सुन्दरबजार नगरपालिकाको चार हजार बढी घरमा मिटरजडित धारा

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाका चार हजारभन्दा बढी घरमा मिटरजडित धारा निर्माण भएको छ । नगरपालिकाले पाँच वर्षको अवधिमा चार हजार २६५ घरधुरीमा धारा जडान गरेको हो ।

स्वच्छ पानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकारलाई मध्यनजर गरी घरघरमा खानेपानीको धारा निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार खानेपानीको अभाव भएका क्षेत्रमा, खानेपानीका लागि टाढा जानुपर्ने बाध्यता भएका क्षेत्रमा एक घर एक धारा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमको माध्यमबाट नागरिकलाई शुद्ध खानेपानीको व्यवस्थापन गरिएको बताउनुभयो । घरघरमा धारा बनेपछि नागरिकले खानेपानीका लागि दुःख भोग्न नपरेको बताउनुभयो ।

नगरपालिकाका योजना अधिकृत एवं सूचना अधिकारी ऋषिराम पौडेलका अनुसार वडा नम्बर ५ मा एक घर एक धारा कार्यक्रममार्फत ३४४ घरमा खानेपानीको धारा निर्माण गरिएको हो । यस्तै, वडा नम्बर ६ मा ७२३ घरमा, वडा नम्बर ७ मा ८१३ घरमा खानेपानीको धारा निर्माण भएको छ ।

वडा नम्बर ८ मा ४७२ वटा, वडा नम्बर ९ मा एक हजार ३६१ वटा र वडा नम्बर १० मा दुई सय घरमा खानेपानीको धारा निर्माण भएको पौडेलले बताउनुभयो । यस्तै, वडा नम्बर १ मा एक घर एक धारा कार्यक्रम सञ्चालन नभए पनि ३५२ घरधुरीमा मिटरजडित धारा जडान गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले घरघरमै खानेपानीको सुविधा हुँदा नागरिकलाई सहज भएको बताउनुभयो ।

खानेपानीका लागि समस्या भएको नागरिकको गुनासो आएपछि कार्यक्रम सञ्चालन गरिएको हो । घरमै धारा बनेपछि नागरिकको समय बचत भएको छ । अन्य कामकाजमा सहज भएको छ । घरमै मिटरजडित धारा भएकाले कुवा, खोल्साहरूमा पुेग्न परेको छैन । सामूहिक धारामा कुरेर बस्नुपर्ने बाध्यता टरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?