18th November | 2019 | Monday | 10:15:56 PM

एमसिसीमाथि नेपालको शानदार जित

हिमालय टाइम्स   POSTED ON : कार्तिक १९, २०७६ (१०:१७ AM)

एमसिसीमाथि नेपालको शानदार जित

काठमाडौं । विनोद भण्डारीको अर्धसतकीय इनिङको मद्धतमा नेपालले विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई हराएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमबार भएको खेलमा नेपालले भ्रमणकारी टोली एमसीसीलाई ५ विकेटले हराएको हो । 

सोमबारको जितसँगै नयाँ कप्तान बनेका ज्ञानेन्द्र मल्लले नेपाललाई पहिलो जित दिलाएका छन् । कप्तान पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ क्यानले गत साताको बुधबार मल्लालाई कप्तानको जिम्मेवारी सुम्पिएको थियो । टस जितेर पहिला ब्याटिङ गर्दै एमसीसीले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य नेपालले ३७.३ मा ५ विकेट गुमाएर पूरा गर्दा नेपाललाई सुखद् नजिता हात लागेको हो । नेपालको जित सुनिश्चित गर्न विकेटकिपर तथा ब्याट्सम्यान विनोद भण्डारीले अविजित ५२ रनको अर्धशतकीय इनिङ्स खेले । ६४ बलको सामना गरेको विनोदले ३ चौका र २ छक्का प्रहार गरेका थिए । उनलाई साथ दिएको पवन सर्राफ ३८ रनमा अविजित रहे । 

१८ रन जोड्दा २ विकेट गुमाएको नेपालले तेस्रो विकेटका लागि शरद भेषवाकर र दीपेन्द्र सिंह ऐरीले ६७ रनको साझेदारी गर्दै नेपालको इनिङलाई उकासेका थिए । शरद २४ रनमा आउट हुँदा दीपेन्द्रले २३ रन, कप्तान ज्ञानेन्द्र मल्ल १०, आरिफ शेख २३ तथा इशान पाण्डेले ४ रनको योगदान दिए । बलिङतर्फ एमसिसीका यासीर अरफाटले सर्वाधिक ३ विकेट हात पार्दा एलेक्स थम्पसनले २ विकेत हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २ सय १ रन जोडेको थियो । एमसिसीका लागि ओपनरद्वय विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले । ७१ बलको सामना गरेका रोड्सले ५ चौकाको मद्दतमा ५४ रन जोड्दा गोडलम्यानले विष्फोटक इनिङ्स खेले । 

३८ बलको सामना गरेका गोडलम्यानले ८ चौका २ छक्काको मद्दतमा ५२ रन जोड्न सफल भए । यस्तै विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाउँदै पवेलियन फर्किदा चार खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । एमसिसीको इनिङलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले समान ४÷४ विकेट हात पार्दा करण केसी र अविनाश बोहराले १÷१ विकेट आफ्नो नाममा लेखाए । अब नेपालले एमसिसीसँग तीन दिवसीय खेल खेल्नेछ । तीन दिवसीय बुधबार सुरु हुनेछ । यसअघि आइतबार एमसिसीले नेपाली यु–१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो ।


Views: 76