19th October | 2018 | Friday | 9:36:12 PM

फराकिलो जितसहित आर्मी फाइनलमा

  POSTED ON : Saturday, 09 June, 2018 (3:31:38 PM)

फराकिलो जितसहित आर्मी फाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ओपनर सागर पुनको शतकीय योगदानमा प्रदेश नम्बर ५ लाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो । शनिबार हुने एपिएफ र नेपाल पुलिसबीचको खेलको विजेतासँग आर्मीले उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय खेलाडी तथा ओपनर सागर पुनको शानदार शतकको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो । आर्मीका लागि पुनले १ सय १८ रनको शतकीय पारी खेले । ४१.५ ओभरमा लाल अधिकारीको बलमा क्याचआउट हुनुअघि पुनले १ सय ४२ बल खेलेर १० चौका र ४ छक्का प्रहार गरे । 

 सागरले पहिलो विकेटका लागि अर्का ओपनर अनिल मण्डलसँग मिलेर ५२ रनको साझेदारी गरे । टिमको स्कोर ५२ हुँदा आर्मीले लगातार २ विकेट गुमायो । मण्डल व्यक्तिगत १९ रनमा आउट हुँदा नरेश बुढाऐरले खाता खोल्न सकेनन् । तेस्रो विकेटका रूपमा राजु रिजाल ५ रनमा रनआउटको शिकार हुँदा आर्मीले २६.२ ओभरमा ७६ रन जोडेको थियो । त्यसपछि आएका भीम सार्कीले पुनसँग मिलेर १ सय १५ रनको शतकीय साझेदारी गरेपछि सुस्त सुरुआत गरेको आर्मीका लागि राहत मिलेको थियो । पुनले शतक प्रहार गर्दा सार्कीले पनि ७७ रनको शानदार इनिङ खेले । उनले ५३ बलमा ३ छक्का र ५ चौका प्रहार गरे ।

छैटौं नम्बरमा ब्याटिङमा आएका आर्मीका कप्तान विनोद भण्डारीले १५ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ३७ रन बनाए । बलिङतर्फ प्रदेश ५ का कृष्ण कार्कीले ३, विक्रम भुसालले २ तथा कप्तान शक्ति गौचन र लाल अधिकारीले १–१ विकेट लिए ।

२ सय ९० रनको लक्ष्य पछ्याएको शक्ति गौचन नेतृत्वको टोली प्रदेश नम्बर ५, ३५.५ ओभरमा १ सय ३५ रनमै समेटिएपछि आर्मीको १ सय ५४ रनको फराकिलो जित निश्चित भएको हो । आर्मीका बलरहरूको कसिलो बलिङसामू प्रदेश ५ का कुनै पनि ब्याट्स्म्यान लामो समय क्रिजमा टिक्न सकेनन् । प्रदेश ५ का लागि नवौं नम्बरमा ब्याटिङमा आएका कृष्ण कार्कीले बनाएको ३१ रन नै सर्वाधिक हो । कार्कीले २९ बलमा ३ छक्का र २ चौका प्रहार गरे । उनका अलावा शंकर रानाले २३, सुवेन्दु पाण्डेले ११ तथा अन्तिम थापा र सौरभ खनालले १४–१४ रन बनाए ।

बलिङतर्फ आर्मीका सुशील कँडेल र विक्रम सोवले ३–३ विकेट लिँदा सागर पुनले २ तथा सोमपाल कामी र साहव आलमले पनि एक एक विकेट बाँडे । सागर पुन खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिताका विजेता टोलीले २० लाख पुरस्कार पाउनेछ भने उपविजेताले १० लाख पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउँदा उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार पुरस्कार पाउनेछन् ।


Views: 2