आसन्न चुनावबाट देश ठूलो पार्टी मुक्त हुन्छ : पशुपतिसमशेर जबरा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिसमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टी मुक्त बनाउने बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर २ ले साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष राणाले मंसिर ४ गतेको निर्वाचनपछि देशलाई ठूलो पार्टी मुक्त बनाउने बताउनुभएको हो । उहाँले राप्रपा सनातनधर्मी र मुलुकप्रति इमान राख्ने पार्टी भएको भन्दै देशका दुई ठूला पार्टीहरु पापीहरुले भरिएको पार्टी भनि टिप्पणी गर्नुभयो । उहाँले संसदमा सबै पार्टी चाहिने उल्लेख गर्दै संसदमा गएर राप्रपाका नेताहरुले खबरदारी गर्ने बताउनु भयो । उहाँले मुलुकको संरक्षण गर्ने एक मात्र विकल्प राप्रपा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मंसिर ४ गते एउटा ठुलो मौका छ । एउटा अवसर यो दुईवटा ठुला पार्टी पापीले भरेको पार्टीबाट मुलुक चोख्याउनुपर्छ । हामी सनातनधर्मी, हामी यो मुलुकप्रति इमान र धर्म राख्ने पार्टी । हामी ४ गते पापीबाट मुलुकलाई मुक्त गर्छौं । तिनीहरु पनि संसदमा होलान् । प्रजातन्त्र हो सबै संसदमा हुनुपर्छ । चाहे माओवादी, चाहे एमाले, चाहे मेरो ज्वाईको पार्टी । सबै बसुन् । तर त्यहाँ गएर खबरदार गर्ने यो पालि हुन्छ कुन्ती । म एक्लै पर्दिन । त्यसैले यो अबसर नेपालको भाग्य निर्माण गर्ने मौकामा राप्रपा चुक्दैन । हामीलाई बज्रयोगिनी देवीको आशिर्वाद छ । उहाँलाई ज्ञान छ, यो मुलुक जोगाउन, यसको संरक्षण गर्न संसदमा एउटै विकल्प राप्रपा हो । अब छिट्टै हामीहरु सबै गई त्यो संसद थर्काऔँ ।’

कार्यक्रममा बोल्दै राप्रपाको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफ्नो क्षेत्रमा ३३ वर्षदेखि आएको बजेटको फाइल पल्टाउने बताउनु भयो । ३३ वर्षदेखि सो क्षेत्रमा विकास हुन नसकेको भन्दै उहाँले क्षेत्रले आफूलाई नै कुरेको बताउनु भयो । उहाँले क्षेत्र नं. २ बनाउनका लागि आफू आएको बताउनु भयो । पोखरेलले आफ्ना प्रतिष्पर्धीहरु मध्ये सांसद नभइकन नै आफूले युवा, महिला र स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘३० जनामा दाज्नु म एउटा कुन्ती पोखरेल संसदमा नछिरिकन नै उनीहरु भन्दा बढी काम गरेको छु । तपाईहरुले त्यसै कुन्ती पोखरेललाई भोट हाल्नुपर्दैन । तपाईहरुले फाइल पल्टाएर हेरिदिनुस् मैले एम्बुलेन्स दिनुपर्ने ठाउँमा एम्बुलेन्स दिइनकि, युवाहरुलाई विभिन्न जिल्लामा गएर सशक्त उद्यमी बनाएर उद्यम गर्न सघाइनकि, महिलाहरुलाई सशक्त रुपमा उद्यमी बनाइनकि, स्वास्थ्य शिविरहरु चलाइनकि काम के गरिन कुन्ती पोखरेलले बुझिदिनुस् । यो क्षेत्र बनाउने जिम्मेवारी ३३ वर्षदेखि कुरेको छ कुन्ती पोखरेल आएको छु अब यो क्षेत्र बनाउन । तपाईहरुको साथ दिनको लागि । राष्ट्र र राष्ट्रियताको लागि ज्यान दिन तयार छु । कहाँ विकास गर्नुपर्छ मैले बुझेको छु । म कति बजेट आएको छ फाइल पल्टाउनेवाला छु ३३ वर्षदेखिको यहाँको बजेट हेर्नेछु ।’

उहाँले आफ्नो जित निश्चित भएको दाबी गर्नुभयो । उहाँले क्षेत्रको विकासको लागि जनतासँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?