पर्यटक तान्दै ‘तिलाचन ताल’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ । तल तिर घना जंगल । यहाँबाट देखिने मनमोहक दृश्य साच्चिकै मन लोभ्याउने छन् । दुई जिल्लाको संगम स्थलमा रहेको तिलाचन ताल आधा दशक अगाडिसम्म ओझेलमा थियो । ताल उच्च पहाडको शिरमा हुँदा बागलुङ र रोल्पाका सीमा क्षेत्रका स्थानीय बाहेक बाहिरी मान्छे यहाँ पुग्न सकेका थिएनन् ।

खास गरि यो ठाउँलाई गोठालाहरुको बसोबास गर्ने र चरन क्षेत्रका रुपमा लिइन्छ । तीन वर्ष अगाडि मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि मात्रै तिलाचन ताल चर्चामा आएको हो । तालमा पुग्न बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातिहाल्नेदेखि आधा घण्टाको पैदल यात्रामा पुग्न सकिने हुँदा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको हो । ताल रोल्पामा परे पनि बागलुङदेखि जनिक पर्छ । ताल सुनछहारी गाउँपालिका–१ मा पर्छ तर त्यता पट्टी तिरबाट सडक संजालले नजोडिँदा रोल्पालाई अपायक पर्छ ।

तालसँग बागलुङको निसीखोला गाउँपालिका–६ जोडिएको छ । बागलुङ तिरबाट राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पुगेको हुँदा तालमा पुग्न सहज छ । लोकमार्गका कारण दैनिक पर्यटक निसीखोला हुँदै जाने हुँदा पातीहाल्नेमा व्यापार व्यवसायसमेत बढ्न थालेको छ । यस ताललाई पहिले गोठालाहरुले ‘तिलाचन दह’ भन्ने गरेको निसीखोला गाउँपालिका–६ का भेडापालक टिकराम घर्ती मगरले बताउनुभयो । उहाँले लोकमार्गको स्तरोन्नतीपछि यस ठाउँमा बाहिरी मान्छे आउन थालेको भन्दै पछिल्लो समय यहाँ आउनेको संख्या बढेको बताउनुहुन्छ ।
टिकाराम भन्नुहुन्छ– “तिलाचन दहलाई पहिले हाम्रै बागलुङको मान्थ्यौँ, तर रोल्पामा पर्दो रैछ, यो तिलाचन क्षेत्र त गाउँलेहरुले हजारौँ भेडाबाख्रा चराउने ठाउँ हो, बर्खाको चार महिना पुरै यहीँ बिताउँथ्यौँ, अहिले पनि असार साउन तिर यतै बस्छौँ, दहलाई अहिले ताल भन्छन्, हामीहरु यही तालको पानी खान्छौँ, पानी सफा हुन्छ, किराहरु पनि हुँदैन, यो आकाशबाट परेको पानी जम्मा भएको होइन, यही मुल पलाउँछ, यहाँ अचम्मको शक्ति छ ।”

उहाँले सडकका कारण गोठालाको बसोबास गर्ने ठाउँ र पानी भर्ने दह पर्यटकीय गन्तव्य बन्दै गएको बताउनुहुन्छ । अहिले पनि यहाँ दुई जिल्लाका गोठालाहरुले वस्तुभाउ चराउँदै आएको घर्ती मगरको भनाई छ । उहाँले विकासले गति लिदै गएपछि यस ठाउँले मुहार फेर्दै गएको बताउनुभयो । अहिले गोठालाको दैनिकीसमेत फेरिँदै गएको घर्ती मगरको भनाई छ ।

“जमाना फेरिए, मोटर गाडी आउन थाले, पहिले हामीहरु घरबाट खर्चपर्च लिएर तालसम्म आउन चार घण्टा पुरै लाग्यो, अहिले पातीहाल्नेसम्म आधा घण्टामा, त्यहाँबाट तालसम्म हिँडेर आधा घण्टा लाग्छ,” उहाँले भन्नुभयो– “यो ताललाई पनि व्यवस्थित बनाएका छन् अहिले, तालको छेउमा पहिले ढुङ्गा राखेर पूजा गर्थे, अहिले मन्दिर बनाएर राम्रो बनाएका छन् ।”

