पाल्पा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । पाल्पा उद्योग वाणिज्य संघको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व आएको छ । संघको १६ औं अधिवेशनबाट शैलेन्द्र भट्टराईको नेतृत्वमा संघले नयाँ नेतृत्व पाएको हो । तानसेनमा भएको मतदानमा प्रतिस्पर्धी राजिव श्रेष्ठलाई ४ सय ४० मतअन्तरले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा विजयी भट्टराईले ६ सय ४१ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी श्रेष्ठले भने २ सय १ मत प्राप्त गर्नुभएको निर्वाचन निर्वाचन समितिले जनाएको छ । एक हजार एक सय ३५ कूल मतदाता मध्ये अध्यक्ष पदमा ८ सय ४७ मत खसेको थियो । जसमा ३ मत बदर र २ मत भने हराएको छ ।

यी दुवै काँग्रेस निकट व्यवसायी हुन् । विगतका निर्वाचनमा जस्तो प्यानल बनाएर चुनावी मैदानमा नआए पनि दुवै उम्मेदवारले आ-आफ्नै किसिमले चुनावी प्रचार भने गरेका थिए । अध्यक्षमा निर्वाचित भट्टराई पि.एस. गल्ला भण्डारका सञ्चालक हुनुहुन्छ भने पराजित भएका श्रेष्ठ हरिमान अमरमान इलोक्ट्रोनिक्स सेन्टरका सञ्चालक हुनुहुन्छ । भट्टराईलाई संघका केही पूर्व अध्यक्षहरुको समर्थन रहेको थियो भने श्रेष्ठलाई नयाँ पुस्तका व्यवसायीहरुको समर्थन थियो । अध्यक्षमा निर्वाचित भट्टराई संघको आमन्त्रित सदस्य हुँदै महासचिव बन्नुभएको थियो । ३ वर्ष आमन्त्रित सदस्य हुनुभएका भट्टराई ६ वर्ष कार्यसमिति सदस्य बन्नुभएको थियो । त्यसपछि तीन वर्ष वाणिज्य उपाध्यक्ष र तीन वर्ष महासचिवको अनुभव उहाँले लिइसक्नुभएको छ ।

यस्तै, उद्योग उपाध्यक्षमा भएको निर्वाचनमा करुवा व्यवसायी उत्तम कुमार बज्राचार्य विजयी हुनुभएको छ । उहाँले न्यू पाल्पा बंगुर तथा पशुपंक्षी कृषि फर्मका सञ्चालक रमेश राज बज्राचार्यलाई ६७ मतान्तरले हराउँदै उद्योग उपाध्यक्षमा विजयी हुनुभएको हो । विजयी बज्राचार्यले एक सय ७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी रमेशले ४० मत प्राप्त गर्नुभयो । उपाध्यक्षका लागि उद्योगतर्फका १ सय ८९ जना मतदाता रहे पनि जम्मा एक सय ४८ मत खसेको थियो । जसमा एक मत बदर भएको छ ।

संघको वाणिज्य उपाध्यक्षमा भने भीमबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै क्षेत्र नं .११ को दुई सदस्यका लागि भएको निर्वाचनमा तीन जना चुनावी मैदानमा रहेका थिए । जसमा कमल पाण्डे र लक्ष्मण बस्याल निर्वाचित हुनुभएको छ । पाण्डेले ३३ प्राप्त गर्नुभयो भने बस्यालले ३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पराजित हलिम दिन मिँयाले भने २५ मत प्राप्त गर्नुभयो । ५ मत भने बदर भएको छ । कुल २५ पदका लागि हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र क्षेत्र नं. ११ को दुई सदस्यका लागि मात्र निर्वाचन भएको थियो । अन्य पदमा भने निर्विरोध भइसकेका छन् ।

एसोेसिएट सदस्यमा विष्णुप्रसाद पाण्डे निर्विरोध हुनुभएको छ । उहाँ एक्लो उम्मेदवार बन्नुभयो । यस्तै क्षेत्र २ को सदस्यमा संजयकुमार श्रेष्ठ, क्षेत्र ३ को एक सिटमा खुमप्रसाद पोखरेल, क्षेत्र ४ को दुई पदमा नारायण पछाई, मञ्जु रेग्मी, क्षेत्र नं.५ को सदस्य दुई सिटमा विनायक महर्जन, किशोरदर्शन बज्राचार्य, क्षेत्र नं.६ मा दुुई सिटका लागि लक्ष्मणप्रसाद रेग्मी, अमनप्रसाद श्रेष्ठ, क्षेत्र नं. ७ को दुई सिटमा सविन मल्ल, महेश शर्मा आचार्य,क्षेत्र नं. ८ मा दुई सिटका लागि रञ्जना कुमारी थापा अर्याल, प्रज्वल राज शाक्य, क्षेत्र नं.९ को एक सिटमा समिरमान सिंह, क्षेत्र नं. १० को दुुई सिटमा विदुर घिमिरे, सुरेश गोदार, क्षेत्र १२ को दुई सिटमा दीपक घिमिरे, मुक्तिराम जिसी र क्षेत्र नं.१३ को एक सिटमा समता मियाँ निर्विरोध भएका छन् ।

अध्यक्षमा निर्वाचित भएसँगै भट्टराईले जिल्लाको समग्र उद्योग, व्यवसाय र वाणिज्यको क्षेत्रमा उपलब्धिमूलक कार्ययोजना बनाएर कार्यान्वयन गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पाल्पा आफैमा पर्यटकीय क्षेत्र भएकाले त्यसको प्रवर्द्धनमा सिंगो नेतृत्वले काम गर्ने उहाँले बताउनुभयो । प्रजातान्त्रिक मुलुकमा हुने निर्वाचनका दौरानमा पक्ष-विपक्ष देखिनु स्वाभाविक भएको भन्दै भट्टराईले निर्वाचनको अन्त्यसँगै सबै एक भएर लक्ष्य हासिलमा लाग्ने उद्घोष गर्नुभयो । उहाँले कृषकदेखि उद्योगीसम्मका समस्या समाधानमा आफ्नो प्राथमिकता रहने बताउनुभयो । उहाँले बजारीकरण, उत्पादन र पर्यटकीय क्षेत्रको विकासका लागि दातृ संस्थाहरुसँग समन्वय गरी काम गर्ने अठोट समेत लिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?