27th May | 2018 | Sunday | 6:27:50 AM

रहेनन् नेपाली लिजेन्ड फुटबलर मणि शाह

हिमालय टाइम्स   POSTED ON : Tuesday, 15 May, 2018 (2:02:33 PM)

रहेनन् नेपाली लिजेन्ड फुटबलर मणि शाह

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका लिजेन्ड पूर्वखेलाडी मणिविक्रम शाहको निधन भएको छ । लामो समयदेखि कलेजोको समस्याबाट ग्रसित ५१ वर्षे शाहको सोमबार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

यसअघि आइतबार नै अस्वस्थताका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको सम्पूर्ण उपचार खर्च एन्फाले व्यहोर्ने निर्णय गरेको थियो । तर, भ्यान्टेलेटरमा राखेर उपचार गराइरहेका शाहको निधनले नेपाली फुटबलमा अपूरणीय क्षति पुगेको अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि मंगलबार ८ बजेदेखि १० बजेसम्म दशरथ रंगशालामा राखिने भएको छ ।

शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका थिए । त्यसपछिको एक दशक उनी नेपाली राष्ट्रिय टोलीका मुख्य सदस्य रहे । नेपालले सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा उनले महŒवपूर्ण भुमिका खेलेका थिए । फाइनलमा भारतविरुद्ध उनले अन्तिम सेकेन्डमा बराबरी गोल गरेपछि नेपालले पेनाल्टीमा अविश्मरणीय ५–४ को जित निकालेको थियो । 

उनले सन् १९९८ को बैंकक एसियाडमा नेपालको झण्डा बोकेको थिए । फुटबलबाट एसियाली खेलकुदमा झण्डा बोक्ने उनी नेपालका खेलाडी हुन् । मिडफिल्ड र स्ट्राइकर दुवै पोजिसनमा खेल्ने उनलाई नेपाली म्याराडोना पनि भनिन्थ्यो । मणिको खेल्ने ड्रिबल र फिनिसिङ अनि हुलिया पनि म्याराडोनासँग मिल्ने भएकाले समर्थकहरूले उनलाई यो नाम दिएका थिए ।