केपी ओली कपको उद्घाटन खेलमा पुलिस क्लव र सातदोबाटो युथ क्लव भिड्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । फागुन ११ गतेबाट आयोजना हुने केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लव भिड्ने भएका छन् ।

आयोजक युवा संघ नेपालले आईतवार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेल फागुन ११ गते सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो तीन बजेबाट शुरु हुनेछ । फागुन १७ गतेसम्म हुने प्रतियोगितामा फागुन १२ मा दुई खेल हुनेछन् ।

बिहान ११ बजे शुरु हुने विभागीय टोली त्रिभुवन आर्मी क्लवले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ । यसैगरी सोही दिन दिउँसो तीन बजे हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछन् । नकआउट प्राणालीमा आयोजना हुने प्रतियोगितामा हरेक खेलको विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल फागुन १४ र १५ गते एन्फा कम्प्लेक्समा हुनेछ । यस्तै प्रतियोगिताको फाइनल खेल भने फागुन १७ गते त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ पाँच बजे हुने तालिका रहेको छ ।

कुल सात खेल हुने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयीमान खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त आयोजकले यस अघि नै जानकारी दिएको छ । यस्तै हरेक खेलको विजेता टोलीलाई २५ हजार रुपैयाँ दिइनेछ भने प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’लाई १५ हजार प्रदान गरिनेछ ।

प्रतियोगिमा शहीद स्मारक ‘ए’ डिभिजन लिगका सात र आयोजकको एक गरी कुल आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लव, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड क्लव, सातदोबाटो युथ क्लव र जवालाखेल युथ क्लव तथा आयोजकको केपी ओली फुटबल क्लवले प्रतिष्पर्धा गर्नेछन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?