गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्दामा आजदेखि पूर्ण सुनुवाइ

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा आज (बुधबार) बाट अन्तिम सुनुवाइ सुरू हुँदैछ ।

लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने नपर्ने विषयमा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।

पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो ।

अमेरिका बस्दा त्यहाँको नागरिकता लिनुभएका लामिछानेले नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि अमेरिकी नागरिकता त्याग्नुभएको थियो । अमेरिकी नागरिकता त्यागेपछि फेरि नेपाली नागरिकता कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः खारेज भएको र पुनः नेपालको नागरिकता प्राप्त गर्न नागरिकता सम्बन्धी ऐन, २०६३ बमोजिमको प्रक्रिया पूरा नगरेको जिकिर रिट निवेदकको छ । पुनः प्राप्तिको प्रक्रिया नै पूरा नगरेका लामिछाने नेपाली नागरिक नरहेको र सांसद बन्न अयोग्य रहेको निवेदकको जिकिर छ ।

लामिछानेतर्फका कानुन व्यवसायीले भने लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम नरहेको तर खारेज भने नभएको तर्क गर्दै आएका छन् । उहाँका कानुन व्यवसायीहरूले नागरिकता ‘कायम नरहेको’ र ‘त्याग गरेको’ विषय छुट्टाछुट्टै रहेको दाबी गरेका छन् ।

पुस २२ गते भएको उक्त सुनुवाइपछि कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसहित ५ जना वरिष्ठतम न्यायाधीशको इजलासले दुवै पक्षबाट पेशी सार्न नमिल्ने र अग्राधिकारसहित माघ ११ गतेका लागि पूर्ण सुनुवाइको पेशी तोकिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?