स्थानीय देवी कुमारी बुढा मगरले पछिल्लो तालमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको बताउनुभयो । बुढा मगरले बिदाको दिन अझ बढी मान्छेहरु घुम्न आउने गरेको बताउनुहुन्छ । केही दिन यता चिसो बढेका कारण आगन्तुकहरु घटेको बुढा मगरको भनाई छ । चैत–देखि भदौसम्म पातीहाल्ने र तिलाचन तालमा आन्तरिक पर्यटकको भिडभाड हुने उहाँले बताउनुभयो ।

“केही दिनभयो चिसो धेरै बढेको छ, त्यही भएर होला मान्छेहरु कम भएको, पानी परेर हिउँ प¥यो भने तालसम्म त मान्छे पुग्न सक्दैनन्, पातीहाल्नेसम्म हिउँ खेल्न आउँछन्, बाटो सजिलो छ, अहिले त बर्खामा पनि धेरै मान्छे तालमा पुगे, ताल वरपर त्रिपाल लगाएर १÷२ दिन बास पनि बस्ने गर्थे” उहाँले भन्नुभयो– “यहाँ त बाह्रै महिना मान्छे आउन थालेका छन् ।”

तालको छेउमा तिलाचन ताल बरहा मन्दिर छ । यस मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । सुनछहारी गाउँपालिका रोल्पाका सूचना अधिकारी रमेश गिरीले तिलाचन ताललाई पर्यटकीय गन्तव्य बनाउन काम गरि रहेको बताउनुभयो । अघिल्लो वर्ष लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाँबाट ताल सरसफाइ र मन्दिर निर्माण गरेको बताउनुभयो । गाउँपालिकाले यो ताललाई पालिकाको मुख्य पर्यटकीय गन्तव्यका रुपमा राखेको गिरीको भनाई छ ।

“तालको छेउमा अहिले मन्दिर निर्माण भएको छ, मन्दिर निर्माण र ताल संरक्षणका लागि गत वर्ष १० लाखको काम भएको छ, पालिकाले यसको संरक्षणका लागि जुटि रहेको छ,” सूचना अधिकारी गिरीले भन्नुभयो– “ताल पहिलेदेखिनै चर्चितनै थियो, गाउँपालिकाले पनि प्रचारप्रसार र प्रवर्धन गरि राखेको छ, यहाँ बागलुङबाट लोकमार्ग हुँदै धेरै पर्यटकहरु आएको पाइएको छ ।”

निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढा मगरले तिलाचन तालमा जाने आगन्तुकलाई लोकमार्गले सहज बनाई दिएको बताउनुभयो । उहाँले केही वर्ष अगाडिसम्म स्थानीय बाहेक बाहिरी मान्छे तिलाचन तालमा नपुगेको भन्दै प्रचारप्रसारले गर्दा टाढा–टाढाबाट यहाँ घुम्न र फोटो खच्न आउने गरेको बताउनुभयो ।

अध्यक्ष बुढा मगरले हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्नमा लागि मान्छेहरु घुम्न आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “तिलाचन ताल निकै सुन्दर छ, अग्लो पहाडको टोप्पोमा यति राम्रो तालमा पुग्न जोकोही चाहान्छन्, पहिले त माथिल्लो गाउँ बाहेक बाहिरी मान्छे त्यहाँ आउँदैनथे, पुग्ने संभावना पनि थिएन, अहिले त मिडियाको जमाना छ, एक जनाले फोटो खिचेर हाल्यो भने घुम्न आउने बढी हाल्छन् ।”

ताल क्षेत्रबाट धौलागिरी, अन्नपूर्ण लगायतका हिमश्रृङ्खालको सहज रुपमा अवलोकन गर्न सकिन्छ । यहँबाट बागलुङ, रोल्पा, पूर्वी रुकुम, प्युठान, गुल्मी लगायतका ठाउँहरु देखिन्छन् । तालमा पर्यटक बढे पनि यहाँसम्म पुग्ने पदमार्ग भने अव्यवस्थित छ । आगन्तु पशुचौपाया हिड्ने साँघुरो गोरेटो मार्फत तालमा पुग्ने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?