धादिङमा अनौठो जात्रा : तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

रासस
Read Time = 7 mins

मलेखु । अघिअघि पञ्चेबाजासँगै नांगोे खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शंख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिकाकै वडा नं ६ हाँसेबजारस्थित माइथानबेंसी सारिदाको यसरी तामझामसित सारिन्छ ।

भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइती र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान भगवतीको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपले चिनिने माइथानबेंसीको मन्दिरमा सारिएको हो । अझ रोचक त के छ भने बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले हेर्न र छुन पनि नपाइने परम्परा छ । भगवती माइको दर्शनका लागि बाटो कुरेर बस्नुभएका स्थानीय कृष्णबहादुर थापाले भन्नुभयो, ‘पहिलेदेखिकै परम्परा यही हो । भगवान्लाई छुन हेर्न पाइँदैन, बाहिरबाटै दर्शन गर्ने फूल अक्षता चडाउने हो ।’

देवीको दर्शन गर्न सयौँको संख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो ढुकेर बसेका थिए । मूर्ति देख्न र छुन नपाए पनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गरिरहेका थिए । वडा दशैँकोे चतुर्थीको दिनपूर्वतर्फ दशैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतबार बिहानै न्वाँघी घर आगिञ्चोक हाँसे बजार मन्दिरमा सारिएको हो । रानामगर, तिमिल्सिना र सापकोटा थरका पूजारीले त्रिपुरा सुन्दरी भगवतीमाईको मूर्तिलाई पिठ््युँमा बोकेका थिए । वर्षमा तीनपटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । रानामगर थरका स्थानीय पूजारी, सापकोटा र तिमल्सिनाबाहेक अरू कसैले हेर्न र छुन नपाउने परम्परा छ । यी तीन जातिबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम छ । यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकांक्षा पूरा गर्न परबाटै देवीलाई फूल अक्षताले पूजा गर्ने स्थानीय अगुवा कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।

विवाहित नेपाली नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दशैँतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइलाई तुलना गरिएको छ । सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुईवटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरका रूपमा प्रसिद्ध छ । स्थानीय पूजारी अर्जुन सापकोटाका अनुसार मंसिरदेखि चैतसम्म भगवतीलाई आगिञ्चोक गाविसस्थित बेंसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीका रूपमा चिनिन्छ । सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यहीँ पूजाआजा गरिने चलन छ ।

मंसिर महिनाको विशेष तिथि पारेर आइतबार गाउँको मन्दिरबाट बेंसीको मन्दिरमा भगवतीलाई ल्याइँदै गर्दा भक्तजनले बाटोमा नै भगवतीको दर्शन र पूजापाठ गरेका थिए । रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मूर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । ‘प्रत्येक वर्ष मेला हेर्न आउँछौँ, तर छुन हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो, हामी यो परम्परा बदल्न सक्दैनौं’, मेला हेर्न आउनुभएकी अप्सरा खड्काले भन्नुभयो ।

नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आशीर्वाद दिएको प्रसंग दिव्योपदेशमा उल्लेख छ । तर, भगवतीको माइतीका रूपमा परिचित माईथानबेंसीको मन्दिर राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाले प्रभावित बन्ने भएको छ । सरकारले व्यवस्थित ढंगबाट स्थानान्तरण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने स्थानीय बताउँछन् ।

जिल्ला सदरमुकाम धादिङबेंसीबाट ४० किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौं लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् । मंसिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिठ्यँुमा बोकेर करिब तीन घण्टाको पैदल दूरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका–६ माइथानबेंसीको मन्दिरमा ल्याइन्छ । यसरी देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ । रासस ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?