सातवटा पार्टीले छाने संसदीय दलको नेता, प्रधानमन्त्रीका लागि नेताहरूको भेटघाट तीव्र

नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । मंसिर ४ मा भएको चुनावको पूर्ण परिणाम आइसकेको अवस्थामा अधिकांश दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् । बुधबारसम्म सातवटा दलले संसदीय दलको नेता चयन गरिसकेका छन् । संसदीय दलका नेताहरूको टुंगो लागेसँगै प्रधानमन्त्रीका लागि दौडधुप पनि सुरु भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी प्रधानमन्त्रीमा दाबी गर्नका लागि दलहरूलाई आगामी १० गते सम्मको समयसीमा तोकेर आहृवान गरिसक्नु भएको छ । सोही अवस्थालाई मध्येनजर गर्दै नेताहरूको भेटघाटको क्रम बाक्लिएको हो ।

कांग्रेसबाहेक सबै दलले सर्वसम्मत रूपमा दलको नेता छनोट गरेका हुन् । नेपाली कांग्रेसमा मात्र प्रतिस्पर्धाबाट दलको नेता चयन गरिएको छ । बुधबार बिहान भएको निर्वाचनबाट कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिनुभएको थियो । देउवाको पक्षमा ६४ सांसदको मत र थापाले २५ मत प्राप्त गर्नुभयो । देउवाले ३९ मतान्तरले विजयी हुनुभएको छ । कुल मत ८९ छ । सभापति देउवा योसँगै छैटौँपटक पार्टीको संसदीय दलको नेता बन्नुभएको छ । यसअघि उहाँ विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित हुनुभएको थियो । भर्खरै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारी गरिरहेको छ । पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा गएको कांग्रेसले अपेक्षित परिणाम हात पार्न नसके पनि संसद्मा पहिलो पार्टी भएकाले सरकार गठनको लागि विभिन्न दलसँगको संवादलाई तीव्रता दिइरहेको छ । सभापति शेरबहादुर देउवा संसदीय दलको नेता भएसँगै कांग्रेसको नेतृत्वमा सरकार बने त्यसको नेतृत्व सभापति देउवाले गर्ने निश्चित भएको हो ।

संसद्को दोस्रो ठूलो दल नेकपा एमाले सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ । मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत छनोट हुनुभएको हो । २०७२ असोज २४ गते पहिलोपटक प्रधानमन्त्री बन्नुभएका ओली २०७४ सालमा एमाले र माओवादी सम्मिलित नेकपा सरकार हुँदा दोस्रोपटक प्रधानमन्त्री बन्नुभएको थियो । नेकपा एमालेले भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि अहिलेको सत्ता गठबन्धनलाई तोड्ने प्रयास गरिरहेको छ । त्यसका लागि माओवादी सँगको संवादलाई भित्रभित्र अगाडि बढाइरहेको विभिन्न स्रोतबाट पुष्टि हुन आउँछ । माओवादीलाई प्रधानमन्त्री दिएर आफूले राष्ट्रपति लिने एमालेको रणनीति रहेको छ ।

संसद्को तेस्रो ठूलो शक्ति माओवादी केन्द्रले भने अहिलेसम्म संसदीय दलको नेता टुंग्याएको छैन । तथापि, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै संसदीय दलको नेता बन्ने पक्कापक्की जस्तै छ । संसद्को चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संसदीय दलको नेता छानिसकेको छ । २० सांसद रहेको सो पार्टीले सभापति रवि लामिछानेलाई नै दलको नेता सर्वसम्मत तरिकाबाट चयन गरेको हो । लामिछाने नेतृत्वको रास्वपा पहिलोपटक चुनावमा सहभागी भई ठूलो संख्यामा सिटहरू जित्न सफल भएकाले सत्ता समीकरणमा यसले पनि महत्वपूर्ण भूमिका देखाउने हैसियतमा छ ।

१४ सांसद भएको राप्रपाले पनि दल नेता चयन गरिसकेको छ । राप्रपाले सर्वसम्मत रूपमा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै दल नेता चयन गरेको हो । पूर्व-महामन्त्री रहनुभएका लिङ्देन गत वर्ष काठमाडौंमा सम्पन्न एकता महाधिवेशनबाट लामो समय शक्ति र नेतृत्वमा रहँदै आएका कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसयता थापा नेतृत्वको राप्रपा नेपाल नामक नयाँ पार्टी गठन भयो । लिङ्देन झापा-३ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुनुहुन्छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले पनि दल नेता सर्वसम्मत रूपमा चयन गरेको छ । प्रतिनिधि सभामा १० सांसद जितेको एकीकृत समाजवादीले दल नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको हो । वि.संं. २०६६ मा प्रधानमन्त्री रहनुभएका नेपालले वि.सं. २०२६ मा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । यसअघि उहाँ नेकपा (माले) का संस्थापक सदस्य र नेकपा (एमाले) का पूर्व-महासचिव हुनुुहुन्थ्यो । गत वर्ष २०७८ सालमा एमाले औपचारिक विभाजन भई नेपाल नेतृत्वको एकीकृत समाजवादी गठन भएको थियो ।
यस्तै, जनमत पार्टीले पनि दल नेता चयन गरेको छ । अध्यक्ष सिके राउत नै सर्वसम्मत रूपमा दल नेता चयन हुनुभएको हो । यो पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । जनमत पार्टी पनि पहिलोपटक संसद्मा उपस्थित हुँदै छ । जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।

लोसपाको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत रूपमा चयन हुनुभएको छ । बुधबार बसेको लोसपा संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई दलको नेताको रूपमा चयन गरेको हो । अध्यक्ष ठाकुर महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । बुधबार बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको बैठकमा नेता ठाकुरसहित शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, रामप्रकाश चौधरीलगायत नेताहरूको उपस्थिति थियो । अन्य दलले दल नेता चयन गर्न बाँकी छ । साथै जसपामा अध्यक्ष उपेन्द्र यादव सांसद नभएकोले अशोक राई दल नेता हुन सक्ने सम्भावना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?