहुन्छ । नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाइरहेका छन् ।

छुट्टाछुट्टै भेटवार्ता
अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । जियाले आइतबार उहाँहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो ।
प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभएको थियो ।

आइतबार नै उहाँले गृहमन्त्री खाँणसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभयो । गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्वीपक्षीय सम्बन्धबारे छलफल भएको हो । भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा एवं दुई देशबीचको विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री खाँणले भूकम्पपछिको पुनर्निर्माण र कोभिडविरुद्धको नेपाललगायत विश्वव्यापी लडाइँमा प्राप्त अमेरिकी सहयोगको सराहना गर्नुभएको थियो । भेटमा गृहमन्त्री खाँणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उपमन्त्री जियालाई बताउनुभएको थियो ।

अमेरिकी सहयोग नियोग (एमसिसी) संसद्बाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको विषयलाई अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ । उहाँले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी गराउनुभएको थियो ।

उहाँले आइतबार नै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोगसम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । यो वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष चलिरहेको छ । यस अवसरमा नेपाल भ्रमणका लागि अमेरिकाबाट उच्च अधिकारीहरू आइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?