सरकारी उदासीनताका कारण क्षेत्रीय कारागार सञ्चालन हुन सकेन

Read Time = 4 mins

-शुभाकर विश्वकर्मा

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौवस्तास्थित क्षेत्रीय कारागार सञ्चालनमा ढिलाइ भएको छ ।

बाँके जिल्ला कारागारमा रहेका कैदीलाई स्थानान्तरणको तयारी गरेपनि सरकारी उदासिनताका कारण कारागार सञ्चालनमा ढिलाइ भएको हो । सरकारले कर्मचारीको दरवन्दी स्वीकृत नगर्दा कर्मचारीको व्यवस्था हुन नसकेका कारण दरवन्दी स्विकृत नभएकोले सार्न नसकिएको जेलर अर्जुनजंग शाहले बताउनुभयो ।

उहाँका अनुसार कारागारको पहिलो चरणको भवन निर्माण सम्पन्न भइसकेको छ । आवश्यक व्यवस्थासहित कैदीबन्दीहरुलाई राख्न समस्या नहुने उहाँले बताउनुभयो ।
जेलर शाहले भन्नुभयो, ‘निर्माण भएका संरचनामा कैदीलाई राख्न सकिन्छ, तर कैदी ब्यवस्थापन गर्ने कर्मचारी हामीसँग छैनन् । कर्मचारीको ब्यवस्था हुने वित्तिकै हामीले कारागार संचालनमा ल्याउँछौँ,’ ।

एक महिनाअघि कारागार ब्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेले क्षेत्रीय कारागारको निरीक्षण गर्नु भएको थियो । निरीक्षणका क्रममा उहाँले उक्त कारागार तत्काल संचालनमा ल्याउन स्थानीय अधिकारीलाई निर्देशन समेत दिनु भएको थियो । तर अहिलेसम्म कुनैपनि काम अघि बढ्न सकेको छैन ।

क्षेत्रीय कारागार नौवस्तालाई यथासम्भव छिटो सञ्चालनमा ल्याउन कारागार भित्र रहेका प्रत्येक ब्लकमा थुुनुवा भेटघाट कक्ष निर्माणको काम पनि सकिएको छ । कारागार युनिट ब्लक भित्र च्यानल गेट निर्माण पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख खडकबहादुर चौधरीले बताउनुभयो ।
यसै गरि प्रत्येक युनिटको माथिल्लो तलामा बहुउद्देश्यीय सभा हल निर्माण गरिने भएको छ । झण्डै १० बिगाह क्षेत्रफलमा तीन हजार क्षमताको क्षेत्रीय कारागार निर्माणको काम ५० प्रतिशत सकिएको जेलर शाहले जानकारी दिनुभयो ।

तीन हजारको क्षमता भनिए पनि निर्माण गरिएका १६ वटा भवनमा प्रति भवनमा एक सय ४० का दरले राख्न सकिने उहाँले बताउनुभयो । ‘अहिले निर्माण भएका १६ वटा भवनमा दुई हजार २४० कैदी राख्न सकिने छ,’ जेलर शाहले भन्नुभयो ।

पहिलो र दोस्रो चरणका भौतिक संरचना निर्माण पूरा भएपछि तेस्रो चरणमा थप संरचना निर्माण गरिने उहाँले बताउनुभयो ।

२२ वर्षअघि सालमा निर्माण भएको जिल्ला कारागार बाँके जीर्ण छ । यहाँ क्षमता भन्दा बढी कैदीबन्दी छन् । बन्दीलाई बस्न, सुत्नका लागि प्रर्याप्त स्थान छैन । तीन सय ५० जना अट्ने क्षमता भएको बाँके कारागारमा सात सय ८८ कैदीबन्दी रहेको जेलर शाहले बताए । जसका कारण उनीहरुले कष्टकर जिवन बिताउनु परेको छ ।

उक्त कारागारमा पर्याप्त ठाउँ नभएपछि कैदीबन्दीहरु बरण्डा, भान्सा र शौचालयको छतमा समेत सुत्न बाध्य छन् । नौवस्ताको कारागार सञ्चालनमा आए पनि मुद्धा फैसला नभएका, सुनुवाईका लागि अदालत लैजानु पर्ने, उपचार गराउनु पर्ने बिरामी, बद्धबृद्धा थुनुवालाई नेपालगन्ज स्थित पुरानै कारागारमा राखिने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?